प्रतिक्रियात्मक ‘ब्रह्मास्त्रः’ चित्रको घाम तापेर न्यानो नखोजौं
श्रीभक्त घिमिरे
“कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन्
भनिएका कुरा बरु झुटा झुटा झुटा हुन्छन्”- शब्द मधुसूदन लामा-स्वर देवनारायण प्रधान
यो गीतको आशयझैं केही कुराहरु नभनी बुझ्न सकिन्छ भने भनिसकेपछि तिनको मूल्यबोध नभए अर्थहीन भएर जान पनि सक्छन् । जेसुकै होस्, उकुस-मुकुस गुम्स्याएर भुसको आगो बाल्नुभन्दा भन्नै परेपछि वारपार हुनेगरी भनेको राम्रो । ताकि यसले पछि गर्ने असर समयमै गरोस् र भविष्यका दिनहरु क्लेशरहित बनून् ! यस सवालमा मैले कवि तथा स्तम्भकार गण्डकीपुत्रको शैली मनपराएको छु । सन्दर्भ हो, समाज टाइम्स ह्वेबपत्रिकामा प्रकाशित उनको वैचारिक कलमको । शुरुमा मन्द मन्द हुँदै अन्त्यमा पुगेर उनले ‘ब्रह्मास्त्र प्रहार’ गरी सन्दर्भ टुंग्याएका रहेछन् ।
पाठकहरुलाई धेरैबेर किन अल्मल्याउँ ! मैले यहाँनेर लेख्न लागेको विषय हो, एउटा कार्यपत्र र त्यसैको सेरोफेरोमा प्रकाशित अन्तरवार्ताको अंशमा गण्डकी पुत्रको प्रतिक्रियात्मक लेखस्तम्भ ! कवि तथा स्तम्भकार गण्डकीपुत्रद्वारा समाज टाइम्समा प्रकाशित विचारस्तम्भ केही साताअघि नै पढिसकेर पनि त्यसको पुनःसमीक्षाका लागि समय पुगिरहेको थिएन । त्यसैले विदाको दिन यसैमा लगानी गरौं त भनेर लागें ।
‘नेपाली जातीको शरणार्थी नियति’ शीर्षकमा प्रस्तुत सो वैचारिक लेख छरितो हिसाबले संसारभरिका नेपालीभाषीका यायावरीय सन्दर्भ लिएर सरर बगे पनि मूल दृष्टान्त भूटान र भूटानका नेपालीभाषीको मूद्दामा आइपुगेर ठोकिएको रहेछ । र, अन्त्यमा यसले केही केही सम्भावित भ्रान्तिपूर्ण भाष्यहरुको निर्माण गर्ने लक्षण पनि प्रस्तुत गरेको रहेछ ।
खास गरी तेस्रो अनुच्छेदमा पुगेपछिमात्र त्रिवेणी साहित्य मञ्चको आयोजनामा प्रस्तुत कार्यपत्र र सोबारे जारी भएका वैचारिक मन्थनको सन्दर्भ साथै समाज टाइम्समा त्यसअघि प्रकाशित भक्त घिमिरेको अन्तरवार्ताबारेमा विचारक केन्द्रित बनेका रहेछन् ।
तेस्रो अनुच्छेदमा उनको भनाइ छ,“भाषा र समान संस्कृति भएका नेपालीभाषी एक भएर जाने कुरा कुनै राज्यका तर्फबाट आधिकारिक हिसाबले आएको होइन ।” यति कुराको जानकारी नै नभई राज्यका तर्फबाटै सन्धि-सम्झौताको हवाला दिएर कार्यपत्र बनेको होइन भन्ने प्रस्तोता र स्तम्भकार दुवैलाई राम्रो गरी थाहा थियो । किनभने त्यो कार्यपत्र प्रस्तुत हुने कार्यक्रमका आयोजकमध्ये स्तम्भकार पनि एक थिए । म उनलाई यहाँनेर एउटा कुरा स्पष्ट गराउन चाहन्छु-समान भाषा-संस्कृति भएकाहरुले एक भएर जाने कुरा राज्यका तर्फबाट आधिकारिक हिसाबले नआए पनि यो निर्विकल्प आवश्यकताले निर्धारण गरेको कुरा हो; हामीले यो काम तुरन्तै थाल्नु पर्दछ !
समाजको अस्तित्वमा दीर्घकालीन महत्व राख्ने यो काम गर्न धेरै ढिला गर्नु हुँदैन भन्ने कुरामा हाम्रो चिन्तन केन्द्रित छ र यस सरोकारमा हाम्रो कुनै मतान्तर पनि छैन । हाम्रो भाषिक तथा साहित्यिक साझेदारीमा बलियो हातेमालो हुनसक्छ भन्नेमा पनि धेरैमा ‘हामी’ र कमसे कम म सहमत छु । यद्यपि, यसका वस्तुपरक बहुपक्षमा संस्थागत बहस र छलफल तथा दस्तावेजहरूमा आधारित सहमति, समझ्दारी हुनुपर्छ भनिएको हो । कुनै देशका शासकसमक्ष सन्धि गरौं/गर्न जाउँ भनेको होइन । यति कुरा बुझाउन कार्यपत्र चुकेको छैन, अन्तरवार्ताले त अझ स्पष्ट पारेकै छ ।
यद्यपि, कार्यपत्र र अन्तरवार्ताको विषय सीमित आधारका कुरा भए । यी विषयका क्षेत्राधिकारलाई विस्तार गर्दै निष्कर्षमुखी छलफल र बहसमा लगेर संस्थागत आधिकारिक सहमतिको दस्तावेज निर्माणसम्म पुऱ्याउन धेरै काम बाँकी छन् । कमसे कम नेपालबाट आउने इष्टमित्र, व्यक्ति र संस्थाले भूटानीहरुको कथाको अन्तर्य बुझ्न निकै लामो कसरतपूर्ण गृहकार्य गर्नुपर्छ । न्यायिक इतिहासमात्र नभएर भाषा संरक्षण र प्रयोगको दृष्टिले पनि भूटानका नेपालीहरुको योगदान विशिष्ट श्रेणीको छ ।
फिरंङ्गीहरुसित व्यापार विनिमयको संवादमा भोटियाहरुलाई कठिनाइ उत्पन्न भएपछि सन् १९१४ मा राजा उगेन वाङ्चुकले अंग्रेजी र अझ आधारभूत रूपमा हिन्दी भाषाको पठन-पाठन हुने गरी थिम्पू, पारो र पुनाखामा विद्यालयस्थापना गरेका थिए । भूटानमा हिन्दी पढेका म अघिको पुस्ताका केही मान्छेहरु अझै त बाँचेका छन् । जन्म-मृत्यु, विवाह आदि कर्मकाण्डमा लामाले पढ्ने दोमाङबाहेक जोङ्खा भाषा बनेकै थिएन । अंग्रेजी गोराको भाषा भइहाल्यो । अनि क्षेत्रीय अधिनायकत्व कायम गरी बेलायती नश्ल भारतीमा मूल खाँबो गाडेर नेपाल, भूटान, तिब्बत सबैतिर हावी थियो ।
अंग्रेजीभन्दा हिन्दीको प्रभाव भूटानमा चाँडै फैलाउन सकिने र व्यापारिक दृष्टिले नाफामूलक हुने आँकलन फिरङ्गीलहरुले गरेका थिए । त्यो अवस्थाको भूटानलाई विस्तारै ठूल्ठूला योगदानमार्फत समुन्नत बनाउँदै विद्यालयमा नेपाली भाषाको अध्ययन-अध्यापनका साथै व्यावहारिक सरकारी दस्तावेज तथा कामकाजको मूल भाषा नै नेपाली बनाउन सफल थिए भूटानका नेपालीहरु ! राष्ट्रियस्तरका पत्रिका र अखबारको प्रकाशन नेपाली भाषामा सुचारु थिए । सन् १९९० पछिको औपचारिक कानुनी प्रतिबन्धको अवस्थामा पनि नेपाली भाषामाथि व्यावहारिक प्रतिबन्ध लगाउन अझै सफल भएका छैनन् त्यहाँका शासकहरु ।
निर्वासितहरुको कथा छुट्टै हो । तर भूटानभित्र आजको वस्तुगत स्थितिमा केही सीमित अपवादबाहेक नेपाली लेख्ने र पढ्नेहरुको बाहुल्यता छैन । यस्तो परिस्थितिमा उन्नत किसिमको नेपाली साहित्यको अपेक्षा गर्न सकिँदैन नै ! यद्यपि, सहज नेपाली बोल्नेहरुको संख्या अहिले पनि उहिले जतिकै छ । सरकारी कामकाजले दक्षिण भूटानमा आउने सरकारी कर्मचारी भनौं वा दलीय चुनावी अभियानका प्रचारकहरुः नेपालीभाषामै सञ्चारको उपयोग गर्न बाध्य छन् । कम्तिमा पाँच कोरी वर्षसम्म सरकारी दस्तावेज नेपालीभाषामा बनाउने, नेपालभन्दा बाहिर, अलग मूल संस्कृति भएको देशबारेको इतिश्री वृत्तान्त खोज्न नेपालका विश्वविद्यालयहरुले अनुसन्धान किन नगरेका? नेपाली भाषाका इतिहासविद्हरुले उत्प्रेरित किन नगरेका? ९० पछि नेपालीभाषालाई भूटानमा कोर्रा हान्दै प्रतिबन्ध लगाइँदा भारतमा त्यही भाषाले संवैधानिक मान्यता पाएको स्थितिलाई नेपाली प्राज्ञहरुले कसरी हेरेका छन्? कमसे कम हाम्रो यति जान्ने चाहना छ ! यस अर्थमा हामी भूटानको नेपाली समुदायलाई भाषिक दृष्टिले विशेष मान्छौं, उनीहरुको सामाजिक कथालाई विशिष्ट ठान्छौं ।
यस्ता संवादहरु धेरै ठाउँमा हुँदै आएका छन् । स्तम्भकारले उल्लेख गरेका लगायत अन्य केही संस्था र विश्वविद्यालयहरुसम्म एकाध वर्षदेखि यस सवालमा सम्पर्क र परामर्श पनि जारी छ । गृहकार्यको तयारी पनि भइरहेको छ । तर, समाजसँग अभिन्न नातास्थापित भइसकेका मान्छे, त्यसमा पनि लेखनकर्मीले नै “भूटानबाट आएकाहरुले आफूलाई विशेष छौं भन्न हुँदैन; भूगोलका कुरा गरे समाजै भाँडिन्छ, भूगोल बिर्सिएर बनेका संयुक्त परिवारमा फाटै गराउँछ” भन्दै सामाजिक इतिहासको यथार्थलाई अर्घेलो देखाउन ‘इतिहासको घारो तेर्छ्याउन पाइन्न’ भनेर खबरदारी नै गरिसकेपछि गृहकार्यको थालनी त लेखक, कवि र स्तम्भकारबाटै शुरु गर्नुपर्ने रहेछ भन्ने भान भयो ।
चिन्तनपरक बहस शुरु गर्दा प्रारम्भमै भूटानको नेपाली समुदायसित जोडिएका प्रष्ट हुनुपर्ने केही पूर्वशर्तहरु छन् । भाषाको सवालमा नेपाली-भूटानीमाझ साझेदारीको ठूलो द्विविधा छैन । भूटानीहरुले बोल्ने, लेख्ने अक्षर-शब्द नेपाली भएकाले त्यसको लेखाजोखा गर्ने, अनुसन्धान, मूल्यांकन गर्ने, संरक्षण गर्ने, प्रोत्साहित गर्ने काम नेपालीभाषाका विज्ञहरु, लेखक, कवि, प्राध्यापकहरुले गर्ने हो, जुन काम अपर्याप्त भए पनि भइरहेको छ । यो क्रम बढ्दोस्तरमा जाने आशा गर्नसकिन्छ । तर, विभिन्न जात-गोष्ठीका आ-आफ्नै सांस्कृतिक अभ्यास भएकाले सगोल नेपालीहरुको एकमात्र संस्कृतिको कुनै ढाँचा छैन । सांस्कृतिक सवालमा पनि भूटानबाट आएका किराँती दाजु-भाइहरु फाल्गुनन्दको आदर्श बोकेर किराँत सभ्यता र संस्कृतिको उन्नयनमा लागेकै छन् । गुरुङ दाजुभाइहरु पोखरा घुमेर तमुपौरखको खोजी गरेरिरहेकै छन् । तामाङ र नेवारहरु पनि बौद्धसंस्कृतिको खोजीमा नेपालतिरै केन्द्रित छन् । त्यस इतरका अन्यहरु पनि देवघाट, कोटिहोम, पशुपति, मुक्तिनाथ, पाथीभरा धाइरहेका छन् । सामाजिक दायरामा पनि घुल्मिल हुनेक्रम जारी छ । योभन्दा बाहेक, अरु नै खाले वृहत्तर, ‘एकताबद्ध अभियान’ के हो, मैले छुट्याउन सकेको छैन ।
स्तम्भकारलाई आवश्यक लागे पनि नलागे पनि अब बाँकी रहेको कुरा भूटान र भूटानीहरुप्रतिको शासकीय अवधारणा र नीति नै हो । मैले राजा त्रिभुवन र महेन्द्रले उनीहरुका बेलामा गलत गरे भनेको थिइनँ । महेन्द्रकालीन अवधारणा नै अहिले पनि कायम छ कि वर्तमान शासकीय अवधारणा नयाँ बन्यो? बनेको भए त्योचाहिं सर्वसुलभ किसिमले बाहिर आउनपऱ्यो भनेको थिएँ । नेपालमा बहुदलीय व्यवस्था भनौं या त लोकतन्त्रको स्थापनापछि अन्तरराष्ट्रिय कुटनीति र वैदेशिक सम्बन्धमा समेत दलीय अवधारणाले काम गरिरहेको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादमा नेपाली दलहरूबीच सर्वदलीय अवधारणा बनेको थियो । त्यसबाहेक अन्य अन्तरराष्ट्रिय मुद्धामा पनि दलहरुले स्थिर किसिमको संयुक्त राष्ट्रिय अवधारणा बनाएका थिए कि ? कमसे कम मलाई जानकारी छैन । अरु धेरै कुरामा हाम्रो चासो पनि होइन तर, भूटानीहरुको सरोकारमा नेपालमा राष्ट्रिय अवधारणा बन्नै पर्दछ । ‘कठैबरा, दुःख पाए’ भनेर कसैको अवस्थाप्रति च्वःच्वः गर्नु छुट्टै कुरा हो । त्यति त बिना कुनै लागत नेपाली जनताले हामीप्रति प्रशस्तै दर्शाएको सद्भावना हो । एकाध अपवादबाहेक जनस्तरमा नेपाली र भूटानीको कुनै पार्थक्य र वैरत्व छैन, हुनु पनि हुँदैन । तर, नेपालले राष्ट्रिय अवधारणा बनाएर बलियो कुटनीतिक अभियान चलाएन भने भूटानबाट अब केही दशकमा अर्को झमट नागरिकहरु लखेटिने छन् ।
अम्बर गुरुङ, रञ्जित गजमेरले नागरिकता पाए तर, तुलसी घिमिरे, गोपाल भूटानी (हरु) ले पाएनन् भनेर स्तम्भकारले नागरिकता नपाएको झोंकमा कार्यपत्रले नेपाल र नेपालीप्रति तिक्तता पोखेको छनक दिनेखाले अभिव्यक्ति स्तम्भमा राखेका छन् । कसले नागरिकता पायो, कसले पाउनुपर्थ्यो- यो हाम्रो संवादको विषय होइन । भूटानबाट धपाइएका मानिसहरुले नेपालमा नागरिकता पाउनुपर्ने माग राखेकै थिएनन्।
अन्तरराष्ट्रिय नीति र प्रावधान अनुसार शरणदाता देशको नातामा नेपालले भूटानका शासकसित वार्ता गरी समस्या समाधान गर्छु भन्ने कबुलनामा गरेपछि लौ, हाम्रो प्रतिनिधित्व हुनेगरी ठोस वार्ता गर्नुहोस्, ‘हामी स्वदेश फर्कन चाहन्छौं’ भन्ने भूटानीहरुको माग, आशा र अपेक्षा थियो । तर, नेपालबाट निर्वासित भूटानीहरुको अस्तित्व लिलाम भयो ।
नेपालीहरुलाई प्रतिपक्षीजस्तो बुझिने गरी केही नभन्न स्तम्भकारको अनुरोध आए पनि यति कुरा हामी सधैं भनिरहन्छौं । महेन्द्रकालीन कुटनीतिको दायरा पार गरेर नयाँ अन्तरराष्ट्रिय अवधारणा नबनेसम्म पञ्चायत होस् कि, बहुदल, लोकतन्त्र होस् कि गणतन्त्रः भूटानीहरुका लागि नेपाल र शासकीय तहका नेपालीहरु सधैं एकनाश हुन् । सर्वसाधारण नेपाली जनता र शासकहरुबीच भेद छुट्याएर सम्बोधन गरिनुपर्ने स्तम्भकारको माग छ ।
यद्यपि, साधारण जनताको छोरो/छोरी शासक बन्ने प्रणालीमा आजको शासक भोलि जनता बन्छ भने सामान्य ग्रामीण परिवारको एउटा नेपाली भोलि नेपालको शासक बन्नसक्छ । यस्तो परिस्थितिमा हाम्रा लागि अवधारणा र चिन्तनको हिसाबले जोकोही नेपाली पनि नेपाल भन्ने देशमा भोलि बन्ने शासक हो ! यस अर्थमा हामी ‘नेपाली’ सम्बोधनमा नेपाली जनता र शासक छुट्याएर व्यवहार गर्न सक्तैनौं । तर, व्यक्तिगत तहका गुणदोषका कुरामा भने जनता र शासक छुट्टा-छुट्टै व्यावहारिक सम्मानका अधिकारी हुन्, यसमा कुनै मतान्तर रहेन ।
अब लागौं कार्यपत्र र अन्तरवार्तामा ‘भई परिआए नेपालीहरुको घर फिर्ने आधार छ’ भन्दै नेपालीहरुलाई दुख्ने कुरा गरियो भनेर स्तम्भकारले गरेको गुनासोतर्फ । अनेसासका एकजना प्रतिनिधिले त्रीवेणी साहित्य मञ्चको डायसमा उभिएर आफ्नो मन्तव्य राख्तै गर्दा “हामी अमेरिकी हैनौं, अमेरिकावासी मात्र हौं; हामी पूर्णरूपले कहिल्यै अमेरिकी बन्न सक्तैनौं” भनेको कुरालाई इंगित गर्ने सिलसिलामा मैले “भोलि परिआए घर फिर्ने आधार भएका” नेपालीहरुले त्यसो भन्न मिल्छ भनेर व्याख्या गरेको थिएँ । यो यथार्थ पनि हो । नेपालले गैर-आवासीय नेपाली संघमार्फत यो नीतिलाई कानुनको रूप दिइसकेको छ । तीनपुस्ते नेपाली नागरिकता प्रमाणित गर्नसक्ने जोकोही विदेशी नागरिकले नेपाली नागरिकता लिनसक्छन् । यो उनीहरुको अधिकारभित्रको कुरो हो । तर, भूटानीहरुको सरोकार नेपालको नागरिकतासित जोडिएको होइन ।
भूटानीहरुको मूल प्रश्न पञ्चायतकालमा टेकनाथ रिजाललाई अपहरण गरी किन भूटानको शासकका हातमा बुझाइयो? र, लोकतन्त्रमा नेपालभित्रै गाँस-वास नभएका नेपालीहरुलाई शरणार्थी शिविरमा व्यवस्थापन गरियो भनेर किन भूटानको दरवारसित सम्झौता गरियो? भन्ने हो । यी प्रश्नको उत्तर खोज्न भूटानका नेपालीहरुले जहिल्यै पनि आफूलाई नेपालका नेपालीभन्दा अलग राख्नेछन् र उनीहरुले यसमा साथ दिनुपर्छ । यो काम गर्न भूटानकाहरु मात्र जिम्मेवार छैनन्, नेपालका इष्टमित्रले पनि यो काममा हात बढाउनु संयुक्त अभियानको नमूना हुनेछ ।
आजको अवस्थालाई औंल्याएर ‘भूटानबाट विस्थापितहरुको मात्र जटिलता होइन’ भन्ने भाष्यमा स्तम्भकारले ‘शाह परिवारका धीरेन्द्रकी छोरीले नेपालमा नागरिकता नपाएको’ कुरा उल्लेख गरेका छन् । धीरेन्द्रकी छोरीले नागरिकता नपाउनुमा के प्राविधिक कमजोरी थियो, मैले अध्ययन गरेको कुरा परेन । तर, अनुमान गर्नसकिन्छ, उनले कुनै जिल्लाको सिडियोलाई लोभ्याउन सकिनन् ! नत्र, सितामणि, पुर्णियाँ, चम्पारण र मधुवनीका हजारौं ‘राजेन्द्र महतो’ (विम्बात्मक अर्थमा)-हरुले पाउने नागरिकता धीरेन्द्रकी छोरीले सजिलै पाउनुपर्ने हो ।
धीरेन्द्र पुत्रीले नेपाली नागरिकता पाइनन् भनेर भूटानका नेपालीहरुको इतिहासलाई तोड-मोड गर्ने कुरो पनि भएन । भोलि पनि धीरेन्द्रकी छोरी र उनीलगायत बर्मा, आसामतिरबाट नेपाल छिरेका अरु धेरैले नेपालमा नागरिकता पाउनु पऱ्यो भनेर गोटागन्तीको वकालतका लागि हामीले संयुक्त अभियान चलाउने होइन । माथि नै भनिएको छ, नेपालमा विस्थापित भूटानीहरुको सरोकार नागरिकतासित सम्बन्धित थिएन ।
नेपालबाट बाहिरिएकाहरु रहरले देश छोड्नेहरु मात्र होइनन् । यो कुरो हामीले गहिरो गरी अनुभूत गरेका छौं । कसैले पनि देश छोड्नुमा धेरैखाले वस्तुस्थिति हुन्छन् । भीसीको तक्मा थापेर डाँडा-पाखै किन्ने सोचमा वर्गीय हैसियतको शान देखाउने लालचदेखि अनेकौं बाध्यताहरु पनि थिए, यसमा तर्क नगरौं । तर, उनीहरु देशको शासकले नीतिगत तहमा बेदखल गरेर लखेटेका मान्छे होइनन् मात्र भनिएको हो । सरकारका नीतिहरुको आलोचना गर्नेलाई संसदमा विधेयक पारित गरेर अनागरिक घोषणा गर्ने षड्यन्त्रका शिकार उनीहरु भएका होइनन् । यो सरोकारमा भूटानबाट विस्थापितहरुको विशिष्ट इतिहासलाई सामान्यीकृत गरेर ‘सबैको कथा एउटै हो’ भन्न मिल्दैन । तपाइँहरुमध्ये कोही चन्द्र शमशेर वा जुद्ध शमशेरले राणा दरवारको नीतिगत तहमा सर्वश्व हरेर रक्शौल कटाएका मान्छे हुनुहुन्छ भने ए…अँ हामी त एकैखाले रहेछौं भनौंला ! नत्र एकपटक मान्छे हुनुको अर्थभावसमेत गुमाएर धुलो टक्टक्याउँदै बौरी उठेका मान्छेहरुको कथालाई विशिष्ट होइन, सामान्य हो भनिरहँदा पीडामाथि उपहास गरेझैं सुनिन्छ !
स्तम्भकारको भनाइ अनुसार विश्वव्यापी घटनाक्रमकै प्रसंग केलाउने हो भने त भूटानीहरु आफ्नो थात-वासबाट बेदखल हुँदै गर्दा विश्वको सबैभन्दा ठूलो राष्ट्र रुस टुक्रिएर १३ वटा देश बन्दै’थ्यो । जम्मू-कश्मिरबाट ६ लाख कश्मिरी पण्डितहरु विस्थापित भएका थिए । बर्लिनको पर्खाल ढालेर पश्चिमी र पूर्वी दुइ जर्मनी संयुक्त हुँदैथिए । यस्ता अन्तरराष्ट्रिय घटनाक्रम र परिस्थितिहरुको तुलना गरेर भूटानका शासकहरुले गरेको अन्यायको प्रसंग किनार लाग्दै लाग्दैन । एउटा कारणले मात्र नेपालीहरुले देश छोडेका छैनन् र, ती सबै कारणहरु एकसित अर्को नमिल्ने भएर विशिष्ट छन् । त्यस सवालमा लेखकसँग मतान्तर राख्नुपर्ने कुनै कारण छैन । तर, द्विविधाको कुरो के रह्यो भने स्तम्भकार आफ्नो लेखमा रामशाहका पालामा मात्र नभई आफ्ना हजूरबा पुस्तासम्म नेपालीहरु ‘सुख र कामको खोजी गर्दै भूटान गएका तर, यो कुरो लुकाइएको’ भनेर आफैं भ्रमित बनेका छन् ।
नेपालबाट भूटान गएकाहरु एकचोटिमात्र गएकाहरुको जमात होइन, कार्यपत्र र अन्तरवार्ता दुवै ठाउँ भनिएको छ । आधुनिक नेपाल नबन्दैदेखि अर्थात्, अंग्रेजी संवतको सातौं शताब्दिदेखि विसं २००७ सालमा राणाशासनको अन्त्य हुँदासम्म विभिन्न हाँचमा भूटान जाने नेपालीहरुको लर्को थियो । त्योभन्दा पछि पनि मुङ्लान पस्न बाटो लागेका नेपालीहरुलाई भारतको सिलगढीबाट अपहरण गरेर भूटान लगिने सिलसिला जारी थियो ।
यद्यपि, नेपाली मूलका हरुमात्र यसरी भूटान पसेका थिएनन् । उसै गरी थाई-बर्मेली मूलका हरु, तिब्बती मूलका हरु भूटान पस्ने क्रम सुचारु थियो जो अहिलेसम्म जारी छ । भूटानमा को कहाँ जन्मेको वा कहाँबाट आएको भन्ने कुराले ठूलो मूल्य राख्तैन । कुरै गर्ने हो भने नेपालको थापाथलीमा जन्मिएका जिग्मे गेशारनाम्गेल वाङ्चुक आज भूटानका राजा छन् । तर, तत् तत् देशमा बसेकाहरुले त्यहाँको कानून-व्यवस्थालाई अँगाले कि अँगालेनन् ? कर तिरे कि तिरेनन् ? राष्ट्रिय गरिमालाई उकास्ने काममा योगदान गरे कि गरेनन् ? गरे भने उनीहरुलाई ज्यानधन नाशेर श्रीसम्पत्ति र नागरिकताबाट बेदखल किन गरियो? त्यस अभियानमा लोकतन्त्रको मूल्य बुझेको भारतले किन सिफारिश गऱ्यो, नेपालले किन चोचो मिलायो? भन्ने कुराचाहिं मूल प्रश्नका विषय हुन् ।
तपाइँका हजूरबा पुस्ताका कोही मुङ्लान पसेर भूटान पुगे होलान् । अरुका कुरामात्र किन गर्नु, मेरै हजूरबा महासुर क्षेत्रीको हत्यापछिको त्रासदीमा भारत पसे र सन् १९८० तिर नेपाली नागरिक बनेर बिते । आज पनि कति हो कति भारतीय नागरिकहरु खल्तीमा नेपाली नागरिकता बोकेर बसेका छन् । अहिले भूटानबाटै आएकाहरु स्वयं पनि नेपालमा ‘एकैचोटि नागरिकता र घडेरी किन्ने’हरुको लर्कोमा उभिएका छन् । उसैगरी लाखौं नेपालीहरु भारतलगायत अन्य देशका नागरिक पनि बनिरहेका छन् । जीवन निर्वाहको क्रममा आउने यस्ता उतार-चढाव सधैं भइरहन्छन् । यस्तो हेर-फेरलाई नीतिगत तहमा भाषा-संस्कृतिमाथिको प्रतिबन्धसँगै नागरिक उन्मूलनको भूटानको विशिष्ट मुद्दासँग तुलनात्मक सामान्यीकरण गर्नु हदैसम्मको अज्ञानता भनौं या उदासीनता-जे भए पनि यो चिन्तनलाई स्तम्भकारले परिष्कृत गर्नु जरुरी छ ।
भूगोलका कुरा धेरै गरिएमा परिवार भाँडिन्छ भन्ने स्तम्भकारको एउटा फत्तुर छ । यसलाई म फत्तुर भनिरहेको छु । किनभने भूगोल, पेशा, हैसियत, स्तर, थर-गोत्र, नाडी-लग्नसमेत खुट्याएर वैवाहिक सम्बन्ध कायम गर्ने हाम्रो सामाजिक परम्परासित स्तम्भकार अपरिचित होइनन् र हामी पनि त्यही संस्कारमा बाँचेका मान्छे हौं । साइनो सम्बन्धमात्र कुरै नगरौं, पितृ-मातृवंश छोडेर, आमा अथवा मावली पक्षका तीन पुस्तासम्म गोत्रेउली केलाउने, डाँडा-खोला तरेर कुटुम्ब खोज्ने संस्कृति भएको हाम्रो समाजमा कसैले वैवाहिक सम्बन्ध कायम गर्दा को कहाँको हो, कसको छोरो वा छोरी, अहिले कहाँ बस्छन्? के पेशा गर्छन् भनेर निर्क्यौल नगरी कसैले सम्बन्ध बनाउँदैन !
