गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच के भयो छलफलमा?
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिहरूसँग बुधबार गृह मन्त्रालयमा छलफल गरेका छन्। यो छलफल बाढी, पहिरो, र डुवानजस्ता प्राकृतिक विपद्का कारण अवरुद्ध भएका राजमार्ग पुनःसञ्चालन गर्दै यात्रुलाई सहज र सुरक्षित यात्रा प्रदान गर्ने विषयमा केन्द्रित रहेको थियो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, छलफलमा विपद्बाट अवरुद्ध राजमार्गहरूको तत्काल पुनःसञ्चालन र चाडपर्वका बेला सुरक्षित यात्राको व्यवस्था मिलाउन सकारात्मक चर्चा भयो। विशेष गरी बीपी राजमार्ग अन्तर्गत रोशी क्षेत्रमा रहेका यातायात मजदुरहरूलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भयो।
गृहमन्त्री लेखकले विपद्बाट प्रभावित मजदुर र यात्रुलाई राहत प्रदान गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिए। उनले प्राकृतिक विपद्का कारण अवरुद्ध राजमार्गहरू खुलाउन सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय र अन्य सरोकारवालाहरूलाई सक्रिय गराइसकेको जानकारी गराए।
“पृथ्वी राजमार्ग लगायतका पहिरो प्रभावित क्षेत्रहरूमा ट्राफिक प्रहरी र सुरक्षा बलको परिचालन भइरहेको छ,” उनले भने। चाडपर्वका बेला यात्रालाई सुरक्षित बनाउने उद्देश्यले गम्भीरतापूर्वक काम भइरहेको पनि उनले बताए।
यातायात व्यवसायीहरूले सवारी चेकजाँच र अन्य समस्याका विषयमा पनि गृहमन्त्रीलाई आफ्ना धारणा राखेका थिए। गृहमन्त्रीले चाँडै समस्याहरू समाधान गर्न र अवरुद्ध राजमार्गहरूलाई तत्काल पुनःसञ्चालन गर्ने प्रतिवद्धता जनाए।