जर्जियाको एक विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु
पेन्सिल्भेनिया। अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार, घटनामा ९ जना घाइते भएका छन्। घटना जर्जियाको ब्यारो काउन्टीस्थित अपलाची हाई स्कूलमा भएको हो, जहाँ १४ वर्षका एक विद्यार्थीले गोली प्रहार गरेका थिए।
स्थानीय प्रहरीका अनुसार, गोली चलाउने व्यक्ति सोही विद्यालयका विद्यार्थी हुन्। गोलीकाण्डमा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ, जबकि ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन्। प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरी उनलाई वयस्ककै रूपमा कानूनी कारबाही गर्ने घोषणा गरेको छ।
अमेरिकामा विद्यालयमा गोलीकाण्डको घटना बारम्बार हुने गर्दछ। सन् २०२४ मा मात्र यो ४५औं पटक विद्यालयमा गोली चल्ने घटना भएको हो। सन् २०२३ मा ८२ वटा विद्यालयमा, २०२२ मा ७९, र २०२१ मा ७३ विद्यालयमा गोलीकाण्ड भएका थिए।
राष्ट्रपति जो बाइडेनले यस गोलीकाण्डमा गहिरो दुःख व्यक्त गर्दै विद्यालयमा हुने हिंसाको अन्त्य गर्न कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
*फाइल तस्वीर