नेपालमा सोमबार साँझदेखि मौसममा सुधार आउने
काठमाडौं। देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ, र आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। मधेश, कोशी, र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको सम्भावना रहेकोले सचेत रहन महाशाखाले चेतावनी जारी गरेको छ।
महाशाखाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, र नदी नालामा पानीको सतह बढ्ने जोखिमले प्रभावित हुने भन्दै सतर्क रहन आग्रह गरेको छ। नदी क्षेत्र आसपासका निर्माण कार्य, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदलीको सम्भावना छ।
सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।