सहकारीको रकम अपचलनमा मुछिएपछि धनराजले दिए प्रष्टिकरण
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी रकम अपचलनको आरोपमा आफूलाई संलग्न नभएको बताएका छन्। उनले आफ्नो पूर्व पत्नीले सहकारी संस्थामा काम गरेको स्वीकार गर्दै आफूलाई घटनासँग नजोड्न पनि आग्रह गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै गुरुङले भने, “मेरी पूर्व पत्नी ज्योति गुरुङ महालक्ष्मीस्थान, ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकको रूपमा कार्यरत थिइन्। जब उहाँ उक्त सहकारीमा हुनुहुन्थ्यो, तबको हरहिसाब तथा अपचलनबारे मलाई कुनै जानकारी थिएन। मलाई सहकारी रकम अपचलन वा ठगीको आरोपमा संलग्न गरिएको भ्रामक समाचारको विषयमा गम्भीर आपत्ति छ।”
रास्वपाको प्रश्न: कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीमा छानबिन हुन्छ की हुदैन ?
गुरुङले यसबारे प्रष्ट पारेका छन् कि, “२०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा हाम्रो सम्बन्ध विच्छेद भइसकेको छ। त्यसपछि, मेरो पूर्व पत्नी ज्योति गुरुङसँग कुनै किसिमको सम्बन्ध छैन।”
कांग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगिको आरोपमा उजुरी
सहकारी अपचलनको छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै उनले भने, “अनावश्यक, असत्य, भ्रामक र कपोलकल्पित समाचारका पछाडि नलाग्न म आम नेपाली जनता, शुभचिन्तक र पार्टीका सम्पूर्ण साथीहरूलाई हार्दिक अपिल गर्दछु।”