दसैं मान्न नेपाल आउँदै हुनुहुन्छ? ‘यो कुरा ख्याल गर्नुस् है’
काठमाडौं। नेपालीहरूको महान् चाड वडा दसैं सुरू भइसकेको छ। दसैं सुरु भएसँगै वर्षभरी देश विदेशमा भएकाहरू आफ्नो जन्मस्थल जानलाई लालायित हुने गर्छन्। शहर बजारमा भएकाहरू गाउँमा जाँदा नेपाली बजारमै किनेका कोसेली बोकेर जाने गरेकाले त्यस्तो केही फरक पर्दैन ।
तर, दुःख गरेर विदेशमा कमाइ गरेकाहरू घर परिवारका लागि अलि विलासी खालका समान ल्याउन खोज्दा त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलमा झमेलामा पर्ने गरेका हुन्छन्। सरकारले विभिन्न समयमा विदेशबाट फर्कनेहरूका लागि निर्देशिका नै जारी गर्दै के ल्याउन पाइने कति ल्याउन पाइने भनेर प्रष्टसँग भनेको हुन्छ ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किने यात्रुको चापमा उल्लेखनीय वृद्धि भएको छ। दसैंको अवसरमा विदेशमा बसोबास गरिरहेका नेपालीहरू खाली हात फर्कदैनन्। उनीहरूले आफ्ना परिवार, आफन्त र साथीभाइका लागि उपहार र सामाग्री लिएर आउँछन्। अर्थ मन्त्रालयले विदेशबाट फर्किने नेपालीका लागि सामान ल्याउने नियमहरू तय गरेको छ।
सामान ल्याउने नियमहरू
विदेशबाट फर्किने नेपालीहरूले निश्चित सामान भन्सार छुटमा ल्याउन पाउँछन्। तर, कुनै सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने अवस्था पनि हुन्छ। यो सन्दर्भमा अर्थ मन्त्रालयले धेरै सामान ल्याइँदा भन्सार कार्यालयले जफत गर्ने घटनाहरू पनि भएको बताएको छ।
तलका सामानहरू भन्सारमा छुट पाउँछन्:
– एक-एक थान ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, सेलुलर र पेन ड्राइभ।
– औषधि र उपचार गरि फर्केका बिरामीहरूले ल्याएका औषधिहरू।
– शारीरिक रूपमा अशक्त यात्रुहरूले प्रयोग गरेका सामानहरू, जस्तै ह्विलचियर र वैशाखी।
– लुगाफाटा, बरबिछ्यौना, पुराना घरका सामान।
– सुनको गहना ५० ग्राम, चाँदीको ५०० ग्राम र एक लाख रुपैयाँ मूल्यसम्मको गहना।
– सात किलोग्रामसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्म।
– सामान्य प्रकारका खेलकुदका सामान।
– बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल।
– ३२ इन्चको टेलिभिजन (श्रम भिसामा गएर ६ महिना बसेका व्यक्तिहरूका लागि) भन्सार लाग्दैन।
भन्सार तिर्नुपर्ने सामान
– घरायसी उपकरण, जस्तै मिक्सर, सिलाइ मेशिन, ग्यास टेबल, आदि।
– व्यवसायिक आवश्यकताका लागि दुई-दुई थान सामान।
– शरीरमा लगाउने सामान १५ थानसम्म।
– टेलिभिजन, म्यूजिक सिस्टम, रेफ्रिजरेटर, आदि।
चुरोट र सिगारका लागि पनि भन्सार शुल्क तिर्नुपर्छ। चुरोट २०० खिल्ली र सिगार ५० खिल्लीसम्म ल्याउँदा ४० प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था छ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार, वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूले वार्षिक दुई खर्बभन्दा बढीको सामान ल्याउने गरेका छन्। चाडपर्वको समयमा नेपाल फर्कने युवा हातमा कम्तिमा चार-पाँच प्रकारका उपहार र नगद लिएर आउँछन्। दसैं र तिहारका अवसरमा सात-आठ लाख नेपाली स्वदेश फर्किन्छन्।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार, सरकारले स्वदेश फर्किने कामदारका लागि स्पष्ट निर्देशिका जारी गरेको छ र एयरपोर्टमा चेक गरिनु पर्ने सामानको बारेमा सूचित गरिरहेको छ।