प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका
पेन्सिल्भेनिया। नेपाली कांग्रेसको समर्थनमा असार ३० मा प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो विदेश भ्रमण अमेरिका गर्ने भएका छन् । यसअघिल्ला कार्यकालमा छिमेकी देशको पहिलो भ्रमण गरेका ओलीले यस पटक भने सात समुन्द्र पारिको छिमेकी देश अमेरिकाको भ्रमण गर्न लागेका हुन्। अमेरिका भ्रमणमा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्वोधन गर्ने छन्। उनको भ्रमण तालिका मन्त्रिपरिषदबाट अनुमोदन भइसकेको छ।
प्रधानमन्त्री ओलीको ११ दिन न्यूयोर्क भ्रमण तय भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले महासभामा नेपालको प्रतिनिधित्व गर्नेछ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै नेपालका तर्फबाट विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूमा सम्बोधन गर्नेछन्। यसका साथै, उनले आगामी असोज ६ र ७ गते (सेप्टेम्बर २२–२३) हुने समिट अफ द फ्युचर मा पनि नेपालको तर्फबाट भाग लिने कार्यक्रम रहेको छ।
यो समिटमा विश्वका भविष्यका चुनौतीहरू, प्रविधि, जलवायु परिवर्तन, र शान्ति सुरक्षाका विषयमा विश्व नेताहरूलाई छलफल हुने छ। प्रधानमन्त्री ओलीले महासभामा नेपालले सामना गरिरहेका चुनौतीहरू, विकासका लक्ष्यहरू, जलवायु परिवर्तन र गरिबी निवारणमा नेपालको प्रयासबारे विश्वलाई जानकारी दिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली असोज ४ गते (सेप्टेम्बर २०) मा अमेरिका प्रस्थान गर्नेछन् भने असोज १५ गते (सेप्टेम्बर ३०) स्वदेश फर्किने तालिका रहेको छ। महासभाको औपचारिक कार्यक्रम भदौ २५ गते (सेप्टेम्बर १०) देखि सुरु भएर असोज १२ गते (सेप्टेम्बर २८) सम्म न्यूयोर्कमा सञ्चालन हुनेछ।
प्रधानमन्त्री ओलीसँगै एक उच्चस्तरीय प्रतिनिधि मण्डल पनि अमेरिका जानेछ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, यूएन तथा अन्तर्राष्ट्रिय संस्थाहरुको महाशाखा प्रमुख अमृतकुमार राई र प्रधानमन्त्रीका निजी चिकित्सक पनि समावेश छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार टोलीमा २०-२१ जना सहभागी हुने जनाएको छ। परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा भ्रमणको तालिका भने सार्वजनिक गरेको छैन ।
महासभामा जलवायु परिवर्तन, महामारीपछिको आर्थिक पुनरुत्थान, अन्तर्राष्ट्रिय सहयोग, गरिबी निवारण, र आप्रवासी अधिकार जस्ता मुद्दाहरू प्रमुख छलफलका विषय हुनेछन्। नेपालले लामो समयदेखि जलवायु परिवर्तनका असरहरू सामना गरिरहेको छ, विशेष गरी हिमाली क्षेत्रमा ग्लोबल वार्मिङका कारण हिमाल पग्लिने समस्या बढ्दै गएको छ। यसले हिमाली समुदायमा जीवनयापनमा गम्भीर असर पुर्याएको छ। ओलीले यस समस्याबारे विश्वका नेताहरूलाई अवगत गराउँदै समाधानका लागि नेपालले गरेको प्रयासबारे प्रकाश पार्ने सम्भावना छ।
प्रधानमन्त्री ओली यसअघि २०७५ असोजमा पनि संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट सम्बोधन गरिसकेका छन्। यो भ्रमण, उनले प्रधानमन्त्रीका रूपमा दोस्रो पटक महासभामा भाग लिन लागेको हो। उनी सन् २०७५ मा प्रधानमन्त्री हुँदा पनि न्यूयोर्क आएर महासभामा सम्बोधन गरेका थिए। तर, यो भ्रमण विशेष रुपमा महत्त्वपूर्ण छ किनभने पछिल्लो पटक गत असार ३० गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि उनको यो पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ।
नेपालले संयुक्त राष्ट्रसंघको मञ्चमा सधैं शान्ति, विकास, र विश्वव्यापी सहकार्यको पक्षपोषण गर्दै आएको छ। यस भ्रमणले नेपालले विश्वमा आफ्नो उपस्थिति झल्काउने र विश्वसामु आफ्ना धारणाहरू प्रष्ट रूपमा राख्न सघाउने अपेक्षा गरिएको छ। यसैगरी, नेपालका आन्तरिक मुद्दाहरू, विशेष गरी जलवायु परिवर्तन र आप्रवासीहरूका अधिकारबारे पनि प्रधानमन्त्री ओलीले जोड दिने सम्भावना छ। नेपाली नागरिकहरू विश्वका विभिन्न देशहरूमा कार्यरत छन्, र तिनीहरूको अधिकार सुरक्षामा नेपालले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको छ।
नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओलीले विश्वका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। यो भेटवार्तामा आपसी सहयोग, आर्थिक विकासका योजना, र नेपालको विकास प्रयासलाई अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न प्रधानमन्त्रीले छलफल गर्नेछन्।