नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयमा एक दिने वेबिनार सम्पन्न
पेन्सिल्भेनिया। अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्रद्वारा आयोजित एक दिने वेबिनार सेप्टेम्बर १४ तारिख सम्पन्न भएको छ। यस कार्यक्रममा नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपालको कला, संस्कृति र समाजसँग कसरी जोड्न सकिन्छ भन्ने चुनौती, अवसर, र विश्वव्यापी मान्यताहरूमा छलफल गरिएको थियो।
अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्रले आफ्नो स्थापना कालदेखि नेपालका नीतिगत तहमा सहयोग पुर्याउने किसिमका विभिन्न सेमिनार तथा अनुसन्धानात्मक कार्यक्रमहरू गर्दै आएको छ। यस वेबिनारमा नीतिगत अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत गरिनुका साथै समसामयिक विषयमा विभिन्न धारणाहरू राखिएका थिए।
वेबिनारमा वक्ताहरूले नेपाली डायस्पोराको दोस्रो पुस्ता नेपालसँग जोडिन चुनौतीपूर्ण भईरहेको तर्क गरे। विशेष गरी कानूनी संरचना अभाव, फरक सामाजिक परिवेशमा हुर्किएको पुस्ताका लागि नेपाल अपरिचित समाज बन्ने अवस्था, र नेपालमा अन्तर्राष्ट्रिय संवादको कमीले गर्दा दोस्रो पुस्ताका नेपालीहरूलाई असहज भईरहेको बताइएको थियो।
दैनिक जीवनसँग जोडिएका सेवा सुविधा पनि दोस्रो पुस्ताका लागि नेपालमा असहज रहेको विचार व्यक्त गरियो। उच्च शिक्षा अध्ययनका लागि विदेश जाने र फर्केर नआउने विद्यार्थीहरूको संख्यामा वृद्धि देखिएको सन्दर्भमा, डायस्पोराको दोस्रो पुस्ताको संख्या पनि बढ्दो रहेको थियो। अमेरिकामा रहेका दोस्रो पुस्ताका एक वक्ताले भने, “नेपाली डायस्पोराको दोस्रो पुस्ता न अमेरिकन बन्न सकेको छ, न नेपाली रहन सकेको छ,” जसका कारण पहिचानको समस्या देखा परेको हो।
वक्ताहरूले नव-प्रवर्तन, विकास र अनुसन्धानका लागि नेपाली डायस्पोरा र तिनका दोस्रो पुस्ताको उपयोग गर्नुपर्ने सुझाव दिए। दोस्रो पुस्तालाई नेपालसँग जोड्न शैक्षिक आदानप्रदान, स्वयंसेवक कार्यक्रम, मानव कल्याणकारी कार्य, र पर्यटन मार्फत अवसरहरू सिर्जना गर्न सकिने राय राखेका थिए।
नेपाली कला र संस्कृतिमा यस पुस्तालाई कला र कलाकारमार्फत जोड्न सकिने विचार पनि प्रस्तुत गरियो। साथै, डायस्पोराले आफ्नो सन्ततिलाई बहु-सांस्कृतिक, बहु-भाषिक र बहु-सामाजिक परिवेशमा हुर्काउनका लागि विभिन्न वैज्ञानिक उपायहरूको आवश्यकता रहेको बताइएको थियो।
कार्यक्रममा नेपाली दूतावास अमेरिकाका चार्ज डी अफेयर्स कुमार खरेल, शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा, लेखक प्रभास केसी, प्राध्यापक शोभा गुरुङ, प्राध्यापक स्थानेश्वर तिमल्सिना, अनुसन्धानकर्ता लक्ष्मी प्रसाद ओझा, प्राध्यापक राजन पन्त, र प्राध्यापक भोज बलायरले कार्यपत्र प्रस्तुत गरेका थिए।
यो कार्यक्रम केन्द्रका अध्यक्ष जगदम्बा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस अवसरमा केन्द्रको वार्षिक साधारण सभा पनि सम्पन्न भएको थियो। अधिकारीले आगामी दिनमा समसामयिक वैज्ञानिक अनुसन्धानात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे।