छतमा यात्रु चढाएमा गाडीलाई २० हजार जरिवाना
काठमाडौं। धादिङ जिल्लामा छतमा यात्रु बोकेर जोखिमपूर्ण यात्रा गराउने रातो नम्बर प्लेटका सवारीसाधनहरूलाई जिल्ला प्रशासन कार्यालयले कडा कारबाही गर्न थालेको छ।
यस अन्तर्गत, खाद्यान्न र अन्य सामानले भरिएको जिपहरूमा अत्यधिक यात्रु बोक्ने क्रम बढेपछि प्रशासनले ती सवारीहरूलाई रोकी जरिवाना गरेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले अब कारबाही थालिएको जानकारी दिए।
जोखिमपूर्ण रूपमा यात्रु ओसारपसार गर्ने सवारीसाधनहरूलाई २० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ।
धादिङबेंसीबाट ग्रामीण भेगतर्फ जाँदै गरेका जिपहरूलाई बीच बाटोमै रोकी यात्रु ओरालेर नियन्त्रणमा लिइएको छ। दुई बोलेरो जिपलाई क्षमताभन्दा धेरै यात्रु बोक्दै गरेको पाइएपछि २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ।