राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न भागहरूमा बाढी, पहिरो र डुवानका कारण प्रभावित भएका नागरिकहरूको सहयोगार्थ आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।
उनले यो रकम बाढीपहिरो पीडितहरूको राहतका लागि स्थापना गरिएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा प्रदान गर्ने निर्णय गरेका हुन्।
यस निर्णयसँगै राष्ट्रपति पौडेलले विपद् पीडितहरूको सहयोगमा आफ्नो व्यक्तिगत सहभागिता जनाउँदै दैवीप्रकोपबाट पर्न गएको क्षतिको सामना गर्न राष्ट्रियस्तरमा एकजुट भएर सहयोग गर्नुपर्ने सन्देश पनि दिएका छन्।
बाढी, पहिरो, र डुवानका कारण विस्थापित तथा प्रभावित परिवारहरूको पुनर्स्थापना र आपत्कालीन राहतको लागि यस कदमलाई महत्वपूर्ण मानिएको छ।
राष्ट्रपतिबाट सुरु भएको यो परोपकारी कदममा उनका विज्ञ सल्लाहकारहरू पनि सहभागी भएका छन्।
राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएअनुसार, उनका सल्लाहकारहरूले आफ्नो एक हप्ताको तलबसमेत सोही राहतकोषमा प्रदान गर्ने निर्णय गरेका छन्। यो सामूहिक कदमलाई राहतका लागि चलाइएको सरकारी र गैरसरकारी प्रयासहरूको साथसाथै पीडितहरूलाई तत्काल राहत पुर्याउने कार्यमा ठुलो योगदानको रूपमा हेरिएको छ।
हालैको समयमा देशका विभिन्न भूभागहरूमा आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ।