जेठ भित्र एनआरएनएको महाधिवेशन गर्ने निर्णय, केसी र भट्ट अनुपस्थित
काठमाडौं । डा.बद्री केसी र भवन भट्ट अनुपस्थित गैर आवासीय नेपाली संघ एनआरएनएको उच्चस्तरीय समितिको पहिलो बैठक काठमाडौंमा बसेको छ । सर्वोच्च अदालतको फैसला अनुसार पहिलो बैठक मंगलबार बालुवाटरस्थित सचिवालयमा संयोजक शेष घलेले बोलाएका थिए ।
घलेको अध्यक्षतामा बसेको बैठकले आगामी ६ महिना अर्थात मे (जेठ) भित्र एकताको अधिवेशन गर्ने निर्णय सर्वसम्मत भएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘बैठकले सर्वोच्चको फैसलाअनुसार ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने प्रतिबद्धतासहित जेठभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ ।’ उनले भने ।
तर, वैठक स्थल सचिवालय बन्द गरेर कर्मचारीसहित केसी समूहले बुढानिलकण्ठमा रणनीतिक भेला आयोजना गरेपछि घलेसहित संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतहरु फोटोमात्रै खिचाएर त्यहाँबाट गएका थिए ।
घले नेतृत्वको उच्चस्तरीय समितिको बैठक त्यसपछि बालुवाटारमै रहेको नेपाल हाउस (होटेल) मा बसेको थियो । बैठकमा ५ जना भौतिक र ६ जना भर्चुअल (अनलाइन)मार्फत जोडिएका थिए ।
यसैगरी बैठकले एकताको महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने, महाधिवेशन गर्नका लागि कार्य विधि बनाउन सहजीकरणका लागि परराष्ट्रलाई अर्को छुट्टै पत्र लेख्ने निर्णय गरेको पवनि बताए ।
बैठकमा भौतिकरुपमा संयोजक घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, विनोद कुँवर, रविना थापा र जानकी गुरुङ भौतिक रूपमा उपस्थित थिए । यसैगरी, जीवा लामिछाने, देवमान हिराचन,कुमार पन्त, कुल आचार्य, रामप्रताप थापा र उमेश कुमार पुडासैनी भने भर्चुअलरुपमा जोडिएका थिए ।
भौतिक र भर्चुअल दुवै माध्यमबाट सहभागीहरुले एनआरएनएमा एकताको विकल्प नभएको भन्दै सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
बैठकले डा. बद्री केसीले एकताका लागि राखिएको बैठकलाई असहयोग गरेर कार्यालय बन्द गरेको प्रति भ्रत्सना गरेको पनि बताए ।
दशौं अधिवेशनका बेला विवाद भएपछि त्यतिबेलाको ८१ औं बैठकले उच्चस्तरीय समिति बनाएको थियो । समितिमा पनि सहमति नहुँदा दशौं अधिवेशनमा दुई समूहमा अनौपचारिकरुपमा विभाजित भएको थियो ।
घले समूहले विनोद कुँवरलाई अध्यक्ष बनाएको थियो भने बालुवाटारबाट काम गर्ने समूहले तीन जन अध्यक्ष (कुल आचार्य, रविना थापा र वद्री केसी)लाई बनाएको थियो ।
दशौं अधिवेशनको आधिकारिकता दावी गर्दै कुँवर समूहले दायर गरेको रिटमा सर्वोच्चले उच्चस्तरीय समिति बनाएर ६ महिना भित्र एकताको अधिवेशन गर्नका लागि गत चैत २१ गते आदेश दिएको थियो । सोही आदेश अनुसार उच्चस्तरीय समितिमा १३ सदस्यी गठन हुँदा मंगलबारको बैठकमा बद्री केसी र भवन भट्ट अनुपस्थित भएका हुन् ।