यस वर्ष संविधान दिवसमा कैद माफी भएन
काठमाडौं। यस वर्ष संविधान दिवसको अवसरमा कुनै कैदीको कैद माफी भएन। विगतमा संविधान दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता विशेष अवसरहरूमा कैदीहरूको कैद माफी दिने परम्परा रहे पनि यो पटक राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासोका कारण कैद माफीसम्बन्धी कुनै निर्णय नभएको पुष्टि भएको छ।
स्रोतका अनुसार, कारागार व्यवस्थापन विभागले असल चालचलनका आधारमा कैदीहरूको माफीका लागि गृह मन्त्रालय हुँदै राष्ट्रपति कार्यालयमा दुई चरणमा सूची प्रस्ताव गरेको थियो। तर, राष्ट्रपति कार्यालय शीतल निवासले गृहमन्त्री र विभागका महानिर्देशकसहित सरोकारवालाहरूको छलफलमा कानुनी अड्चन र विवादका विषयमा गम्भीर प्रश्न उठाएको थियो। त्यसपछि उक्त प्रस्ताव अघि नबढेको बताइएको छ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार, यस वर्ष कुनै कैदीको माफी मिनाहा नहुने निश्चित भएको हो। विगतमा विवादास्पद माफीका घटनाहरूले राष्ट्रपति कार्यालयलाई सतर्क बनाएको छ। उदाहरणका लागि, कांग्रेस नेता योगप्रसाद ढकालको हत्याको सजायबाट पाएको माफी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि राष्ट्रपति कार्यालयले चासो बढाएको थियो।
कारागार व्यवस्थापन विभागले यस पटक १,०९३ कैदीको नाम माफी मिनाहाका लागि पठाएको थियो। तर, सूचीमा केही विवादास्पद व्यक्तिहरूको नाम समेटिएपछि राष्ट्रपति कार्यालयले यस विषयमा सकारात्मक निर्णय गर्न असमर्थ भएको देखिएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले माफी मिनाहाका लागि कार्यालयमा अहिलेसम्म आधिकारिक प्रस्ताव नआएको र अरू जानकारी गृह मन्त्रालयलाई थाहा हुने बताए।