‘सरकारका कारण ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायराभन्दा बाहिर’
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको केसी समूहका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताएका छन् ।
सामाजिक सुरक्षा कोषले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम डा केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताए ।
उनले भने, ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरुलाई यस कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । एउटा पनि काम भएको छैन । यो विदेशमा जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाको रुपमा मात्रै सञ्चालन भइरहेको छ त्यसैले त ५० लाख बढी ब्राह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै यस कोषमा आबद्ध भएका छन् र अझ दुखको कुरा जति नेपालबाट जाँदा आबद्ध भएका थिए ति सबैले कोषमा निरन्तर योगदान गरेका छैनन् रिन्यू गर्नेको संख्या निकै कम छ । कोष स्थापना गर्नु ठूलो कुरा होइन यस्ता कोषको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । श्रमिकलाई यसका फाइदाबारे बुझाउन जरुरी छ ।’
ंसामाजिक सुरक्षा कोषमा आबद्ध गराउने मात्रै नभई कोषमा निरन्तर रुपमा टिकाइराख्न सरकारले विशेष योजना बनाउनुपर्नेमा केसीले जोड दिए । उनले कोषमा जम्मा भएको रकम नेपालको विकासका लागि लगानी गर्न सक्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले श्रमिकलाई नबुझाई यस कोषमा आबद्धता बढाउन नसकिने धारणा व्यक्त गरे ।