नर्थ क्यारोलिनामा कविगोष्ठी सम्पन्न
कृष्णराज खनाल
नर्थ क्यारोलिना । नर्थ क्यारोलिनास्थित नेपालीहरुको साहित्यप्रतिको रुचि पुन जागृत भएको छ । लामो समय पश्चात् साहित्यप्रेमीहरुले एकै थलोमा भेला भएर आफ्नो रचना वाचन र श्रवण गर्ने काम गरे ।
अनेसास, नर्थ क्यारोलिना नेपाली साहित्य समाजले शनिवार साँझ आयोजना गरेको कवि गोष्ठीमा करिब एक दर्जन कवि कवयित्रीहरुले समसामयिक विषयमा आआफ्नो रचना वाचन गरे ।
कविता वाचन गर्नेमा चन्द्रमणि गुरागाईँ, डा.ऋषि वस्ताकोटी, उपन्यासकार निलम कार्की निहारिका, पारु तिमिल्सिना, पेशल पोखरेल, कृष्णराज खनाल, नम्रता गुरागाई, शिखर दुलाल र प्रभा पोखरेल आदि थिए।
सो अवसरमा साहित्यप्रति अभिरुचि राख्ने डा.हरिहर भट्टराई, अच्युत प्रसाद शर्मा, विक्रम गौतम, मीना शर्मा, भक्त पोखरेल, वटुकृष्ण कुइँकेलको उपस्थिति थियो ।
त्यस अवसरमा साहित्यकार तोया गरुङको साहित्यिक चिनारी दिइएको थियो । ७७ वर्षीया साहित्यकार तोयाका सूर्यदह, धूपी, देवल घुमेपछि, तोया गुरुङका लामा कविता, पुनरावती आदि कृति प्रकाशित छन् ।
उनका तत्कालीन नेराप्रप्रको पहिलो महिला सदस्य रहेका र उनले आधा दर्जन जति प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको पनि चर्चा गरिएको थियो ।
सोही कविगोष्ठीमा उपन्यासकार निलम कार्की निहारिकाले ऐतिहासिक उपन्यास राजमाता को प्रकाशन अन्तिम चरणमा पुगेको जानकारी पनि दिइन। उपन्यासमा राजमाताको भूमिकाको खोजी छ । लगभग छ महिनाभित्र उपन्यास बजारमा आउने छ ।