अमेरिकामा ५० हजार भन्दा बढीले हेरे “पूर्ण बहादुरको सारङ्गी”

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली चलचित्र “पूर्ण बहादुरको सारङ्गी” अमेरिकामा ५० हजार भन्दा धेरैले हेरेको निर्माताले बताएका छन्।
नेपालमा तिहार (लक्ष्मी पुजाको दिन) देखि प्रदर्शनमा आएको “पूर्ण बहादुरको सारङ्गी” ले नेपाली चलचित्रका प्रायशः रेकर्ड तोड्दै आएको छ।
अमेरिकामा नोभेम्बर ८ तारिखबाट प्रदर्शनमा आएको चलचित्र शनिवार (नोभेम्बर २३) १६ औ दिन पनि हाउस फुल रहेको निर्माता प्याट्रिक सुवेदीको भनाई छ।
‘चलचित्र अमेरिकाका ६७ सिटीमा लागेको छ, अहिले सम्म ५० हजार भन्दा धेरैले हरेको देखिन्छ।’ समाज टाइम्स सँग सुवेदीले भने, ‘यो अहिले सम्म अमेरिकामा सबै भन्दा धेरै हेरिएको नेपाली चलचित्र हो।’
अमेरिकामा लगभग पाँच लाख नेपाली भाषी रहेको अनुमान छ। जसमा एक लाख भन्दा धेरै नेपाली भाषी भुटानी समुदाय छन्।
सुवेदीका अनुसार यस अगाडि डिग्री माइला अमेरिकामा सबै भन्दा धेरै हेरिएको चलचित्र थियो।
सुवेदी एक दशक भन्दा धेरै समय देखि अमेरिका नेपाली चलचित्रको वितरक रहँदै आएका छन्। यस पटक उनी आफै चलचित्र निर्माता बनेका हुन्।
‘डिग्री माहिला तीन साता सम्म ४८ हलमा चलेको थियो, त्यो चलचित्रले डेढ लाख अमेरिकी डलर कमाएको थियो।‘ सुवेदीले भने ‘पूर्ण बहादुरको सारङ्गीले अमेरिकामा अहिले सम्म सात लाख डलर कमाएको हामीले प्रारम्भिक रिपोर्ट पाएका छौ।’
‘हाम्रो मेहनतलाई सबैले मन पराए, अमेरिकामा एउटा शहरमा पाँच वटा हलमा एकै पटक पूर्ण बहादुरको सारङ्गी लाग्यो र सबै हाउस फुल भए, यस्तो कहिल्यै भएको थिएन।‘ उनले भने।
सुवेदीका अनुसार टेक्सस राज्यको ड्यालसमा पाँच वटा हलमा पूर्ण बहादुरको सारङ्गी रिलिज भएको थियो।
पेन्सिल्भेनियामा पनि तीन शहरमा एकै साथ पूर्णबहादुरको सारङ्गी रिलिज भएको थियो।
‘संसार भरी नै चल्यो, म अहिले पोखरामा छु, चार हलमा १६ सो मध्ये १५ सो हाउस फुल छ। यो चौथो हप्ता हो।’ सुवेदीले भने, ’यो क्षेत्रमा हामीले १३ वर्ष देखि गरेको दुखको फल पाएका हौ।‘
पूर्णबहादुरको सारङ्गीमा गरिब परिवारमा छोराको सफलताका लागि बाबुले गरेको सङ्घर्षलाई देखाइएको छ।
सरोज पौडेलको निर्देशन गरेको चलचित्रमा पूर्ण बहादुरको सारङ्गीमा विजय बराल र बाल कलाकार स्वायम केसीको अभिनय उम्दा छ।