प्रवासमा बस्ने नेपालीहरुलाई पहिचान नबिर्सन आग्रह
सिड्नी, अष्ट्रेलिया। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभागका प्रमुख किरण पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो पहिचान नबिर्सनको लागि आग्रह गरेका छन्।
उनले अष्ट्रेलिया भ्रमणका क्रममा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाद्वारा आयोजित कार्यक्रममा बोल्दै मातृभूमीप्रतिको प्रेम र सम्पत्तिको संरक्षणमा जोड दिनु आवश्यक रहेको बताएका छन्।
पौडेलले विशेष गरी नेपालमा भएको जग्गा जमीनको बिक्रीविक्रीमा ध्यान दिनुपर्ने बताएका छन्। उनले भने, “नेपालमा भएको जग्गाजमीन कसैलाई कमाउन दिनुहोला। घर संरक्षण गर्नुहोस्, तर बेच्ने काम नगर्नुहोस्।”
उनले प्रवासमा बस्ने नेपालीहरुले आफ्नो पहिचान विर्सने खतरा रहेको बताएका छन्। उनले यो कुरामा जोड दिंदै भने, “हामीले मातृभूमीमा रहेका सम्पत्तिहरुको संरक्षण गर्नुपर्छ र भावी पुस्तालाई मातृभूमीप्रति आकर्षित गराउन मद्दत गर्नुपर्छ।” पौडेलको भनाइ अनुसार, नेपालीको पहिचान र सम्पत्ति जोगाउने कार्यले मात्र भविष्यमा नेपाली समाजको विकासमा योगदान पुर्याउनेछ।
पौडेलले जनसम्पर्क समितिहरुको अधिवेशनको तयारीमा पनि ध्यान दिएको उल्लेख गर्दै भने, “मैले विभागीय प्रमुखको जिम्मेवारी पाएपछि जनसम्पर्क समितिको अधिवेशन गराउने दिशामा अघि बढिरहेको छु।”
उनले केन्द्रीय समितिले अधिवेशनका सवालमा निर्णय गरिसकेको र सोही निर्णयलाई आधार मानेर सबै देशका जनसम्पर्क समितिका साथीहरु अघि बढ्नुपर्ने कुरामा जोड दिए।