एनपीएलमा चितवन राइनोजको शानदार प्रदर्शन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै आफ्नो लगातार दोस्रो जित दर्ता गर्यो।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पोखरा एभेन्जर्सको ब्याटिङ भने कमजोर रह्यो।
पोखराले खेलको ३.२ ओभरमै ६ विकेट गुमाउँदै ७ रन मात्र बनाउन सक्यो। पहिलो ओभरमै कप्तान कुशल भुर्तेल शून्य रनमा आउट भए। त्यसपछि पाँचौं बलमा दिलिप नाथ ४ रनमा, र अन्तिम बलमा बास डी लिडे गोल्डन डकमा आउट भए। पहिलो ओभरका तीनै विकेट चितवनका सोहेल तानबिरले लिएका थिए।
तेस्रो ओभरमा रिजन ढकालले पोखराका तीन विकेट झारे। दिनेश खरेल (१ रन), किरण थगुन्ना (० रन) र माइकल लिस्क (० रन) आउट भए। चौथो ओभर सकिँदा पोखराले ६ विकेट गुमाएर मात्र ७ रन बनाउन सक्यो।
पोखराले केही सम्हाल्ने प्रयास गरे पनि १३.२ ओभरमा ७४ रनमै अलआउट भयो। मार्कस क्रिचले १७ र नारायण जोशीले ३० रन बनाउँदै केही योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।
चितवनका लागि रवि बोपराले उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन बनाए। कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रनको योगदान दिए।
पोखराका बलरहरूमध्ये बिपिन खत्री र बास डी लिडेले २–२ विकेट लिए भने सागर ढकाल र रेमन रेफरले १–१ विकेट हात पारे।
यो जितसँगै चितवन राइनोजले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ। पोखरा एभेन्जर्सको भने ब्याटिङमा पुन: सोचविचार गर्नुपर्ने देखिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । विराटनगरले भने प्रतियोतिगामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
विराटनगरका लागि बसिर अहमदले २८ बल खेल्दै दुई चौकाको सहयोगमा २४ रन बनाए । नौ बल खेलेका राजेश पुलामीले एक चौकाको मद्दतमा १५ रन बनाए । अनिल खरेलले १० रन बनाउनेबोहक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
त्यस्तै क्रिस सोलले नौ रन जोड्दा कप्तान सन्दीप लामिछाने आठ रनमा आउट भए । त्यस्तै इस्मत आलम ६ रनमा तगा निकोलस कीर्तोनले पाँच रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहोरा र स्कट कुगेलेइनले समान तीन तीन विकेट लिए भने ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले समान एक÷एक विकेट लिए ।
त्यसअघि दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८२ रनको योगफल तयार गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका कप्तान ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए ।
त्यसैगरी ब्रेन्डन म्यामुलेनले २६ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन जोडे । विनोद भण्डारीले २० बलमा चार चौकाको सहयोगमा २३ रन जोडे भने इशान पान्डेले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २१ रन बनाए । आरिफ शेखले पाँच बलमा दुई चौकाको सहयोगमा नौ रन जोडे । सेफ जेबले १५ बलमा एक छक्काको सहयोगमा १४ रन जोडे ।
विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए भने इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान एक ÷एक विकेट लिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।