परिवर्तनमा निजामती कर्मचारीको योगदान प्रशंसायोग्य : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रूपमा संस्थागत स्वरूप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते मनाउने गरिएको निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई र शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपालमा भएको अग्रगामी राजनीतिक परिवर्तनमा निजामती कर्मचारीहरूले गरेको प्रत्यक्ष र परोक्ष योगदानलाई प्रशंसायोग्य मान्दै तानाशाहीविरुद्धको संघर्ष, त्यस संघर्षमा खेपिएका पीडाहरू र बलिदानलाई महत्वपूर्ण भनेका छन्। उनले कर्मचारीहरूको पेशागत हकहितका आन्दोलनलाई पनि उल्लेखनीय ठहर्याए।
उनले भने, “यस घडीमा म ती संघर्षहरूमा शहादत प्राप्त गर्ने शहीदहरू प्रति श्रद्धांजलि अर्पण गर्दछु र पीडितहरूप्रति सहानुभूति प्रकट गर्दछु। कर्मचारीहरूले सहभागिता जनाएका र योगदान पुर्याएका आन्दोलनहरू सफल भएका छन् र कर्मचारीहरूको मागहरू क्रमशः पूरा हुँदै गएका छन्।”
प्रधानमन्त्री ओलीले थप्नुभयो, “आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ। अब हामीले जसरी पनि यस प्रणालीलाई सफल बनाउन प्रयास गर्नु पर्छ। सम्पूर्ण कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकता र सुशासनको भावना लिएर अग्रसर हुनु आवश्यक छ। यसका लागि, आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास तथा जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनु पनि महत्वपूर्ण छ।”
प्रधानमन्त्री ओलीले नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक हुँदै गइरहेको छ भने।
लोकतन्त्रका लाभहरूको वितरण आम नागरिकसम्म पुर्याउन, जनताको सेवा गर्न, र राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै, उनले निजामती सेवाको यस्तो भूमिकाबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्न सकिने र यस माध्यमबाट समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्ने बताए।
उनले थपे, “राष्ट्रको यस आकांक्षालाई पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, र दक्षता विकास गर्नु आवश्यक छ। निजामती कर्मचारीहरूसँग लाग्ने गुनासाहरुलाई चिर्दै पेशागत मूल्यमान्यता, व्यावसायिकता, र निष्ठा आत्मसात गर्दै उच्च नैतिक आचरण र व्यवहारमार्फत् सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ। यो आजको आवश्यकता हो।”