केसी समूहको एनआरएन ग्लोबल कन्क्लेभको तयारी पूरा
काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को डा. बद्री केसी समुहले आयोजना गरेको एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभाको तयारी पूरा भएको छ ।
आइतबार र सोमबार काठमाडौंको होटल सोल्टीमा हुन लागेको कार्यक्रमको तयारी सकिएको केसी समूहका प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ मूल नारासहित मनाउन लागिएको गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल गरिने उनले जनाएका छन् ।
‘गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।
कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पक्का भएको छ । कार्यक्रमको उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको प्रचार गरिएपछि आरके शर्मा पक्षले व्यापक विरोध जनाउँदै आएको छ । तर, प्रधानमन्त्रीको सचिवालयले आइतबारको प्रस्तावित कार्यक्रममा विहान १० बजे एनआरएनए स्थापना दिवस होटल सोल्टीमा जाने उल्लेख छ ।