इरानको तेल साइटमा आक्रमण नगर्न राष्ट्रपति बाइडेनको चेतावनी
वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरूमा आक्रमण नगर्न चेतावनी दिँदै यस क्षेत्रको तनावलाई अझ चर्काउने कदमबाट जोगिन सल्लाह दिएका छन्। ह्वाइट हाउसमा आयोजित आकस्मिक ब्रीफिंगमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानको पछिल्लो मिसाइल आक्रमणको प्रतिशोध लिँदा तेल साइटहरूमा आक्रमण गर्नु इजरायलका लागि दीर्घकालीन रूपमा फाइदाजनक नहुने र यसले मध्यपूर्वमा ठूलो युद्ध निम्त्याउन सक्ने बताएका हुन्।
बाइडेनले इजरायलले यस विषयमा आफ्नो निर्णय लिँदा अमेरिकी समर्थन र सहकार्यको महत्त्वलाई स्मरण गर्नुपर्नेमा जोड दिए। उनले इरानी तेल साइटमा आक्रमण गर्नुको सट्टा अन्य विकल्पहरूको बारेमा सोच्न इजरायललाई सुझाव दिए। “यदि म इजरायलको स्थानमा हुन्थे भने, म तेल साइटमा आक्रमण गर्ने बाहेकका विकल्पहरूबारे सोच्थे,” बाइडेनले सञ्चारकर्मीहरूलाई भने।
इरानले इजरायलमाथि गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणपछि इजरायली नेतृत्वले प्रतिशोधको योजना बनाइरहे पनि इजरायलले कस्तो कदम चाल्ने भन्ने निर्णय गर्न बाँकी रहेको बताइएको छ। इजरायल र इरानबीचको तनावले मध्यपूर्वको स्थायित्वमाथि गम्भीर असर पार्न सक्ने भएकाले बाइडेन प्रशासनले सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ।
बाइडेनको यो चेतावनीको प्रभावले तेल बजारमा हलचल ल्याएको छ। बाइडेनले बिहीबार इरानी तेल साइटहरूमा इजरायली आक्रमणको सम्भावनाबारे सार्वजनिक रूपमा कुरा गरेपछि तेलको मूल्य बढ्न थालेको थियो। तेलको मूल्यवृद्धि अमेरिकामा पनि असर पार्ने भएकाले आगामी राष्ट्रपतिय निर्वाचनको सन्दर्भमा यसले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको चुनावी रणनीतिमा चुनौती थप्न सक्छ।
यसैबीच, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो विषयलाई लिएर बाइडेनलाई आलोचना गरेका छन्। उत्तरी क्यारोलिनामा चुनावी प्रचारका क्रममा ट्रम्पले इरानप्रति बाइडेनको धारणा कमजोर भएको भन्दै आफ्नो सम्भावित इजरायली आक्रमणसम्बन्धी दृष्टिकोणलाई अझ चर्को बनाएका छन्। ट्रम्पले इरानको आणविक कार्यक्रमलाई रोक्न इजरायलले थप आक्रमक कदम चाल्नुपर्ने तर्क गर्दै बाइडेनलाई यस मामिलामा नीतिगत कमजोरी देखाएको आरोप द।
मध्यपूर्वमा जारी तनावका बीच इरान र इजरायलबीचको बढ्दो विवादले अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा नयाँ चुनौती खडा गरिरहेको छ। इरानले इजरायलमाथिको मिसाइल आक्रमणलाई आफ्नो सुरक्षा उपायको रूपमा देखाइरहे पनि इजरायली पक्षले यसको प्रतिकार गर्ने तयारी गरिरहेको छ। यता, बाइडेन प्रशासन भने सशस्त्र संघर्ष रोक्न र कूटनीतिक समाधानको बाटो खोज्नका लागि प्रयासरत देखिन्छ।