दसैँमा मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बिक्री
काठमाडौं। दसैँ पर्वका लागि मुस्ताङबाट करिब आठ हजार भेडाच्याङ्ग्रा विभिन्न जिल्लामा बिक्री भएका छन्। मुस्ताङका कृषकहरूले पालेका चार हजार आठ सय र डोल्पा तथा मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङ्ग्रा विभिन्न सहर र जिल्लामा पठाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जानकारी दिएको छ।
केन्द्रका प्रमुख पशु चिकित्सक लालमणी अर्यालका अनुसार यसपालि भेडाच्याङ्ग्राको उत्पादन बढेकाले बिक्रीमा पनि वृद्धि भएको छ। अर्यालले भन्नुभयो, “घटस्थापनादेखि सुरु भएको भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण र बजारमा पठाउने काम मङ्गलबार सम्पन्न भएको हो।” किसानहरूले तौलअनुसार प्रतिगोटा रु २८ हजारदेखि ३७ हजार सम्मको मूल्यमा च्याङ्ग्रा बिक्री गरेका छन्।
यसपालि मुस्ताङ, डोल्पा र मुगुका कृषकहरूले करिब रु २६ करोड ४० लाख बराबरको भेडाच्याङ्ग्रा बिक्री गरेका छन्। पाँच सय भेडा (च्यालु) र सात हजार पाँच सय च्याङ्ग्रा यसपालि बिक्री भएको छ। मुख्य रूपमा म्याग्दी, कास्की, पर्वत, बागलुङ र काठमाडौँजस्ता सहरमा हिमाली च्याङ्ग्राको मासु धेरै उपभोग गरिन्छ।
हिमाली क्षेत्रमा जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासुलाई पोषिलो र तागतिलो मानिन्छ। यसैले दसैँ-तिहारमा च्याङ्ग्राको मासुको माग बढी हुने गरेको छ।
व्यापारी टसी छेवाङ गुरुङका अनुसार, यसपालि गत वर्षको तुलनामा च्याङ्ग्राको मूल्य घटेकाले बिक्रीमा वृद्धि भएको हो। गत वर्ष प्रतिगोटा रु ४० हजारभन्दा बढीमा खरिद गरिएको च्याङ्ग्रा यसपालि रु ३० देखि ३३ हजारमा किसानबाट खरिद गरिएको बताइएको छ। गत वर्षको तुलनामा यसपालि काठमाडौँ र पोखरामा प्रतिगोटा रु ४५ हजारभन्दा कममा च्याङ्ग्रा बिक्री भएको छ।
मुस्ताङको बारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड, र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएको छ। यस क्षेत्रमा च्याङ्ग्रापालन किसानहरूको मुख्य आयस्रोत रहेको कृषक डिण्डुप गुरुङले बताए।
विगतको तथ्यांकअनुसार, विसं २०७६ अघि मुस्ताङबाट वार्षिक २० देखि २५ हजार भेडाच्याङ्ग्रा निकासी हुने गरेकोमा, पछिल्ला केही वर्षमा संख्या घट्दै गएको छ।