गुगलसँग विश्वको कुल जीडीपीभन्दा धेरै जरिवाना तिर्न रुसको माग
काठमाडौं ।रुसले प्रकरणीय मिडिया च्यानलहरू बन्द गरेको आरोपमा प्राविधिक कम्पनी गुगललाई विश्वको कुल अर्थतन्त्रभन्दा ठुलो रकम तिर्न माग गरेको छ। मस्कोका न्यायाधीशहरूले गुगलसँग लगभग २० डेसिलियन डलर जरिवाना तिर्न माग गरेका छन् । जुन विश्व अर्थतन्त्रको अनुमानित १ सय ट्रिलियन डलरभन्दा धेरै गुणा ठूलो हो। यो रकम २० पछि ३३ वटा शून्य रहने गरि लेख्न सकिन्छ।
यस निर्णयले गुगलको २ ट्रिलियन डलर बजार मूल्यलाई समेत पार गरेको छ। यो जरिवाना चार वर्षअघि अमेरिकी प्राविधिक कम्पनी गुगलले युट्युबमा रुसी च्यानल Tsargrad TV लाई बन्द गरेपछि आएको हो। उक्त च्यानल ओलिगार्क कोन्स्ट्यान्टिन मालोफेएभको स्वामित्वमा रहेको छ, जसले मस्को समर्थक समाचार सामग्री प्रसारण गर्दै आएको थियो।
गुगललाई पहिलोपटक १००,००० रूबल दैनिक जरिवाना सुनाइएको थियो, र यो रकम नबुझाएमा प्रत्येक २४ घण्टामा दोब्बर हुँदै जाने चेतावनी दिइएको थियो। हाल यो रकम २ अनडेसिलियन रूबल (३६-अंकको रकम) पुगिसकेको वकिल इभान मोरोजोभले सरकारी सञ्चार संस्था तासलाई जानकारी दिए।
यस मुद्दामा गुगलले आफ्नो स्थानीय रूसी शाखा २०२२ मा बन्द गरेको थियो, तर यसका केही सेवाहरू जस्तै सर्च इञ्जिन र युट्युब रूसी प्रयोगकर्ताहरूका लागि अझै खुल्ला छन्। यसैबीच, मस्कोको आदेशमा रूसी वकिलहरूले गुगल रुसको बन्द शाखाबाट $१०० मिलियनभन्दा बढी जफत गरेका छन्, जसलाई युक्रेन युद्धमा समर्थनको लागि प्रयोग गर्ने बताइएको छ।
यसका साथै, गुगललाई दक्षिण अफ्रिका, टर्की र सर्बियामा समेत यी जरिवानाहरू कार्यान्वयन गर्न दबाब दिइँदैछ।