क्यानडामा विदेशीलाई एक्सप्रेस इन्ट्री खुला

काठमाडौं। क्यानडामा स्थायी बसोवास गर्न चाहने विदेशीहरूका लागि क्यानडा सरकारले पुन: आवेदन आह्वान गरेको छ।
प्रधानमन्त्री जस्टिन ट्रुडोको नेतृत्वमा रहेको सरकारले क्यानडाको आप्रवासन, शरणार्थी, र नागरिकता विभाग (आईआरसीसी) मार्फत एक्सप्रेस इन्ट्री प्रणाली खोलेको हो।
यो आह्वान अक्टोबर १०, २०२४ बाट सुरु भएको हो, जसअन्तर्गत विदेशीहरूले फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास, र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन दिन सक्नेछन्।
फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, यस पटक १,००० जना विदेशीहरूलाई स्थायी बसोवासको अवसर प्रदान गरिनेछ।
रिपोर्टअनुसार, सबैभन्दा कम सीआरएस (कम्प्रिहेन्सिभ र्याङ्किङ सिस्टम) स्कोर ४४४ भएको आवेदकलाई पनि चयन गरिएको छ। यस पटक फ्रान्सेली भाषा जान्नेहरूलाई बढी प्राथमिकता दिइएको छ ।
एक्सप्रेस इन्ट्री प्रणालीमा सहभागी हुनका लागि, आवेदकहरूले स्वीकृत भाषा परीक्षा उत्तीर्ण गर्नुपर्नेछ र आफ्नो कार्यक्रमका लागि आवश्यक न्यूनतम अंक हासिल गर्नुपर्नेछ।
आवेदन फारम भर्दा, आवेदकले अंग्रेजी वा फ्रान्सेली भाषाको ज्ञान प्रमाणित गर्नुपर्ने हुन्छ।
आईएलसीबी र एनसीएलसी बेञ्चमार्क प्रयोग गरी आवेदकहरूको अंग्रेजी वा फ्रान्सेली भाषाको स्तर मापन गरिन्छ।
क्यानडा सरकारले एक्सप्रेस इन्ट्री प्रणालीमार्फत हरेक दुई हप्तामा नयाँ आवेदकहरू छनोट गर्ने गर्छ। पछिल्लो पटक, प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) अन्तर्गत अक्टोबर ७, २०२४ मा १,६१३ आवेदकलाई आवेदन दिन निमन्त्रणा गरिएको थियो।
पीएनपी के हो?
प्रान्तीय नामांकन कार्यक्रम मार्फत अन्य देशका नागरिकहरूले क्यानडाका विभिन्न प्रान्तमा स्थायी रूपमा बसोबास गर्न सक्ने अवसर पाउँछन्। उनीहरूले त्यहाँ काम गर्न, पढ्न र आफ्नो परिवारसँग बस्न सक्नेछन्।
प्रत्येक प्रान्तले आफ्नो आवश्यकताअनुसार विदेशी कामदारहरूलाई छनोट गर्छ। उदाहरणका लागि, कुनै प्रान्तलाई इन्जिनियरको आवश्यकता पर्छ भने अर्को प्रान्तलाई नर्सहरूको।
पीएनपी मार्फत क्यानडा आउने व्यक्तिहरूले स्थायी बसोबासको सुविधा पाउँछन्, जसले उनीहरूलाई क्यानडामा लामो समयसम्म बस्न र आफ्नो परिवारलाई ल्याउन अनुमति दिन्छ।
यसले क्यानडाको अर्थतन्त्रलाई बलियो बनाउनुका साथै दक्ष कामदारको अभावलाई पूरा गर्न मद्दत गर्छ, जसले विदेशी कामदारहरूलाई पनि उज्ज्वल भविष्य र राम्रो जीवनयापनको अवसर प्रदान गर्छ।