नेपाली प्रवासी कामदारका विषयमा एनआरएनए केसी समूह र आईएलओबीच सहकार्य सुदृढ हुँदै
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओका नेपाल निर्देशन नुमान ओजकान र वरिष्ठ कार्यक्रम अधिकृत बसन्त कार्की र गैर आवासीय नेपाली संघ एनआरएनए केसी समूहका अध्यक्ष डा.बद्री केसीबीच भेटवार्ता भएको छ ।
बैठकमा श्रम आप्रवासन लगायत अन्य आपसी चासोका महत्त्वपूर्ण विषयमा छलफल भएको जनाएको छ। दुवै संस्था बीच साझेदारी सुदृढ गर्नका लागि सम्भावित समझदारी पत्रमा गर्ने हस्ताक्षरबारेमा पनि छलफल भएको गैर आवासीय नेपाली संघले सामाजिक सञ्जाल मार्फत जनाएको छ।
कोभिड-१९ महामारीको समयमा, आईएलओले करिब १० लाख अमेरिकी डलरको राहत कोष प्रदान गरी संकटमा परेका नेपाली आप्रवासीलाई राहत र स्वदेश फिर्तीका लागि सहयोग गरेको थियो। यस परियोजनाबाट मध्यपूर्व र मलेसियाजस्ता गन्तव्य देशमा रहेका २५,००० भन्दा बढी नेपाली आप्रवासी लाभान्वित भएका थिए ।
एनआरएनए नेपाली आप्रवासीहरूको हकहितका लागि यसरी नै साझेदारीहरू मजबुत बनाउने प्रतिबद्धता पनि जनाएको छ ।
एनआरएनएले संयुक्त राष्ट्र आप्रवासन एजेन्सी आईओएम सँग पनि सहकार्य सम्झौता गरिसकेको छ भने यस्ता अन्य सम्झौता पनि गर्न तयार रहेको एनआरएनए केसी समूहले जनाएको छ ।