कोही भूटानबाट आयो, कोही नेपालबाट आयो-जुटेर आपसमा सम्बन्ध बनायो, वैवाहिक सम्बन्ध स्थापित भयो ! उनीहरुलाई उतिबेलै थाहा थियो, कसले कहाँको कोसित सम्बन्ध बनाउँदै छ, दिमागमा पहिले नै दुइबीच पारिवारिक सम्बन्ध कायम हुनसक्छ, टिक्न सक्छ, टिकाउन सकिन्छ कि सकिन्न भन्ने कुरा स्थापित गरेपछि मात्रै उनीहरुको सम्बन्ध भएको हो भनेर बुझ्नु हाम्रो सामाजिक परम्परा पनि हो ! पारिवारिक सम्बन्धमा फाटो त भौगोलिक सिमानाका कुराले, सामाजिक ‘इतिहासको घारो’ले मात्र ल्याउने होइन ! हामीले आज हैन, ३५/४० वर्षदेखि भूटान, नेपाल, भारत, बंगलादेश, बर्मा अथवा विश्वको कुनै कुनाका मान्छेले आपसमा समझदारी भएमा सबन्ध बनाउन पाउन्, परिवार विस्तार र सन्तान उत्पादन गर्न पाउन् भनेर विश्वव्यापी मानव अधिकारको वकालत गर्दै आएका हौं । भूटानका नेपालीहरुको विस्थापनको रडाको यसै विषयसित पनि जोडिएको छ । सीता मोथेको जीवनीबारे अध्ययन गरिएमा यो प्रसंग सबैले बुझ्न सक्छन् ।
अहिले स्तम्भकारले भनेझैं हामी ‘इतिहासको घारो’ तेर्छ्याएर विस्तारित सम्बन्धमा बाधा उत्पन्न गर्न होइन, बाधा अड्काउ-फुकाउ गर्नुपर्छ भन्नलाई मञ्चमा उभिएका हौं, ध्वनीयन्त्र उचालेका हौं । कलम-कापी समाएका हौं । अब तपाइँ कसरी? भन्ने प्रतिप्रश्न गर्नुहोला । यसमा केन्द्रित संवाद हुनुपऱ्यो ! स्तम्भकारले एक भएर जाउँ, एकताबद्ध बनौं भनिरहँदा मैले यहाँनेर ठूलो स्वरमा भन्नसक्ने कुरो कति हो भने ‘हामी यसै एकाकार छौं, एकताबद्ध छौं ।’
यथार्थमै भाषिक-सांस्कृतिक समानताका आधारमा हामी भिन्न छैनौं । त्यसैले अब घरी घरी ‘एकता गरौं’ भन्न छोडौं र कुन उद्देश्यमा, कुन दायरामा, कस्तो नीतिमा, केके काममा, कति समयमा, कस्तो व्यवस्थापनमा ? जस्ता प्रश्नहरुको हल गर्दै कार्यगत योजनाकै कुरामा जाउँ । त्यसपछि थाहा हुन्छ हामी एक थियौं कि थिएनौं, छौं कि छैनौं र हुनसक्छौं कि सक्तैनौं । यस्तै विषयहरुमा बुँदागत तर्क र बहस गर्नुपऱ्यो ! तर्क र बहसलाई टुंगोमा पुऱ्याउन संस्थागत, आधिकारिक प्रतिनिधित्व वा अख्तियारी चाहियो ! तब न औपचारिक तहमा पुगिन्छ । नत्र उही घुमी-फिरी रुम्जाटार । चित्रको घाम तापेर न्यानो खोजेजस्तो !
विचारस्तम्भमा कलमकारले अनेसास भन्ने संस्थाको सन्दर्भ उठाएका छन् । मलाई जानकारी छैन उनलाई अनेसासमा कुन दायित्वको अख्तियारी छ ! अनेसासले भूटानबाट उच्छेदित समुदायका केही लेखक-सर्जकलाई हौसलाका लागि कृतिगत पुरस्कार प्रदान गरेको, विभिन्न साहित्यिक उत्सवहरुमा बोलाएर उत्प्रेरणा दिएको, संस्थाको सदस्यता लिएर सामेल हुन आह्वान गरेको र उन्नतस्तरको साहित्य सिर्जनाका लागि चाहना राखेको हामीलाई राम्रो जानकारी छ ।
यद्यपि, यी कामहरु कुनै विधिवत नीति बनाएर, सामूहिक, संस्थागत समझ्दारी, साझेदारीमा नभई व्यक्ति व्यक्तिको सम्बन्ध र पहुँचको आधारमा मात्र भए जसले गर्दा अर्दली वा कारिन्दा बनाउन, पाले राख्न लगेजस्तो आवश्यकताबमोजिम एक-दुइजना व्यक्ति टिपेझैं देखियो । त्यहाँ गएका (हरु) के गर्न गएका हुन् भन्ने ज्ञान नै नहुने परिस्थिति देखापऱ्यो र वातावरण बिग्रिएपछि फर्केर आएका देखियो । कोही निष्क्रिय बनेका र कहिलेकाहीं लफडासम्म भएको पनि देखियो । यस्तो स्थितिबारे संस्थाका पुराना पदाधिकारी सबैलाई जानकारी हुनुपर्दछ । अब त्यस्तै काण्डहरु क्रमागत दोहोऱ्याउने, तेहऱ्याउने काम गर्न भएन, अलि शतर्कतापूर्वक, योजनाबद्ध भएर जाउँ…बुझाबुझ गरौं, औपचारिक सहमति गरौं भन्ने आह्वान गर्दा आक्रोशको अभिव्यक्ति दिएको, अपेक्षाविपरित चिन्तन भएको आदि केके हो केके अनुमानित आँकलनहरु भइरहे !
‘फुटाऊ र राज गर’ भन्ने जस्तो भीषण विभेदकारी चिन्तनको नारासमेत स्तम्भमा उल्लेख भएकाले यसलाई मैले गलत भाष्य निर्माणको शंकास्पद प्रयास भनेर बुझेको छु । यो फरक पाटोका कुरा पनि अलिकति गरिहालौं ।
हामीलाई थाहा छ, सत्यनारायणको पूजा लगाउँदा, स्वस्थानीको ब्रत बस्ता ‘इतिहासको घारो’ले कतै छेक्तैन । लोछार, विवाह, ब्रतबन्ध, उधौली, उँभौली र साकेलाहरुमा पनि ‘इतिहासको घारो’ले छेक्तैन/ छेक्नु हुँदैन ! तर, केही निश्चित विषयवस्तुहरु हुन्छन् जसले समाजको अस्तित्वसँग गहिरो सरोकार राख्तछन् र, तिनको सन्दर्भमा हामीलाई इतिहासले छुन्छ । अझ साहित्य कर्मजस्तो लेखनको क्षेत्रमा त यो सधैंजसो आइरहन्छ । अनि ‘नेपाली एकता’को नाममा ‘परिवारहरुमा विग्रह हुने भयले’ हामी त्यो सरोकारलाई बिर्सन सक्तैनौं ! मूल कुरा त यति नै हो । तब, भूटानका नेपाली र नेपालका नेपाली भनेर सम्बोधन भएका कुरामा आजै ‘फुटाऊ र राज गर’ परिभाषा गरिन्छ भने भोलि हुने लेखनको सहकार्य कसरी अघि बढ्ला ? यो गम्भीर प्रश्न उब्जाउने विषय हो ।
नेपालबाट अमेरिका पसेका (अन्य कुनै देशमा गएका) नेपालीहरु भूटानबाट आएका नेपालीभाषीका लागि प्रतिपक्षी होइनन् । यो कुरो यथार्थ हो । तर, भूटानका नेपालीभाषीलाई दुष्चक्रमा फँसाउने धेरैमध्ये केही नेपालीहरु पनि हुन् । यसमा को, कहाँको नेपालीले कुन समयचक्रमा कसरी फँसायो भन्ने कुरा यही लेखमा व्याख्या गरेर साध्य छैन । यो हाम्रो चर्चाको मूल विषय पनि होइन । धेरै तथ्यहरुको अनुसन्धान र लेखन शृङ्खलापछि यी कुराको निर्क्यौले हुने नै छ ।
अहिलेको चर्चाको केन्द्रविन्दु, त्रिवेणी साहित्य मञ्चको ब्यानरमा प्रस्तुत कार्यपत्र र त्यसैको सेरोफेरोमा आएको अन्तरवार्ताको प्रतिक्रियामा स्तम्भकारले व्यक्त गरेको विचारको सन्दर्भमात्र ।
स्तम्भकारले आफ्नो विचार पस्किने क्रममा विभिन्न अनुच्छेदमा धेरै प्रसंगहरु जोड्दै लगे पनि मूल कुराचाहिं २० अनुच्छेदमा पुगेरमात्र एकैचोटि ब्रह्मास्त्र प्रहार गरेछन् । प्रत्येक अनुच्छेदलाई केलाएर जान त्यति आवश्यक देखिएन । तसर्थ उनले आशंकाको त्रासद पर्खाल खडा गर्न खोजेको केही कुरामात्र केलाएँ ।
उनको विचारकलममा एउटा यस्तो भनाइ छ जसले नेपालका नेपाली र भूटानका नेपाली भनेर भूगोल र सिमानाको कुरा गर्नेबित्तिकै परिवारहरुमा बिखण्डन आउनेछ । स्तम्भकारको विचारकलममा भएको त्यो वाक्य यस्तो छ, “यस किसिमको सम्बोधनले कति नेपाली र नेपाली मूलका भूटानीहरुका घरमा विग्रह ल्याउनसक्ने कुरातर्फ पनि ध्यान दिने हो कि ?”
