कोशी प्रदेश सरकारमा कांग्रेसबाट चार नयाँ मन्त्री थपिए
विराटनगर । लामो समयको रस्साकस्सीपछि कोशी प्रदेश सरकारमा कांग्रेसबाट चार नयाँ मन्त्री थपिएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्दै कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका छन्।
नव नियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। यो विस्तारमा डा. शेखर कोइराला समूहलाई समावेश गराइएको छैन। गत साउन १२ मा कांग्रेसको सरकारमा सहभागी हुने निर्णय भए पनि कोइराला समूहका दुई मन्त्रीको अडानका कारण सरकारमा सामेल हुन सकेका थिएनन्।
अब कोशी प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुग्यो। कांग्रेसको नेतृत्व गर्दै भुपेन्द्र राईलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, खगेनसिह हाङ्गाम उद्योग, कृषि, र सहकारी मन्त्री नियुक्त भएका छन्। सदानन्द मण्डललाई पर्यटन, वन, र वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ, जबकि भूमि राजवंशीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।