मेलानिया ट्रम्पले गर्भपतन अधिकारको समर्थन गरिन् !
अमेरिकाका पूर्व प्रथम महिला मेलानिया ट्रम्पले आफ्नो नयाँ पुस्तक मेलेनियामा गर्भपतनको अधिकारको समर्थन गरेकी छन्। उनले लेखेकी छन् कि सरकारले महिलाहरूको गर्भपतनको निर्णयमा हस्तक्षेप गर्न नपाउने र महिलाहरूलाई यो अधिकार स्वतन्त्र रूपमा दिनुपर्ने उल्लेख छ।
द गार्डियनको एक विशेष रिपोर्ट अनुसार, मेलानिया ट्रम्पले लेखेकी छन्, “महिलाहरूलाई आफ्नो इच्छा अनुसार बच्चा जन्माउने वा नगर्ने निर्णय स्वतन्त्र रूपमा गर्न पाउनुपर्छ, जसमा सरकारको कुनै हस्तक्षेप हुनु हुँदैन।”
मेलानियाको यो विचार उनका श्रीमान्, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विचारसँग विपरीत देखिएको छ। डोनाल्ड ट्रम्पले गर्भपातको अधिकारलाई हटाएकोमा गर्व गर्दै आफुलाई “इतिहासकै सबैभन्दा प्रोलाइफ राष्ट्रपति” बताउँदै आएका छन्।
गर्भपात २०२४ को चुनावी मुद्दामा प्रमुख विषय बनेको छ।
मेलानियाले थप लेखेकी छन्, “कसैले पनि महिलाको शरीरमा के गर्नुपर्छ भन्ने निर्णय गर्न सक्दैन। महिलाहरूको व्यक्तिगत स्वतन्त्रताको अधिकारले उनलाई गर्भपातको निर्णय गर्ने स्वतन्त्रता दिन्छ।”
मेलानिया ट्रम्पको पुस्तक मेलेनिया अक्टोबर ८ मा सार्वजनिक हुँदैछ।
डोनाल्ड ट्रम्पले भने हालै गर्भपातको मुद्दामा विविध विचारहरू व्यक्त गरेका छन्। उनले फेब्रुअरीमा १५ हप्ताको गर्भपात प्रतिबन्धको समर्थन गरेका थिए भने पछिल्लो पटक भने यस्तो निर्णय राज्यहरूमा छोडिनुपर्ने बताएका थिए।