नेपालीका समूहहरु नेपालबाट चरण चरणमा अमेरिकालगाय संसारका विभिन देशतिर पसेका धेरै वर्ष भइसकेको कुरा स्तम्भकार स्वयंले जनाइसकेका छन् । एउटै भाषा र संस्कृति बोकेर अमेरिका आएका भूटानका नेपालीभाषी स्थापित भएको पनि अब त डेढ-दुइदशक बितिसके । त्योबेलादेखि अहिलेसम्म समाजमा अनेकन अध्ययन र अनुसन्धानहरु भइरहेका छन् । तर, कतै पनि उता हुँदाको अलग भूगोलको सन्दर्भ र तथ्यगत सामाजिक इतिहासको भिन्नताले परिवारमा विखण्डन भएको नतिजा कुनै पनि अध्ययनले देखाएको छैन ।
बरु यता आएपछिको सांस्कृतिक प्रभाव, मानसिक अवतरणको संक्रमित अन्तराल, कडा श्रमको चाप, पारिवारिक आर्थिक सम्बन्धहरुमा असन्तुलन र यौनजीवनका कुण्ठा आदिका कारण धेरै परिवारमा फाटो र विखण्डन भइरहेको तथ्य भेटिएको छ । अनि, अहिले कार्यपत्रको वैचारिक मन्थन भएपछि मात्र उनीहरुले भूटान र नेपालबीच फरकपनको इतिहास थाहा पाएर फाटो हुने कुरा कतिको वस्तुपरक होला ? एकजना प्रौढ, लेखक- कविबाट यस्तो सतही कुरा आउनु अलि दुःखको झल्को पनि हो । इतिहास घारो होइन, अल्झो र पासो वा घाँडो होइन; यो त तपाइँको लागि सिरानी हो ! यसकै ढसनामा ढल्किएर तपाइँले भोलिको कल्पना गर्न सम्भव छ । यो वस्तुपरक तथ्य हो जसलाई स्थापित गर्न संसारका धेरै कवि-लेखकहरुले सदियौंदेखि ज्यानसमेत बलिदान गर्दै आएका छन् ।
यसर्थ यस सवालमा सम्बन्धित सबै पक्षहरु, विशेषरूपले लेखनकर्ममा लागेकाहरु अलि बढी संवेदनशील हुनु जरुरी छ । किनभने भूगोल जुनसुकै भए पनि राज्य वा नीतिनिर्माताहरुलाई मार्गनिर्देश गर्ने भनेका लेखक, सर्जकहरु नै हुन् । लेखक, सर्जकहरु आफैंले ‘चाहेको कुराचाहिं सुरोबुरो गरिहालौं न, प्रदर्शन गरिहालौं, अरु हुने कुरा हुँदै जालान्’ भनेर झारा टार्ने काममा बौद्धिक पूँजी लगानी गरेपछि त्यसको नतिजामा कुनैबेला ‘ताईका फुरौला’झैं आफैं नमिलेको तालमा नाच्नुपर्ने हुनसक्छ । गरौं, जे गर्नुपर्छ होशियारीपूर्वक गरौं भन्ने आह्वानलाई ‘इतिहासको घारो’ उपमा दिइएको टिप्पणीले भयंकर भ्रान्तिको भाष्य निर्माण हुँदैछ भन्ने लक्षणा देखाएको छ ।
हुन त यस्तो विचारको सामना हामीले आजमात्र गरेका होइनौं । शासन-संयन्त्रका उपल्लो स्थानमा पुगेका, राष्ट्रलाई प्रतिनिधित्व गरिसकेका मान्छेहरु समेतले यो भाष्यमा धेरै वक्तव्यबाजी पहिले नै गरिसकेका हुन् । यद्यपि, यस्तो भाष्यले कुन समयमा कसलाई लाभ पुऱ्याउँछ भनेर चिन्तन-मनन् हुन पनि बाँकी नै होला । यसर्थ, चुकेका हामी नै हौंलाः हाम्रो पक्षबाट बुझाउन नसकिएको होला भनेर चित्त बुझाएका छौं ।
भूटानमा छँदा हामीलाई लाग्थ्यो, नेपाल जहाँ हाम्रा पुर्खाहरुको गाथा छ, त्यहाँका मानिसहरु हाम्रा लागि ‘देउता’ समान होलान् । त्यहाँका मानिसहरु देशप्रेमको सवालमा समर्पित, चेतनशील र न्यायका लागि मरिमेट्ने, जागरुक तथा कर्मशील होलान् ! भाषा र संस्कृतिको सवालमा संसारभरिका नेपालीहरुलाई शिक्षा बाँड्नसक्ने क्षमतावान् विद्वानहरु त्यहाँ होलान् । समयले ठेलेर हामीलाई नेपालमै ल्याइपुऱ्याएपछि देखियो, हामीले आशा गरेजस्तै मानिसहरु नेपालमा रहन त रहेछन् तर…! उनीहरुले पनि परिस्थितिको दासतालाई टार्न नसक्ता रहेछन् । देश हार्नुभन्दा सिद्धान्त हार्नु भलो भन्दै राजासँगै सम्झौता गरेर भए पनि राणाहरुको निरंकुशताविरुद्ध लड्न निर्वासनबाट नेपाल फर्किएका बी.पी. कोइरालाको कथात्मक आदर्श, पुष्पलालहरुको विद्रोही चेतना अध्ययन गर्दै, केपी भट्टराई, जीपी कोइरालादेखि केपी ओलीसम्म भोगिसकेपछि हाम्रो परिकल्पना फुइयाँ रहेछ भन्ने ज्ञान पनि भयो ।
सांस्कृतिक रूपले दुर्बल, लोकतन्त्रको नाममा भ्रष्टाचार र नियतवश अनियमितता आदि कुरासँगै जनस्तरदेखि नेतृत्वसम्मको आत्मश्लाघाले सारा नेपाली गौरवमाथि कालो पोतिँदै थियो । फुटपाथमा गुन्द्रुक बेच्ने हाटेदेखि दूध बेच्ने किसान हुँदै अन्नादि उपभोग्य वस्तुको निकासी पैठारीवाला ठूला व्यापारी र राजनीतिज्ञसमेत भ्रष्टाचारोन्मुख चिन्तनले ग्रस्त रहेका हामीले देख्यौं । यस्तो देख्ता आम-नेपालीहरुसँगै हामी पनि रोएका छौं ।
अझ भनौं, नेपाली भाषा र नेपाली गौरवलाई विश्वव्यापी बनाउने अभिभारा बोकेको प्रज्ञासभा, प्रतिष्ठान आदि जे भने पनि-लाई नेपाली अक्षरहरुको वर्णविन्यास कसरी निर्माण गर्ने भन्ने कुरा नै अदालतले तोकिदिनुपर्ने परिस्थिति देखेपछि हाम्रो हंशले ठाउँ छोडेकै हो । नेपाली भाषाको संवर्द्धन, प्रवर्द्धन र उन्नतिमा त्यो देशको प्रतिष्ठित मानक निर्माण गर्ने प्राज्ञहरुको जमात, विश्वविद्यालय, र सरकारको मुख्य भूमिका हुन्छ, हुनुपर्छ । तर, उनीहरु नै एकले अर्कोलाई खुइल्याउने काममा लागेका हामीले देख्यौं । हुन त उनीहरुमात्र त्यसमा सम्पूर्णरूपले जिम्मेवार भने होइनन् । त्यसमा आमसर्वसाधारणको चासो पनि उतिकै महत्वको कुरा हो ।
यद्यपि, नेपालको शिक्षानीतिले अंग्रेजी भाषा सिकाउन विद्यार्थीलाई ठूलो उमेर वा कक्षासम्म कुर्नपर्ने भएकाले सानैदेखि बालबच्चा निजी विद्यालयतिर धपाएर अंग्रेजीमय घराना निर्माणका लागि आम नेपाली सर्वसाधारण नै एकोहोरिएका हामीले देख्यौं । देश छोडेर पलायन हुँदै गर्दा विमानस्थल पुगेर अवीर, माला गर्ने, दोसल्ला ओडाउँने गरेका घटना देख्यौं । तर, विदेश गएका मध्ये कोही देश फर्कँदा स्वागत पनि देखिएन, कुनै सफलता प्रदर्शन गरेको, पराक्रम गरेको पनि देखिएन । यस्ता कुरा पनि भाषा र संस्कृतिभित्रै पर्छन् नि होइन र? अथवा भाषा, संस्कृति, मानवीय गरिमा सबै द्रव्यलक्षित विनिमयका सामग्रीमात्र बनेका हामीले देख्यौं ।
कुरो त्यतिमात्र होइन, शरणार्थी शिविरमा बारबन्देजभित्र राखिएका शरणार्थीलाई राजनीतिक दलहरुले चुनावताका हुलका हुल लगेर मतदाता बनाएका पनि देख्यौं । त्यतिबेलै हामीले थाहा पाएका हौं, नेपाल र एकाध नेपालीहरु हाम्रा लागि हितचिन्तक भएर पनि आस्थाका पात्रचाहिं होइन रहेछन् । राष्ट्रिय गरिमा, मानवीय संवदेना, कुटनीतिक मर्यादा, लोकतान्त्रिक मूल्य-मान्यता आदि कुरामा नेपालको शासकीय तह नै यति दुर्बल रहेको देखेपछि लोकतन्त्र नै खराब व्यवस्था रहेछ, बरु राजा भएको व्यवस्था नै ठीक भन्ने कुरामा भूटानभित्रका हाम्रा परिवारले हामीलाई सम्झाउन थाले ।
स्तम्भकारले स्वयं उल्लेख गरेझैं नेपालमा लोकतन्त्र आएर पनि दिनदिनै रुँदै विमान चढ्नेहरुको लर्को लागिरहन्छ, बाटो खुल्ला गरिदिए एकै दिन लाखौं नेपालीले समुद्र तर्ने खड्गो सधैं आइलागिरहन्छ भने लोकतन्त्रको के मूल्य? भनेर भूटानभित्रबाट सोधिएका प्रश्नको उत्तर हामीसँग थिएन नै ! लोकतन्त्र स्थापनाको अभियानमा भूटानका अभियन्ताहरु चुकेको कारण केही अंशमा आपसी असझ्दारी भए पनि अंश अंशको प्रतिशत बाँड्ने हो भने लोकतान्त्रिक नेपालका शासकहरुलाई निकै ठूलो भाग लाग्नेछ । यस सम्बन्धमा अरु धेरै कुरा छन् । स्तम्भकारको कलममा ‘कुनै शासकले हक-अधिकारको कुरा किस्तिमा पस्किएर दिँदैन’ भनिएकोले मात्र मैले यति कुरा जोडेको हुँ ।
विचार कलमको सातौं अनुच्छेदमा कलमकारले भनेका छन्, ‘साहित्य र संस्कृति राजनीतिक विषय होइन र हुनु पनि हुँदैन ।’ यसै अनुच्छेदमा अन्य थुप्रै कुरा भए पनि मूल विषयमात्र चर्चा गरौं । के साहित्य हो र के राजनीति भन्ने कुरा परापूर्वकालदेखि आजसम्म टुंगो नलागेको विषय हो । यो कुरा बुझ्न चाहनेहरूले हाम्रो समाज र प्राचीन साहित्यको आधार पनि केलाउनुपर्छ । कौरव-पाण्डवले राज गरे, जुवा खेले, युद्ध गरे, सबै राजनीति भयो । तिनै घटनामा आधारित कथावस्तु व्यासले लेखे, सञ्जयले अन्धा धृतराष्ट्रलाई कथा सुनाए, त्यो सबैचाहिं हाम्रो प्रचीन साहित्य भयो । रामले युद्ध गरे, लंका जिते, राजनीति भयो, बालमिकी, तुलसी दासले त्यही विषयको कथा लेखे, हाम्रो प्रचीन साहित्य भयो । साहित्यलाई समाजको दर्पण भनिएपछि समाजमा हुने सबै गतिविधि साहित्यमा अँटाउनै पर्छ । तर यतिबेलाको साहित्यमा वर्गीकरणको छेकाबार लगाउने जड़सूत्रका प्रेमीहरू यो मतमा सहमत हुँदैनन् । आखिर साहित्य पनि राजनीतिको एउटा बलियो आधार हो । साहित्य र राजनीतिमा हुने फरक भनेको साधारण गाउँले बोलीचाली, प्रवुद्धवर्गको कामकाजी भाषा र श्लोकोक्तिका अतिरञ्जनापूर्ण काल्पनिक भाषाप्रयोग वा विषयगत वैचारिक वैभिन्यतामात्र हुन् ।
बी.पी.कोइराला, भूपि शेरचन, गोपालप्रसाद रिमाल, शंकर कोइराला, पारिजात, सरुभक्त आदिका रचनालाई साहित्य मान्न सक्नेहरुले साहित्य र राजनीतिक पार्थक्य तोक्न अलि धैर्य गर्नुपर्छ । हैन, साहित्य भनेको फूल र नदी, पुतली र सुनकेशी रानीको कथामात्रै मान्ने भए ठिकै छ; बहस गर्नैपरेन !
हाम्रो साहित्यमा एउटा विडम्बना नै कायम छ आजसम्म-साधारण बोलीचाली र सोझो बुझाइमा आउने कार्य-कृतिलाई त्यस्ताहरूले साहित्य नै गन्दैनन् । गाउँले पृष्ठभूमिका बोलीचालीको भाषामात्र बुझ्ने सर्वसाधारणका लागि साहित्यको कुनै उपयोगिता छैन त्यस्ताहरूको मतमा । उनीहरू मञ्चमा उभिने वक्ताको अघिपछि सुरक्षार्थ बसेका कर्मीहरूले नै नबुझ्ने गरी श्लोक गायन, काल्पनिक अतिरञ्जना सुनाउन पाए त्यसलाई मूल्यवान् साहित्य ठान्दछन् । सर्वसाधारणको बोलीचाली भाषा, सामाजिक गतिविधिका छरपष्ट विषयवस्तु र न्याय-अन्यायका कुरा आए उनीहरू तिनलाई राजनीतिको वर्गमा थन्क्याइदिन्छन् । यद्धपि समाजको दर्पण, न्याय र समानताको याचना न हो साहित्य ! यसबारे धेरै चर्चा नगरौं । यसै विषयमा केन्द्रित लेख निम्न लिंकमा उपलब्ध छ । इच्छा हुनेहरुले पढ्न सक्नुहुनेछ ।
फेरि लागौं गण्डकीपुत्रको विचार स्तम्भतर्फ । उनले वैचारिक प्रवाहको छैटौं अनुच्छेदमा भनेका छन्, ‘यहाँ त बरु नेपाली शब्दकोशमा तत् तत् क्षेत्रमा नेपालीहरुले बोल्ने आगन्तुक शब्द के के हुन् । व्याकरणको व्यवस्थापनमा के के समस्या होलान्, भाषाको संरक्षणको प्राविधिक जटिलता के के होलान् भन्ने विषयमा बहस र लेखनको आवश्यकता पर्ला !’
यहाँनेर स्तम्भकारले नेपालभन्दा बाहिर रहेका नेपालीभाषीसित अत्यधिक, अव्यावहारिक अपेक्षा राखेझैं देखिन्छ । विभिन्न क्षेत्रमा नेपालीहरुले बोल्ने आगन्तुक शब्द र व्याकरण व्यवस्थापनका समस्या हल गर्न वा भाषा संरक्षणको प्राविधिक जटिलता पत्ता लाउने काम हाम्रो लक्ष्य होइन । हामी नेपालइतरका नेपालीभाषीले वास्तवमा भाषाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन, उन्नति केही पनि गर्नसक्तैनौं । त्यो ल्याकत हामीसँग छैन । हामीले गर्ने भनेको केवल समाजका अंग-अंगलाई भाषा बिर्सन नदिउँ, यसको महत्व कायम राखेर नेपालीपनको दसी बँचाइराखौं भन्नेमात्र हो । भोलिको पुस्ताले नेपाल जाँदा दोभाषेको प्रयोग गर्न नसपरोस् भन्ने सीमित लक्ष्यमात्र हामी साँच्न सक्छौं ।
संरक्षण, संवर्द्धन, अनुसन्धान र बढोत्तरीका सबै कामहरु त्यो भाषामा सञ्चालित तत् तत् देशका विश्वविद्यालयहरुले गर्नुपर्छ । जुन देशमा नेपाली भाषाको प्राज्ञमण्डली छ, भाषा विज्ञानका ज्ञाताहरु छन्, विश्वविद्यालयहरु छन्, जुन देशको सरकारी संरचनाले नेपाली भाषाको दैनिकीमा कार्यसञ्चालन गर्दछ, जहाँ आम सर्वसाधारणले यो भाषामा जीवनको विनिमय गर्दछन्; त्यो देशको प्रत्यक्ष चासो, सक्रियता, बौद्धिक समायोजन र कतिपय अवस्थामा अन्य लागतसमेत खर्चेर यो काम गरिनुपर्दछ । बाहिरकाहरु यस्ता कार्यमा सहायकमात्र बन्नसक्छन् । अँ, बाहिरकाहरुलाई सहायकका रूपमा भाषिक-साहित्यिक उन्नतिको वृहत्तर स्वार्थ केन्द्रित योजनामार्फत हामीलाई पनि प्रयोग भने गर्नसक्ने छन् । यतिको यथार्थ र व्यावहारिकता शुरुमै बुझिएन भने भोलिको सहकार्य सम्भवै छैन ।
विचारकलमको चौथो अनुच्छेदतिरै होला, स्तम्भकारले भनेका छन्,‘हामी आफ्नो भूगोलभन्दा पर अर्कैको भनिएको भूगोलमा आएका छौं ।’ यसमा मेरो विमति छ । खासमा भूगोल आफ्नो र अर्काको भन्ने हुँदैन रहेछ । यो देश तेरो वा मेरो भनेर रेखा कोर्दै सिमाना तोक्ने र संवैधानिक तानाबानाले परिभाष्यको निर्धारण गरिँदो रहेछ । यो केवल भावनात्मक अनुप्राणले निर्धारण गर्ने अमूर्त आयतनमात्र रहेछ । धर्तीको माटो सबै जीवहरुको हो । त्यसमा पनि मानिस भनेको सभ्यताको सर्वोपरिता अभ्यास गर्ने सुसंस्कृत जीव हो । त्यसैले यो धरा, यो जगत सबै मानिसहरुको घर हो । यसको सुरक्षामा सबैले योगदान गर्नुपर्छ भन्ने अबका मानिसहरुको लक्ष्य हुनु सान्दर्भिक र आवश्यक होला जस्तो लाग्छ ।
तथापि, वर्तमान यथार्थको थैलोमा टाल्नै नसकिने एउटा प्वाल मानौं वा अरु केही-विश्वका अधिकांश राष्ट्रहरु निश्चित भाषा, संस्कृति र सभ्यताका आधारमै विकसित भएका छन् । ती सबैका तथ्यहरु आ-आफ्नै तहमा इतिहासले समेटेका छन् । यति भनिरहँदा अर्कोपाटो पनि विचा गर्नैपर्ने हुन्छ । आजको विश्वपरिवेश प्राचीन ढाँचामा चलेको छैन र अब चल्न सम्भव पनि छैन । आज विशेष गरी द्रव्यार्थमा सबै वर्ग, जाति र संस्कृतिहरु विलिन हुँदै गएका छन् । मानिस सम्पत्तिमुखी लाभ-हानिमा लक्षित भइसकेपछि भाषा, संस्कृति र सभ्यता पनि व्यापार-विनिमयका वस्तु बन्छन् र नाफा-घाटाको हिसाबमा घाटा हुने पक्ष नाशिएर जान्छ । त्यस्तो हुन नदिउँ भनेर नै अनेकौं समन्वयकारी दर्शनचिन्तन पनि विकसित भइरहेका छन् । तर, यी समन्वयकारी चिन्तन कहाँ पुगेर कहिले चरितार्थ हुने हुन्, कसैले किटान गर्न सक्तैन । यही तात्पर्यमा मात्र हामीलाई पनि आफ्नो भाषिक-सांस्कृतिक सभ्यताको गाथा कायम गर्ने स्वाभिमानको रक्षात्मक नीति चाहिएको हो ।
भाषाको गरिमा र यससित समाजको साइनो सम्बन्ध कायम गर्ने अभियानको कुरालाई अलग अलग राजनीतिक सिमानाको इतिहासले अल्झाउन हुँदैन भन्ने कुरा उठाएर उनले आफ्नो विचारको बीट मार्न खोजेका छन् । सबैले भन्दै आएको कुरा यही र यति नै हो । यसमा पूर्ण सहमति छ । तर, प्रत्यक्ष अन्तरक्रियात्मक बुझाबुझको अभावमा हामी बीचबाटोमै हराउने निष्फल प्रयास गरिरहेका छौं कि, इतिहासका गल्तीहरु जानी जानी दोहोऱ्याउँदैछौं कि भन्नेतर्फ पनि घोरिनुपऱ्यो भन्ने मेरो आह्वान हो ! बहुआयामिक चिन्तन र स्वसमीक्षा अति जरुरी छ । त्यसर्थ, एकले अर्काको कुरा बुझ्नलाई प्रत्यक्ष छलफल र बहसको आवश्यकता छ । सञ्जालमा लेखिएका कुरा पनि महत्वपूर्ण नै छन् । यद्यपि, विचारकलमका लेखहरुबाटै अन्तिम समझदारी होला भनेर आशा राख्नु प्रत्युत्पादक हुनसक्छ ।
