भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौं। नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान पक्का गरेको छ।
रोमाञ्चक र तनावपूर्ण सेमिफाइनल भिडन्तमा निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो ।
अब नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। खेलको सुरुवातमै भारतले आक्रामक शैली अपनाउँदै नेपाललाई दबाबमा राख्यो।
खेलको पहिलो १५ मिनेट भारतले लगातार आक्रमण गर्दै नेपाललाई आफ्नो डिफेन्स बलियो बनाइराख्न बाध्य पार्यो। कप्तान एन्जिला तुम्बापो सुब्बाले महत्त्वपूर्ण बचाउहरू गर्दै नेपाललाई खेलमा टिकाइन्। नेपालले खेलको दौरान केही अवसरहरू सिर्जना गरे पनि पहिलो हाफमा गोल गर्न सकेन।
दोस्रो हाफ निकै तनावपूर्ण रह्यो। खेलको ५०औं मिनेटमा नेपालकी रेखा पौडेलले दोस्रो पहेंलो कार्ड पाएर रातो कार्डका साथ मैदानबाट बाहिरिइन्। यो निर्णयपछि दर्शकहरूले असन्तुष्टि जनाउँदै मैदानमा बोतल फाल्न थाले, जसका कारण खेल झन्डै १३ मिनेटसम्म रोकियो।
खेल पुनः सुरु भएपछि भारतले खेलमा अग्रता लियो। ७१औं मिनेटमा भारतकी संगीता बासफोरले उत्कृष्ट भली प्रहार गर्दै गोल गरिन् र भारतले १-० को अग्रता बनायो। तर, खेल अझ रोचक बन्यो जब नेपालकी प्रीति राईले तुरुन्तै किकअफबाट गोल गरिन्। सुरुवातमा रेफ्रीले गोलको मान्यता दिए पनि भारतले रेफ्रीलाई पुनरवलोकनका लागि आग्रह गरेपछि उक्त गोल रद्द गरियो।
प्रीतिको गोल विवादास्पद रूपमा रद्द गरिएपछि दर्शक र खेलाडीहरूबीच तनाव उत्पन्न भयो। समर्थकहरूले असन्तुष्टि जनाउँदै फेरि मैदानमा बोतल फाल्न थाले, जसका कारण खेल झन्डै १ घण्टासम्म रोकियो।
रेफ्री एसेसर भारतकी मारिया रेबेलो र म्याच कमिस्नर भुटानका मिन्दु दोर्जीले रेफ्रीसँग छलफल गरे। नेपालले गोल मान्यता नदिए खेल नमान्ने जनायो भने भारतले नियम अनुसार गोल रद्द हुनु पर्ने भनाइ राख्यो। लामो विवाद ६८ मिनेटपछि खेल पुनः सुरु भयो।
खेल पुनः सुरु भएको केही मिनेटमै नेपालले बराबरी गोल गर्यो। नेपालकी सावित्रा भण्डारीले खेलको एक मिनेट भित्रै उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन्। यो गोलले नेपाली समर्थकहरूलाई पुनः उत्साहित बनायो।
निर्धारित समय सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो। टाइब्रेकरमा नेपालका चार खेलाडीले लगातार गोल गर्दै नेपाललाई ४-२ को जीत दिलाए। भारतका दुई खेलाडीको प्रहार नेपालका गोलकिपर अन्जना रानाले सफलतापूर्वक रोकिन्। साम्बा, गीता राना, सविता, र अन्त्यमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई फाइनलमा पुर्याए।
यस जितसँगै नेपाल अब साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपाली टिम र समर्थकहरूलाई यो जितले ऐतिहासिक अवसरमा पुर्याएको छ, र अब नेपाल पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने आशामा छ।