काम गरेर पनि नाम हराएको गाउँ झोराहाट !

गण्डकीपुत्र
जीवनमा अनेक कुरा लेखिन्छ, अनेक कुरा पढिन्छ। कहिलेकाहीँ आफ्नै कुरा लेख्न छुटेको हुन्छ, आफ्नै कुरा पढ्न छुटेको हुन्छ। आज सामान्य लाग्ने तर मेरो जीवनमा महत्त्वपूर्ण लागेको केही कुरा लेख्दै छु। म कक्षा सातको विद्यार्थी थिएँ। स्कुलमा प्रत्येक वर्ष वसन्त पञ्चमीमा सरस्वती पूजा गरिन्थ्यो र बेलुका जाग्राम बस्ने भनेर नाटक गरिन्थ्यो। त्यो वर्ष सुप्रसिद्ध नाटककार मन बहादुर मुखियाको अनुराग नाटक गर्ने भनेर तयारी भयो।
कुरा २०३३ सालको हो। म चौध वर्षको थिएँ। हाम्रो अतिरिक्त विषयको शिक्षक बालकृष्ण उपाध्याय (बलराम सर) थिए। उनकै निर्देशनमा हामी कलाकार छानियौँ। म, कृष्णहरी घिमिरे, चूडामणि बास्तोला, कृष्ण गुरुङ (साने) र बलराम सर र अरू केही। त्यो नाटकमा नायिकाको नाम थियो भावना। नायिकाको लागि विमला गुप्तालाई छानियो।
उनी हाम्रो सहपाठी थिइन्। तर उनले मानिनन्। बलराम सरले भनेको नभएर अर्का शिक्षक थिए सभापति लाल दास कर्ण नामका। उनलाई भनियो। उनी रिहर्सल गर्ने कोठामा आए र विमलालाई नाटकमा अभिनय गर्न भने तर पनि उनी मानिनन्। कर्ण सरदेखि सबै विद्यार्थी डराउँथे। त्यही भएर पनि कर्ण सरलाई बोलाइएको थियो। कर्ण सरले नाटकमा अभिनय गर्न नमान्नु भयो भने सजाय पाउनेछ भने। विमला रुन थालिन् तर नाटकमा अभिनय गर्न मान्दै मानिनन्। त्यसपछि कृष्ण गुरुङलाई नायिकाको जिम्मा दिइयो।
उनले सारी लगाएर केटी भएर अभिनय गरे। नायक विनयको भूमिकामा कृष्णहरी घिमिरे र खलनायकको भूमिकामा म थिए। भिखारीको भूमिकामा बलराम सर र विनयको साथीको भूमिकामा चूडामणि बास्तोला। नाटकमा एक ठाउँ द्वन्द्वको दृश्य थियो। चूडामणिसँग मेरो। नाटक सकेर भित्र गएपछि चूडामणिले मसँग निहुँ खोज्यो। तैँले मेरो गन्जी च्याती दिइस् भनेर। द्वन्द्वको दृश्य देखाउँदा उसको गन्जी च्यातिएछ। पछि मन बहादुर मुखियाकै अर्को नाटक तर क्षितिज हाँस्दैमा मेरो आफ्नै दाई सँग रङ्गमञ्चमा उत्रिनु परेको थियो मैले।
अर्को रोचक प्रसङ्ग छ नाटककै। हरिप्रसाद लुइँटेलले नाटक लेख्थे, उनी अभिनय पनि गर्थे। उनको नाटकमा मैले नायकको भूमिकामा उत्रनु पर्यो। सञ्जय काफ्लेले खुब विरोध गर्यो। नायक यस्तो अनुहार नै नपरेको भाटोलाई दिने। त्यति बेला म वास्तवमा नायकको परिभाषामा नपर्ने नै थिएँ (त्यसो त अहिले पनि एक जनाले राम्रो छस् भनेको बाहेक कसैले राम्रो छस् भनेको थाहा छैन)। त्यस बेलाको नायक आकर्षक अनुहार र जिउ डाल भएको पुरुषलाई मान्ने चलन थियो हिन्दी सिनेमाको राजेश खन्ना या ऋषि कपुर जस्तो।
नायिकामा थियो मेरै मित्र दुर्गाप्रसाद घिमिरे। त्यस बेलाको नायिकाको भूमिकामा ऊ खुब प्रख्यात थियो। रमाइलो त के थियो भने त्यो नाटकमा नायिकाको बाबुको भूमिकामा थियो हाम्रै माल्दाई माधव खतिवडा। एक ठाउँको संवादमा उसले मलाई ज्वाइँ भनेर सम्बोधन गर्नुपर्ने थियो। भाइलाई ज्वाइँ भनेको त्यो सम्बोधन उसले उच्चारण गर्दा दर्शक हाँसेको झल्को अहिले पनि सम्झन्छु। मेरा दुई दाइ ठुलदाइ गोविन्द खतिवडा र माल्दाई केदार खतिवडाले सारी लाएर नृत्य गरिसकेका थिए नाटकमा। माल्दाई माधव चैँ काकाको छोरा दाइ थियो।
