ट्रम्पको ‘कमब्याक’ ले अमेरिकाका आउँदा दिन कस्ता होलान् ?
पेन्सिल्भेनिया । नोभेम्बर ५ मा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ को जनवरी २० मा सत्ता सम्हाल्ने छन् । राष्ट्रपतिय प्रणाली अबलम्बन गरेकाले कार्यकारीको रुपमा ट्रम्पले सत्ता सम्हाल्नु अघि नै उनले गरेका नियुक्ति र लिएका नीतिहरुले अहिले राजधानी वासिंङटन डिसी तरंगित भएको द गार्जियनले लेखेको छ ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति हुँदादेखि नै विवादस्पद कदमहरुले चर्चामा आएका ट्रम्प २०२० को चुनावमा वर्तमान राष्ट्रपति जो बाइडनसँग पराजित भएका थिए ।
यस पटक उनले जो बाइडन प्रशासनसँग निरास भएकाहरुबाट मत पाउँदै अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा चुनाव जितेका छन् ।
ट्रम्पले अहिलेसम्म ह्वाइटहाउसबाट काम सुरु गर्नु अघि नै आवश्यक पर्ने पदहरुमा नियुक्तिको प्रक्रिया सुरु गरिसेका छन् । भन्ने हो भने कोर टिम निर्माण गरिसकेका छन् ।
उनले आफ्नो प्रशासनिक टिममा गरेका अप्रत्याशित र विवादस्पद नियुक्तिहरुले अहिले देखि नै चर्चा पाउन थालेका छन् । अमेरिकाको लोकतन्त्र, आप्रवासन नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा ट्रम्पको कार्यकालमा ठूलो र अप्ठेरो प्रभाव पर्न सक्ने रुपमा धेरैले विश्लेषण पनि गरेका छन् ।
ट्रम्पले आफ्नो कार्यकाल सुरु भएकै दिन अवैध आप्रवासन निर्वासनको अभियान सुरु गर्ने घोषणा गरिसकेका छन् । त्यसका लागि उनले आफ्नो पहिल्यो कार्यकालमा आप्रवासन तथा सीमाको नेतृत्व गरेका टम होमनलाई पुनः नियुक्त गरेका छन् । होमनले सुरक्षामा खतरा भएका अवैध आप्रवासीहरूलाई प्राथमिकतामा राखेर निर्वासन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
यसैगरी ट्रम्पले साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमलाई होमल्याण्ड सेक्युरिटी सचिवको रूपमा नियुक्त गरेको विषय पनि अहिले चर्चामा छ । नोएमले कोरोना महामारीका बेला राज्यमा मास्क लगाउने आदेशलाई अस्वीकार गरेकी थिइन् ।
यसैगरी पूर्व डेमोक्र्याटिक सांसद तुल्सी गाबार्डलाई अमेरिकाको खुफिया विभागको नेतृत्व दिएका छन् । रुस र सिरियाका नेताहरुप्रति सहानुभूति देखाउने गरेकाले उनलाई अहिले खुफिया विभागको जिम्मा दिइको हो । तर उनको नियुक्तिलाई लिएर कुटनीतिक बृत्तमा ट्रम्पको तीब्र आलोचना भएको छ ।
ट्रम्पले आफ्ना कट्टर समर्थक म्याट गेट्जलाई न्याय विभागको नेतृत्व दिन प्रस्ताव गरेका छन् । तर, गेट्जमाथि विगतमा यौन दुराचार र मानव तस्करी जस्ता गम्भीर आरोप लागेका थिए । तर उनले ती आरोपबाट सफाइ पाइसकेकाले उनलाई न्याय विभागको नेतृत्व दिने तयारीमा ट्रम्प रहेका छन् ।
सबैभन्दा विवादास्पद रूपमा, ट्रम्पले रोबर्ट केनेडी जुनियरलाई स्वास्थ्य तथा मानव सेवा विभागको प्रमुखको रूपमा नियुक्त गरेको रहेको छ ।
केनेडीले कोरोनाका बेला भ्याक्सिनसँग सम्बन्धित आधारहीन आरोपहरु लगाएका थिए । उनी भ्याक्सिन लगाउन नहुने पक्षमा थिए ।
अमेरिकी राजनीतिक विश्लेषकहरूले ट्रम्पको दोस्रो कार्यकालको सुरुमै न्याय प्रणालीमाथि ठूलो हस्तक्षेप हुन सक्ने चेतावनी दिन्छन् । ट्रम्पले सपथकै दिन न्याय विभाग र फेडेरल कोर्टहरूलाई आफ्नो प्रशासनको नीतिलाई समर्थन गर्न निर्देशन दिन सक्ने मिनेसोटा विश्वविद्यालयका राजनीति विशेषज्ञ ल्यारी ज्याकब्सको बुझाई छ ।
यसैगरी, ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई पुनः हटाउने योजना बनाएका छन भने उनले चीन, इरान, र क्युवासँगको सम्बन्धमा कडा नीति अपनाउने उल्लेख गरेका छन् ।
ट्रम्पले सेन्टर मार्को रुबियोलाई विदेश मन्त्रीको रूपमा नाम अघि सार्नु र पहिलो पटक ह्वाइट हाउस चिफ अफ स्टाफको रूपमा महिलालाई नियुक्त गर्नुलाई सकारात्मक लिइएको छ ।
तर, अन्य निर्णयहरूले उनको प्रशासनलाई आलोचनाको केन्द्रमा पु¥याएको छ भने आलोचकहरूले ट्रम्पको प्रशासनलाई ‘अराजकता र निरंकुशता’ को मिश्रण भन्न सुरु गरेका छन् ।
ट्रम्पको दोस्रो कार्यकालको तयारीसँगै अमेरिकामा राजनीतिक ध्रुवीकरण झन् गहिरो हुने देखिएको छ । उनका समर्थकहरूले उनलाई दृढ नेतृत्वको प्रतीक मानेका छन् भने उनका आलोचकहरूले अमेरिकी लोकतन्त्रलाई जोखिममा पार्ने नेताका रूपमा चित्रण गरेका छन् । यस्तो अवस्थामा, ट्रम्पको नेतृत्वले अमेरिकालाई कस्तो दिशा दिनेछ भन्ने कुराहरु आउँदा दिनमा मात्रै प्रष्ट हुने छन् ।