युवा नीतिमा एनआरएनलाई समावेश गर्ने मन्त्रीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली (एनआरएन) का मुद्दाहरू समेट्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बद्री केसी समूहले आयोजना गरेको “गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४” का अवसरमा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण सत्रमा बोल्दै मन्त्री चौधरीले युवा नीति अन्तिम चरणमा रहेको र मन्त्रिपरिषद्बाट पारित भएपछि केही दिनभित्रै यसमा एनआरएन सम्बद्ध विषय समेटिने बताए।
उनले युवाहरूको विदेश पलायनलाई उल्लेख गर्दै १२ कक्षा पास गर्नासाथ अधिकांश युवा विदेश जाने सोच बनाउने गरेको र स्नातक तहमा विद्यार्थीको अभावले भविष्यमा शिक्षकहरूको अभाव हुनेतर्फ सचेत गराए। नेपालका युवाहरूले सूचना प्रविधि क्षेत्रमा प्रगति गरेकामा सन्तोष व्यक्त गर्दै, यसले आर्थिक लाभ पुर्याइरहेको बताए।
मन्त्री चौधरीले डायस्पोराका युवाहरूलाई मातृभूमिको विकासमा उद्यमशीलता, स्थानीय अर्थतन्त्र, र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आह्वान गरे। उनले विशेष गरी खेलकुद क्षेत्रमा पूर्वाधार विकासका लागि एनआरएनको सहयोग महत्वपूर्ण हुने बताए। मन्त्रीले राज्यले नीतिगत र कानुनी सुधार गर्दै लगानीका लागि सहजरुपमा व्यवस्था गरिरहेको जानकारी गराए। उहाँले निकट भविष्यमा एनआरएनका तहबाट खेलकुद सद्भावना दूत नियुक्त गर्ने योजना रहेको पनि खुलासा गरे।
सत्रमा पूर्व कानुनमन्त्री एवं एमाले नेता पदम गिरीले युवाहरूलाई राष्ट्र निर्माणमा जोड्न राज्यको तत्परता देखाउनुपर्ने र युवा नीति छिटो ल्याउनुपर्नेमा जोड दिए। प्रवासी युवाहरूले हासिल गरेको ज्ञान, सीप, र पुँजी भित्र्याउन वातावरण बनाउनु राज्यको जिम्मेवारी भएको र यसमा थिंक ट्यांकहरूको संलग्नता अनिवार्य रहेको बताए।
नेपाली कांग्रेस नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पर्यटन प्रवर्द्धनका लागि नेपालमा ठुलो सम्भावना रहेको र बुद्ध तथा सगरमाथाका देशको रुपमा नेपाललाई विश्वभर चिनाउन आह्वान गरे। कार्कीले देशको विकासमा प्रवासी युवाहरूको सहभागिता र योगदानलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले प्रवासी युवाहरूसँग सशक्त सम्बन्ध राखेर, उनीहरूको सीप, ज्ञान, र पुँजीलाई मातृभूमिको विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिए। एनआरएन युवा उपाध्यक्ष रोशन थापाले युवाहरूको केवल भोट र नोटको अपेक्षा नगरी उनीहरूको योगदानलाई देशको विकासका लागि उपयोग गर्नुपर्ने बताए।
समारोहमा प्यारा ओलम्पिक पदक विजेता पलेशा गोवर्धन, कराँते रजत पदक विजेता एरिका गुरुङ, र स्वर्ण पदक विजेता एनोज महर्जनलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो।