ट्रम्प र जेडी भान्सको फोन ह्याक गर्ने प्रयास
पेन्सिल्भेनिया । न्युयोर्क टाइम्सका अनुसार चीन सरकारसँग सम्बन्धित ह्याकरहरूले अमेरिकी टेलिकम्युनिकेसन नेटवर्कमा ठुलो ह्याक प्रयास गर्दै रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र उपराष्ट्रपति उम्मेदवार जेडी भान्सको फोनलाई लक्षित गरेका छन्।
फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) र साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीआईएसए) का अनुसार चिनियाँ ह्याकरहरूले अमेरिकी टेलिकम्युनिकेसन कम्पनीहरूको नेटवर्कमा अवैध पहुँच राखेको पुष्टि भएको छ। यसमा ट्रम्प अभियानलाई विशेष रूपमा सूचित नगरे पनि ह्याकरहरूको लक्ष्यमा विभिन्न सरकारी अधिकारीहरू समेत रहेको रिपोर्ट गरिएको छ।
एफबीआई रसीआईएसएले सुरक्षामा कमजोर पाइएका कम्पनीहरूलाई जानकारी गराउँदै अन्य सम्भावित प्रभावितहरूलाई सहयोग र जानकारी साटासाट गरेको बताएको छ।
ट्रम्प अभियानले यसबारेमा प्रत्यक्ष टिप्पणी नगरे पनि ट्रम्पका प्रवक्ताले ह्वाइट हाउस र प्रतिस्पर्धी कमला ह्यारिसलाई दोषी ठहराउँदै विदेशी शत्रुले अभियानलाई निशाना बनाउन सफल भएकोमा आलोचना गरेका छन्।
गत महिना वाल स्ट्रिट जर्नलले प्रकाशित रिपोर्टमा चिनियाँ सरकारसँग जोडिएका साइबर आक्रमणकारीहरूले एटी एन्ड टी, भेराइजन, र लुमेन टेक्नोलोजीका प्रणालीहरूमा पहुँच बनाएको, र यसबाट राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाहरू खोज्ने सम्भावना रहेको बताइएको थियो।
यसअघि, ट्रम्प अभियानले इरानी ह्याकरहरूले आन्तरिक दस्तावेजहरू चोरेको खुलासा गरेको थियो। यसै वर्षको सेप्टेम्बरमा अमेरिकी न्याय विभागले ट्रम्पको अभियानलाई ह्याक गर्न संलग्न रहेको आरोपमा इरानको रिभोलुसनरी गार्डका तीन सदस्यविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको थियो।
हाल चुनावको मिति नजिकिँदै गर्दा ट्रम्प र कमला ह्यारिसबीचको प्रतिस्पर्धा निकै कडा रहेको छ।