माओवादी केन्द्रप्रति देशभरि आकर्षण बढ्दै छ: प्रचण्ड
महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशभर आकर्षण बढ्न थालेको बताएका छन्। महोत्तरीका रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता र कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले पार्टीले लिएको एजेण्डा र त्यसको आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण यो आकर्षण देखिएको उल्लेख गरे।
प्रचण्डले भने, “पहिचानका पक्षमा लड्ने पार्टीको रूपमा माओवादी केन्द्र स्थापित भएको छ। थप सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको स्पष्ट एजेण्डाका कारण अहिले देशभर माओवादी केन्द्रप्रति आकर्षणको लहर पैदा भएको छ। यस कार्यक्रमको पनि यो आकर्षणको सानो प्रमाण हो।”
उहाँले राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको दाबी गर्दै, “हाम्रो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ नयाँ काम गरेका छौं। जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधासभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था जस्ता सबै एजेण्डा माओवादीले नै अघि सारेका हुन्।”
प्रचण्डले जनतासँग जोडिएको पूर्वाधार निर्माणमा पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना सञ्चारको विकास हुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा चालेका कदमलाई ऐतिहासिक भने। उनले भ्रष्टाचारको फाइल खोलेर कारवाही प्रक्रिया थाल्नेदेखि मधेश र देशभरको मिटरब्याज समस्या समाधान गर्न र लाखौं नागरिकताविहीन युवालाई नागरिकता प्रदान गर्नका कामलाई ऐतिहासिक उपलब्धि भने।
उनले पार्टीलाई बलियो बनाउन र देशव्यापी ध्रुवीकरणको दिशामा अघि बढ्ने योजना रहेको स्पष्ट गर्दै पार्टी प्रवेश गरेका नेता र कार्यकर्ताहरुलाई समयमै सांगठनिक व्यवस्थापन गर्न प्रदेश इञ्चार्ज र स्थानीय नेताहरुलाई निर्देशन दिएका छन्।
यस अवसरमा जसपाबाट श्यामबाबु यादव, कांग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, विरेन्द्र मण्डल, बिजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दिपेन्द्रकुमार चौधरी, बसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेल, विजय शर्मा र उमेश मण्डललगायतका नेताहरूले माओवादी केन्द्रमा प्रवेश गरेका थिए।