माओवादी र एमाले बीचको विवाद समाधान नहुँदा सदनमा अवरोध कायमै
काठमाडौं। आइतवारको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। बैठकको सोमबार दिउँसो १ बजे तय गरिएको संसद सचिवालयले जानकारी दिएको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र सत्ता पक्षका बीचको विवाद समाधानमा असफलता आएपछि बैठक स्थगित गरिएको हो।
नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईको हालैको भाषणमा प्रयोग गरिएको ‘हिंसा’ शब्दको रेकर्डबाट हटाउन दबाब दिएको छ। माओवादीको दावी अनुसार, यो शब्दले जनयुद्धको अपमान गरेको छ। माओवादी सांसदहरूले यो शब्द असंसदीय मान्दै सदन अवरुद्ध गरेका थिए।
आज दिउँसो सभामुख देवराज घिमिरे र दलका सचेतकबीच भएको छलफलमा माओवादीले बैठक खोल्नका लागि थप समय मागेको थियो। माओवादीको अडानमा कुनै लचकता देखाउने संकेत नदेखिएपछि बैठक स्थगित गरिएको हो।
आजको बैठक १ बजेका लागि तय गरिएको थियो, तर माओवादीको अडानले गर्दा बैठक २ बजेका लागि सारियो। त्यसपछि समय थप गरेर सवा ३ बजेका लागि तय गरिएको थियो, तर सहमति जुट्न नसकेपछि अन्ततः बैठक स्थगित गरिएको छ।
एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश
माओवादी सांसद माधव सापकोटाका अनुसार, सत्ता पक्षले आफ्नै अडानमा रहेकाले माओवादी निर्णयबाट ब्याक हुने अवस्था छैन। यसले संसदमा सदन सञ्चालनमा थप अवरोध सिर्जना गरेको छ।
एमाले सांसद योगेश भट्टराईले माओवादीको हिंसा कारण जलविद्युत आयोजनामा ढिलाइ भएको टिप्पणी गरेका थिए। माओवादीले यो शब्द संसदीय मर्यादाभित्र नपरेको आरोप लगाउँदै संसदमा अवरोध गरेका थिए।
सभामुख देवराज घिमिरेले उक्त शब्द संसदीय मर्यादाभित्र पर्ने वा नपर्ने कुरा छानबिन गर्न निर्देशन दिएका थिए। सभामुखले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको ठहर गरेका थिए।
माओवादी र एमाले बीचको विवादले गर्दा २६ गतेदेखि सदन बन्द भएको छ। माओवादीको माग अनुसार, रेकर्डबाट शब्द हटाइएपछि मात्र सदन सञ्चालनको तयारी गरिने जनाएको छ।