झोराहाटनै त्यो गाउँ होला त्यो बेला नेपालमा कि पुरुषले सारी चोलो लगाउँदा तँलाई कस्तो सुहाएको भनेर तारिफ गरिन्थ्यो र सारीले आफूलाई सुहायो भनिदिँदा पुरुषहरू दङ्ग पर्थे! झोराहाटमा बि.स. २०१९ देखि नै नाटक मञ्चन गरिन्थ्यो। महिलाको भूमिकामा पुरुषहरू सिँगारिएर महिला बन्थे। मैले थाहा पाएका महिलाको भूमिकामा आएका पुरुषहरू थिए भवानी गुरागाईँ, ईश्वरी प्रसाद लुइँटेल, गोविन्द उप्रेती, प्रेम प्रसाद कोइराला, बलराम (बालकृष्ण) लुइँटेल, गोविन्द खतिवडा, भीमबहादुर कार्की, गौरीमान तामाङ, केदार खतिवडा, दुर्गा घिमिरे, ईश्वरी लुइँटेल। ईश्वरी लुइँटेल थारु जातिका महिलाले लाउने लुगा अर्चा र खड्की लाएर नृत्य गर्थे।
स्थानीय थारु भाषामै तयार पारिएको गीत “चलचल गे अच्रावाली हमर सङ्गे चल” मा नाच्न यिनलाई घरी घनश्याम लुइँटेल, घरी निर्मल घिमिरेले साथ दिन्थे। गोविन्द खतिवडाले सारी चोलो लगाएर -रेशम फिरिरि रेशम फिरिरि उडेर जाउँकी डाँडामा भन्ज्याङ रेशम फिरिरि – गीतमा नाचेर ख्याति कमाएका थिए। अहिले पनि गाउँमा यो गीत गाउँदा मान्छेहरू ठुल्दाइ गोविन्द खतिवडालाई सम्झन्छन्। त्यो भन्दा अघि देखिनै झोराहाटमा एउटा गीत खुब चर्चित थियो।
एता जाऊ भन्छ उता जाऊ भन्छ
केराको पातैले!
न एता जानू न उता जानू
छोरीको जातैले!!
छिङ्तालुङमा लैमालुङ डम्फु हरर …
यो युगल गीतमा नृत्य गर्ने सदाबहार जोडी थियो गोविन्द उप्रेती र घनश्याम लुइँटेलको। गोविन्द उप्रेतीले सारी चोलोमा सजिएर लामो समय एकल महिला गीत र युगल गीतमा घनश्याम लुइँटेलसँग नृत्य गरे। भवानी गुरागाईँले पनि लामो समय महिलाको पहिरन लगाएर अभिनय र नृत्य दुवै गरे। त्यसो त साबित्रा घिमिरे केटा भएर दिपा न्यौपाने (पछि घिमिरे)सँग लहराले पहरा तानेको किन मलाई बैरीझैँ ठानेको भन्ने गीतमा नाचेको सम्झन्छु। गौरीमान तामाङ भीमबहादुर कार्कीले पनि महिलाको गीतमा सारी चोलो लगाएर नृत्य गरे पनि चर्चित हुन सकेनन् भने दुर्गा घिमिरे, प्रेम कोइराला, बलराम (बालकृष्ण) लुइँटेलले महिलाको भेषमा अभिनय मात्र गरे। नृत्य गरेनन्।
अर्को पाटो थियो खलनायकको। यो भूमिका पनि सबैले पाउँदैन थिए। मेरो स्मरणमा रहिरहेको खलनायकको भूमिका गोपाल प्रसाद न्यौपानेको हो। पचास रुपैयाँको तमशुकमा जमिन्दारको भूमिकामा गोपाल न्यौपाने जमेका थिए। यो नाटकको नायक थिए कलाकारितामा त्यस बेला ख्याति कमाएका निर्मल घिमिरे। निर्मल घिमिरे नाटकमा अभिनयका अतिरिक्त नृत्य र गायनमा पनि प्रख्यात थिए। गोपाल खतिवडा (बाह्रघरे) ले राजा हरिश्चन्द्रमा दुर्वासा ऋषिको आक्रोशित मुद्राको अभिनय गरेका थिए। जो सबैले रुचाएका थिए।
खलनायकको भूमिका निभाएर ख्याति कमाउनेमा माधव खतिवडा पनि थिए। उनको आवाजको घनत्व हिन्दी सिनेमाको चरित्र अभिनेताको जस्तो थियो। नेपालकै सन्दर्भमा भन्ने हो भने हरिहर शर्माको तेज भएको अनुहार देखिन्थ्यो उनको। पछिल्लो समय भरत गुरागाईँ र कमल खतिवडा पनि निक्कै रुचाइए खलनायकको भूमिकामा।
चूडामणि बास्तोला डी एस पी को नेगेटिभ भूमिकामा यसरी जमे कि उनी एउटै भूमिकाले हिट भए। त्यसमा गरेको एक्टिङ्ग अहिले पनि रमाइलो गफमा निस्कन्छ। अर्का थिए छत्रपती लुइँटेल स्थानीय स्कुलका शिक्षक। यिनी सबै भूमिकामा उस्तै सशक्त लाग्थे। यिनी कलाकार मात्र होइन लेखक पनि थिए। यिनको उद्घोषण कला उत्कृष्ट थियो। नाटकमा मात्र होइन अन्य सामाजिक समारोहमा पनि यिनी बराबर उद्घोषण गर्ने मान्छे झोराहाटमा त्यो समयमा अर्को थिएन। त्यो समयमा बाद्य बजाउनेमा मोहन भट्टराई, मित्र भट्टराई, महानन्द भट्टराई, र अर्जुन भट्टराई एकै परिवारका दाजुभाइ थिए। अर्जुन भट्टराई हार्मोनियम, ढोलक, बेञ्जो यी बाजा बजाउन पोख्त थिए। ढोलक बजाउन रोहिणी लुइँटेल पनि निपुण थिए।
नाटकमा अघिल्लो पुस्ताको हास्य कलाकारको रूपमा चर्चित थिए र रोहिणी लुइँटेल, मित्र प्रसाद भट्टराई। त्यसलाई पछ्याउँदै आए डिल्लीराम लुइँटेल र रामप्रसाद न्यौपाने। यी दुई कलाकारलाई मञ्चमा देख्ने बित्तिकै दर्शक हाँस्न थालिहाल्थे। त्यो हास्यको छनक रामप्रसाद न्यौपानेको अहिलेको बोलीचालीमा पनि पाइन्छ।
हास्य कलाकारमा रामप्रसाद राम्रो छाएका कलाकार थिए। त्यसो त अशोक लुइँटेलले अभिनय गरेको नाटकमा पहिलो पटक कमला लटौलाले रङ्गमञ्चमा प्रवेश गरेकी थिइन्। पछि महिला मुक्ति नाटकमा स्मृति घिमिरेले अभिनय गरिन्। माया खतिवडाले पनि नाटकमा राम्रो अभिनय गरिन्। लामो समय बेजोड अभिनयका लागि सङ्गीता भट्टराई (पछि लुइँटेल) आइन। उनले हरेक चरित्रलाई सफलतापूर्वक अभिनयमा उतार्न सफल भइन।
झोराहाटमा शिला भट्टराई (अहिले बराल) नै नाटकमा पहिलो महिला उद्घोषक भइन। यो कुरा आज भन्दा लगभग ३४ वर्ष अगाडिको हो। यिनको उद्घोषण देखेर लक्ष्मण लुइँटेलले यो लेखकलाई भनेको सम्झन्छु। यो उद्घोषण त टी भी मा भन्दा पनि राम्रो लाग्यो त। यो भन्दा २/३ वर्ष अघि देखि अभिनय र निर्देशनमा सशक्त हुँदै आएका प्रयाग न्यौपाने अहिले पनि नाटकमा कुनै न कुनै रूपमा सक्रिय नै छन्।
उनले दर्जन भन्दा बढी नाटक निर्देशन गरिसकेका छन्। आरोहण गुरुकुल विराटनगरका यी एउटा सदस्य या हिस्सा जस्तै छन् अहिले। झोराहाटमा नाटक लेखनमा छत्रपती लुइँटेल, हरि प्रसाद लुइँटेल, सिताराम आचार्य, गण्डकीपुत्रहरु थिए। अन्य अभिनय गर्नेहरूमा अर्जुन गुरागाईँ, देवी लुइँटेल, महेश घिमिरे, पशुपति लुइँटेल, भोजराज खतिवडा (काजी), मुकुन्द निरौला, लक्ष्मण लुइँटेल, शरद लुइँटेल आदि थिए। यसरी नाटकको क्षेत्रमा धेरै काम भए पनि उचित प्रचार प्रसार र समन्वय नहुँदा झोराहाटको नाटकको इतिहास यसै हराएर जादैछ।
गण्डकीपुत्र
झोरहाट- २ मोरङ !
हाल अमेरिका
र यो पनि…