चौथो अनुच्छेदमै हो क्यार, उनको एउटा भनाइ छ,“पहिले नै हामीचाहिं यस कारण विशिष्ट हौं है भन्नुपर्ला जस्तो मलाई लाग्दैन र लाग्नु पनि हुँदैन !” समझदारीपूर्म साझेदारीको गहन चुनौती हो यहीँनेर देखिन्छ । कुनै पनि विचार, चिन्ता र चासोलाई ‘विशेष बन्नखोजेको’ अर्थमा लिइयो भने भोलि हुने सहकार्य कहिल्यै सफल हुने छैन । अमेरिका, बेलायत, अष्ट्रेलियालगायतका पुनर्वाश गराइएका मुलुकहरुमा भूटानका नेपालीहरु विशेष नै हुन् । किनकि उनीहरुको विशेषता अरुसँग मिल्दैन भन्ने कुरा मैले माथिदेखि व्याख्या गर्दै ल्याएको छु । सबैको आ-आफ्नो विशेषताभित्र भूटानीहरुले आफ्नो विशेषता भुल्नुपर्ने किन? भूटानीहरुले भूटानका शासकहरुको प्रशस्ति गाउन वा भूटानको भौगोलिक सीमाको महत्व दर्शाउन समूल नेपालीभन्दा अलग, आञ्चलिक नेपालीपनको चाहना राखेको भन्ने परिभाष्यको विकास कसैले पनि नगरिदिए सर्वपक्षलाई हितकर हुनेछ ।
उनीहरुको यो चाहना अझै पनि त्यहाँ रहेका परिवारका सदस्यहरुको सुरक्षाको चिन्ता, तिब्बतबाट आएर भूटानमा स्थापित भएको एउटा समुदायका शासकले आफूइतरका अन्य भाषा, संस्कृति र समुदायमाथि धावा बोलेको कुरालाई सगोल राष्ट्रिय इतिहासको विषयवस्तु बनाउन र भारतले खेलेको राजनीतिक कुटिलताविरुद्धको लक्ष्य आदि कुरामा केन्द्रित छ । समाजका हितचिन्तक र लेखक, कविहरुले यति कुरा सहजै बुझ्न आवश्यक छ एकातिर भने अर्को अर्थमा भाषा-संस्कृतिमा नेपालीपन बोकेर पनि उनीहरु भूटानलाई भुल्न सक्तैनन् भन्ने अर्को महत्वपूर्ण सरोकार पनि हो । “देशभक्ति त मर्दैन चुत्थै देश भएपनि”-बालकृष्ण सम !
बर्मा, थाइल्याण्ड होस् कि मणिपुर, आसाम होस् कि नेपाल, जताबाट आए पनि हामी सबै एकै हौं भनेर भूटानका नेपालीहरुको अस्तित्वको मुद्दालाई सामान्यीकरण गर्न मिल्दैन ! अरुतिर अनिकाल र साम्प्रदायिक, जातीय/नश्लीय द्वन्द्व, छिमेकीले गरेको सिमाना मिचाइ, भलबाढी र पैह्रो वा गृहयुद्धकै पीडित भए पनि उनीहरु तत्कालका परिघटनाले सताइएका हुन् । तर, भूटानकाहरु राजा र तत्कालीन संसदले कानूनस्थापना गरीकन बेदखल गरिएका मानिसहरु हुन् । यसकारण, तत्कालीन घटनाक्रमको प्रभावमा कुनै देशबाट विस्थापित मान्छेहरु जीवनयापनका लागि आर्थिक उपार्जनको लक्ष्यले विदेशिएको हिसाब हामी एउटा कुटिल शासकले षड्यन्त्रको जालमा सर्वस्व खोसेर, ज्यानधन नाशेर डाँडा-खोला कटाएका मान्छेहरुसँग कदापि मिल्दैन ।
कलमकारको भनाइमा दशवर्षे जनयुद्धको बेला विस्थापितहरुलाई रहरले देश छोडेको भन्दा अपमानित हुन्छन् । यो कुरो ठिकै होला । तर, दशवर्षे जनयुद्ध भनेको २०५२ मात्र शुरु भएको हो । त्यसो भए कथित लोकतन्त्रका नेता र सरकारहरुले २०४९/२०५० तिरै झापाका शिविरहरुमा सदियौंदेखि गाँस-वास गुमाएका नेपाली नागरिकहरुलाई पनि छद्म भूटानी बनाएर राखेका छौं भनेर किन स्वीकार गरेका हुन् ? सन् १९९३ मा भूटानको दरबारमा सार्वभौमसम्पन्न लोकतान्त्रिक नेपालका प्रतिनिधिहरुले हाम्रो मातहतमा गरेको दुर्नीयतपूर्ण सम्झौता याद गर्नु पर्दैन र ? त्यतिबेला नेपालमा कुनै पनि जनयुद्ध थिएन हैन र ? यस्ता विषयमा पनि स्तम्भकार (हरु) का कलम चल्नुपऱ्यो !
जनयुद्ध होस् कि धनयुद्ध होस्, आन्तरिक द्वन्द्वमा परिवार गुमाएका, पिरोलिएका, विस्थापित भएका सबै नेपालीप्रति हाम्रो पनि संवेदना छ । तर, जति जे भए पनि यस कुराले वर्षौंसम्म षड्यन्त्रको जाल बुनेर, संसदमा विधेयक पारित गरेर नीतिगत तहमा अनागरिक बनाइएका भूटानका नेपालीहरुको अवस्थासँग तुलना हुँदैन ! नेपालबाट अमेरिका आएका इष्ट-मित्रहरु, माथि एकचोटि भनिसकेको कुरो पुनः दोहोऱ्याउँदै भन्दैछुः तपाइँहरुमध्ये अपवादमा कोही हुनुहुन्छ र मलाई जानकारी नभएको अवस्थामा क्षमा गर्नुहोला, नेपालबाट आउनुहुनेलाई एकमुष्ट ‘नेपाली’ शब्दले सम्बोधन गरी भन्छु; कुनै राणा शासकले सर्वस्व हरण गरेर काँशीवास गर्न मुग्लान कटाएकामध्ये तपाइँहरु कोही पर्नुहुन्छ ? पर्नुहुन्छ नै भने पनि त्यो अवस्थामा समेत हामी ‘एक’ हुँदैनौं । हाम्रो पीडा एकै किसिमको होला तर, कथाका विशिष्टता आ-आफ्नै हुन्छन् । यसर्थमा हामी ऐतिहासिक आधारले नेपालबाट आएकाहरु भन्दा अलग हौं भन्न कुनै औंसी पुर्णियाँ पर्खनु पर्दैन ! यो सवालमा तपाइँ-हामी सबै सगोल भएका बेला आ-आफू विशेष हुन्छौं र हाम्रो यो विशेषता यथावत रहन्छ । यदि भूटानका नेपालीहरुको विशेषताले बिझाइरहन्छ भने त्यो इतिहासको पेयपदार्थ पिउनै छोड्नुपऱ्यो । हैन, अलि-अलि बिझाउँदै पनि रसिलो लाग्यो भने बिझाएको सहन पऱ्यो ।
केही समयअघि एकजना मित्रले आफूलाई कुन शरणार्थी शिविरबाट आएको भनेर कसैले सोधिदिएकोमा व्यथित भएझैं गरी ‘क्याम्प कुन पऱ्यो’ शीर्षकीय लेख लेखेका थिए । शिविरबाट आएकाहरु अलि धेरै भएको ठाउँमा, अमेरिकामा भूटानबाट आएका नेपालीभाषी मात्र होलान् भनेर बुझ्ने कुनै अन्जान मान्छे वा कोही बेपर्वाहले त्यस्तो प्रश्न गरेको होला ! कसैले कुन शिविरबाट आयौ-भनिदिँदैमा धेरै ठूलो घाउ लाग्नु हुँदैन । त्यो एउटा कालखण्डको जीवनको कथा हो । एउटा भारी यात्राको ऐतिहासिक पाइला हो । एउटा निश्चित वर्गको, आञ्चलिक नेपालीपन बोकेको समाजको यथार्थ भोगाइ हो । हो, उतिबेला त्यो पीडाको मिठास प्रत्यक्ष अनुभूत गर्ने मौका नपाएकाहरुलाई त्यो शब्द अहिले दुख्न सक्छ । तर, सँगै बसेपछि पिरा साटिन्छ । सँगै सुत्नेहरुलाई गोडा लाग्छन् । हामीले सबै ठाउँमा रेखा कोर्नु पनि परेको छैन । माथि बारम्बार प्रष्ट पारिएकै छः बिहे, ब्रत, पुराण लगाउँदा कोही पनि लेक-ब्याँसीको भनेर छुट्याउनुपर्दैन । तर, केही महत्वपूर्ण विषयहरु छन् त्यसमा हाम्रो न्यायिक पहिचानको सरोकार अलग रहन्छ । हामीले पनि झापा, मोरङमा रोजगारी खोसिदिएको, वनविनाश गरेको, बेरोजगारको संख्याले बेश्यावृत्ति बढाएको आदि आक्षेपहरु सहेरै आएका हौं । अझै सहुँला तर, तपाइँहरुले पनि केही कुरा सहेर धैर्य गर्नुपर्छ । बेमेलका यस्ता सामान्य कुरा सधैं रहँदैनन्, अनि केही अर्थमा सधैं भई पनि रहन्छन् ! यो सरोकारलाई हामीसँग संगत गर्ने तपाइँहरु केही मान्छेले अलकत्रको घोल भए पनि पिउनुपर्छ । तब न सम्भव हुन्छ सहकार्य र सहयात्रा !
हामीलाई ‘भूटानका नेपाली’ बन्दा हुने सामूहिक लाभ र ‘नेपाली’मात्र बनेर हुने अल्पकालीन-दीर्घकालीन सामाजिक लाभ, अथवा दीर्घकालीन हिसाबमा समाजले पाउने फायदाका आधारहरु के के होलान् ? त्यसको लेखाजोखा हुनुपर्छ पहिले । तर, अहिले चालू तर्क र विवादको केन्द्र यो विषय नभएर भाषारक्षाको, सदुपयोगको सवाल तथा सिर्जनशील साहित्यकर्मका कुरा मूल भएकाले अथवा कुरा जति नै गरे पनि कहिल्यै नटुंगिने यो विषय भएकाले, व्यावहारिक हिसाबले विवाद वा असझदारी नै नभएका सौहार्द्र तर संवेदनशील सरोकारमा अनेक तर्कातर्की गरिरहनु मलाई व्यर्थको समय बर्बादी होला झैं लाग्दैछ ।
अब निष्कर्षमा जाउँ । नेपाली संस्कृति भनेको ठ्याक्कै यही र यति नै हो भन्ने कुराको किटानी आजसम्म नभएकाले सांस्कृतिक एकरूपताको कुरा म गर्दिनँ । तर, भाषिक समानताले एक भएर पनि केही मूल्यवान सरोकारहरुमा हामी अलग हौं । अलग छौं र नै तपाइँ (हरु) घरी घरी ‘एकता’को कुरा गरिरहनुभएको छ । तर, त्यो अमूर्त, अदृश्य अलगपन कायम राखेरै एकताबद्ध अभियानको कुरा हामी गरिराखेका छौं । फरक बुझाइ यति नै हो । एउटैमात्र खुट्टा भएको ओदान हुँदैन । ओदानमा तीन अलग अलग खुट्टाको मूल्यबोध भएमात्र तपाइँ-हाम्रो लागि संयुक्त छाक टार्ने पकवान पाक्न सम्भव छ ।
त्यसर्थ, अब हुने कुनै पनि छलफल वा बहसलाई दस्तावेजीकरण गरौं, औपचारिकता दिँदै इतिहास निर्माणको क्रम पनि सँगै लैजाउँ । हरेक कदम इतिहास निर्माणको सिलसिला भएकाले सो सरोकारमा गाडिएको मौलो सम्झिएर त्यसको समेत संरक्षण गर्दै जाउँ । नत्र, श्रमको चापमा चेप्टिएको जीवनबाट थोरै फुर्सद निकालेर सिँचित बहुमूल्य समयको घडा अनौपचारिक, फजुल, नतिजाहीन बहसमा खर्च गर्ने, बहसका लागि बहस गर्ने अभ्यास भइरहे त्यो कुरा पनि भोलिको लागि इतिहास बन्नेछ । र, हामी त्यो उदासीन, फजुल परिस्थितिका, त्यो कालखण्डका निर्माता हुनेछौं । बहुमूल्य जीवन र समयको दुरुपयोग गर्ने अपराधी हुनेछौं ।
यो सन्दर्भलाई बीट मार्दै गर्दा अन्त्यमा एउटा कथा सुनाउन (पढाउन) मनलाग्यो । कसैप्रति व्यक्तिगत कटाक्ष नभई समग्रमा हामी पनि यस कथाका पात्रझैं गरिरहेका त छैनौं-भनेर आ-आफूलाई प्रश्न गर्न उत्प्रेरित गरोस् भनेर यो कथा पस्किएको हुँ । समादरणीय पाठकवृन्द, कृपायः अन्यथा अर्थमा नलिइदिनुहोला !
कथा शुरु…
एक दिन नाम चलेका दुइ भलाद्मीहरु शहरको न्यायालयभित्र कठघरामा उपस्थित थिए ! उनीहरुको मुद्दा-पैरवी सुन्न शहरका थुप्रै मानिसहरु न्यायालयभरि खचाखच थिए ! न्यायधीशले भलाद्मी १. लाई सोधे,‘के गुनासो छ?’ भलाद्मी १ ले न्यायाधीशलाई जवाफमा भलाद्मी २ तिर औंल्याउँदै भने,‘मेरो जीवनभरिको आर्जनले कमाएको जग्गा र ठूलो कारखाना यसले भत्काइदियो । मेरो खेतको सिमाना मिच्यो, सिमानामात्र होइन, यसले मेरो खेतमा उसको भैंसी छोडेर बालीनाली नष्ट गराइदियो ! क्षतिपूर्ति तिरेन न्यायाधीश महोदय !’
न्यायाधीश भलाद्मी २.तिर फर्किए ! बयानको पालो आएपछि भलाद्मी २. ले भन्यो,‘सबैभन्दा पहिले यसको कारखाना र खेत कहाँ थियो भन्ने कुराको निधो गरियोस् न्यायाधीश महोदय !’
न्यायाधीशले केही वकील र प्रहरीहरुलाई साथ लगाएर भलाद्मी १. को कारखाना, खेत जाँचेर बिगो निर्धारण गरी मुद्दाको मुचुल्का र मिसिलको पुनरावलोकन गर्न आदेश गरे ।
अर्को दिन उसै गरी शहरको न्यायालयमा मानिसहरुको खचाखच थियो । न्यायाधीशले जाँच गर्न पठाएको टोलीलाई रिपोर्ट बुझाउन भने । टोली नेताले आफ्नो छानबिनको रिपोर्ट बुझाउँदै तथ्यहरु पेश गऱ्यो । जाँच टोलीमा गएकाहरु सबै मुसु-मुसु हाँसिरहेका थिए ।
मिसिलको मिलान गर्न भलाद्मी २ लाई बयान दिने आदेश भयो । भलाद्मी २ बोल्न शुरु गरे ! हामी दुइ बाल्यकालदेखिका लगौंटिया यार थियौं । खेत-बारी, घाँस-दाउरा सँगै गऱ्यौं, स्कूल-कलेज पनि सँगै पढ्यौं ! जब पेशाकर्म शुरु भयो, हामी छुट्यौं, टाढा भयौं ! धेरैवर्षपछि, एकदिन फेरि हाम्रो भेट भयो ! बालापनको मित्रता धेरै गाढा भएकोले केही दिनसम्म सँगै बस्ने हामी निधो गऱ्यौं ।
यसरी दुइ-चारदिन सँगै बितेपछि एकदिन नजिकैको ठूलो नदीमा नुहाउन गयौं । नदीभित्र नुहाउँदै गर्दा जिन्दगीका उद्देश्यहरुबारे हाम्रा कुरा भए । यसले भन्यो, ‘म त ठूलो कारखाना खोल्छु र व्यापार शुरु गर्छु ।’ मैले सोधें, कारखाना खोल्ने जग्गा छ ? उसले भन्यो,‘आफ्नो नभएर के भो र- सार्वजनिक जमीन कब्जा गरेर भए पनि बनाउँछु ।’ त्यसो गरेमा भ्रष्टाचार हुने मैले बताएँ ।
त्यसपछि झोंक्किएर उसले, ‘यी बनाएँ बनाएँ मैले कारखाना, तैंले के गर्छस्’ भन्दै नदीको पानीमा औंलाले रेखा कोऱ्यो । तर उसले कोरेको रेखा माथिबाट बगेको पानीले तुरुन्तै छोपिहाल्यो ! पानीमा रेखा कोर्न सम्भव छैन भन्ने उसलाई ज्ञान थिएन शायद । त्यसपछि उसको कारखाना मैले भत्काइदिएको आरोप लगाउन थाल्यो !
ऊ रिसाएपछि हामी दुवै हत्त-पत्त बाहिर निस्किएर लुगा लगायौं । ऊ फेरि जंगियो, ‘हैन, मैले तेरो के बिगारें र मेरो कारखाना भत्काइस् ? कारखाना नभए पनि म जमीन्दार त बन्छु बन्छु । यी हेर, मेरो खेत’-भन्दै उसले फेरि बगरको बालुवामा रेखा कोरेर ठूलो घेरा लगायो । ससाना धर्का कोरेर खेत बिरायो । त्यसबेलासम्म मलाई पनि रिसको पारो चढिसकेको थियो । मैले पनि उसले कोरेको घेराभित्र रेखाचित्रकै भैंसी बनाएर भन्दिएँ,‘यी तेरो खेतमा मैले भैंसी चराइदिएँ ।’ हाम्रो मुद्दाको विषय यति नै हो न्यायाधीश महोदय !
न्यायालय चकमन्न थिए । सन्नाटाबीच लामो सुस्केरा तान्दै न्यायाधीशले आफ्नो पावरवाला चश्मा झिकेर टेबुलमा राखे ! हातका औंलाले आफ्ना जुँगा सम्याउनथाले । प्राप्त सूचना अनुसार यस मुद्दामा साबिक फसेला गर्न न्यायालय र न्यायाधीशलाई तपाईंको पनि राय चाहिएको छ ! हरेक पाठकबाट उचित राय पाउने अपेक्षामा…!
विनीत स्वयं