ट्रम्पले चीन, मेक्सिको र क्यानडाको आयातमा थप शुल्क लगाउने
पेन्सिल्भेनिया । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले जनवरी २१ तारिखमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएको बीबीसीले जनाएको छ ।
यस्तै चीनबाट हुने आयातमा १० प्रतिशत अतिरिक्त शुल्क लगाइने पनि उनले बताए ।
लागूऔषध, अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई नरोकेसम्म मेक्सिको र क्यानडामाथि लगाइएको कर नहट्ने पनि उनले प्रष्ट पारे । ‘यो उनीहरूको लागि धेरै ठूलो मूल्य तिर्ने समय हो ।’ ट्रम्पले भनेका छन् ।
चिनियाँ अधिकारीहरूले फेन्टानिलको कारोबार गर्दा पक्राउ परेका मानिसहरूलाई मृत्युदण्ड दिने प्रतिज्ञा पूरा गर्न असफल भएको भन्दै ट्रम्प चीनसँग पनि आक्रोसित भएका छन् । आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले चीनमा निर्मित सबै उत्पादनहरूमा ६० प्रतिशतभन्दा धेरै शुल्क लगाउने बताएका थिए ।