वैदेशिक लगानी बारे मुख्यमन्त्री र मा पदाधिकारी बिच संवाद
पेन्सिल्भेनिया/ मधेश प्रदेशका मुख्य मन्त्री सतिस सिंह र मधेशी एसोसिएसन इन अमेरिका (मा) का पदाधिकारी बिच मधेशको विकाश र वैदेशिक लगानी बारे गति शनिवार संवाद भएको छ।
‘मा’ अमेरिकामा रहेका मधेशीहरुको संगठन हो। संवाद भर्चुअल मार्फत भएको थियो।
मा का अध्यक्ष डा संगित रौनियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मा का केन्द्रीय वरिष्ठ उपाध्यक्ष मनोज सिंहले गरेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै मा अध्यक्ष डा. रौनियारले कार्यक्रमको औचित्यबारे प्रस्टाएका थिए। ‘कार्यक्रमको मुख्य उद्देश्य मधेश प्रदेशका विकासका योजनाहरू, यसमा विदेशमा रहेका मधेशीहरुबाट अपेक्षा गरिएको भूमिका, वैदेशिक लगानीका अवसरहरूको जानकारी हो।’ अध्यक्ष डा. रौनियारले भने।
कार्यक्रम सञ्चालन मनोज सिंहले मुख्यमन्त्री समक्ष विभिन्न प्रश्नहरू गर्दै कार्यक्रमलाई अगाडी बढाएका थिए।
मुख्यमन्त्रीज्यू सिंहले अहिलेका मधेश प्रदेश सरकारले विदेशमा बसेकाहरूले पनि लगानी गर्न मिल्ने रोजगार मूलक व्यवसायहरूको सुरुवातको लागि योजना बनाइरहेको बताए।
‘यसले मधेश प्रदेशमा रोजगारी पनि श्रृजना हुने र विदेशमा सिकेका सिपहरू आफ्नै देशमा सदुपयोग गर्न सक्ने वातावरण बन्छ।’ संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले भने।
मुख्यमन्त्रीले लगानी सम्मेलन पनि गरिने बताए। उनले मधेशको विकासका लागि ‘सीता सर्किट’ लगायत अन्य धार्मिक र पर्यटन स्थलहरूमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने बताए।
मुख्यमन्त्री सिंहले मदेश प्रदेशमा उत्पादित बस्तुलाई विदेश निर्यात गर्न पनि आवश्यक छलफल भइरहेको बताए। उनले विदेशमा रहेकाहरूलाई आफूलाई भएको दक्षताका बारेमा प्रदेश सरकारलाई सल्लाह दिन पनि आग्रह गरे।
उनले प्रदेश सरकारलाई अझ अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए। मुख्यमन्त्री सिंहले संघीय सरकार सँग सहकार्यमा योजनाहरू कार्यान्वयन गरिने पनि बताए।
मुख्यमन्त्रीले माले आयोजना गरेका यस्ता यस कार्यक्रमले मधेश प्रदेश बारे महत्त्वपूर्ण जानकारीहरू जनताले पाएको भन्दै यस्ता कार्यक्रम ल्याएकोमा माको प्रशंसा गरेका थिए।