गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक
काठमाडौं। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीहरू नेपालका अवैतानिक राजदूत भएको बताएका छन्। बद्री केसी समूहको गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपालीहरूले नेपालको राष्ट्रियतालाई बलियो बनाएको बताए।
उनले भने, “नेपालका लागि केही गर्न उद्देश्य राख्नु भएको छ। जुन देशको नागरिक भए पनि आफूलाई नेपाली भनेर गर्वका साथ चिनाउनु भएको छ। गैरआवासीय नेपालीहरू अवैतानिक राजदूत हुनुहुन्छ। तपाईंहरू रहेका देशमा तपाईंहरूको अनुहार र व्यवहारमा नेपाल झल्किन्छ। तपाईंहरूले संसारभर नेपालको राष्ट्रियतालाई बलियो बनाउनु भएको छ।”
गृहमन्त्री लेखकले गैरआवासीय नेपालीहरूको उद्देश्य नेपालकाे आर्थिक उन्नति भएको भन्दै संसारभर नेपालीहरूले उत्कृष्ट काम गरिरहेको उल्लेख गरे। उनले थपे, “त्यो उत्कृष्टता नेपालका लागि पनि उपयोगी हुनुपर्छ। तपाईंहरूको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ। त्यसका लागि हामी वातावरण बनाउन लागिरहेका छौं।”
यस्तै, गैरआवासीय नेपालीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकारले कानुन संशोधनको तयारी गरिरहेको गृहमन्त्रीले जानकारी दिए। उनले भने, “तपाईंहरू पनि त्यसरी नै आउनुहोस्। कानुन संशोधनका लागि हामी गृहकार्य गरिरहेका छौं। तपाईंहरू पनि तयार भएर आउनुहोस्।”
लोकतन्त्र अनुशासनको पद्धति भएको र यो अराजकता नभएको उल्लेख गर्दै गृहमन्त्रीले लोकतन्त्रको सही अर्थ बुझ्नुपर्नेमा जोड दिए।