जीबीओको चौथो अधिवेशन: नेपालको भुटानी शरणार्थी शिविरमा शिक्षामा लगानी गर्ने घोषणा
ओहायो, अमेरिका/ ग्लोबल भुटानी संगठन (जीबीओ) को चौथो सम्मेलनले नेपालमा रहेको शरणार्थी शिविरमा शिक्षामा लगानी गर्ने घोषणा गरेको छ।
अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सबर्ग शनिवार सम्पन्न महाधिवेशनले पूर्वी नेपालको भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकालाई मानवीय सहयोग गर्ने घोषणा गरेको हो।
जीबीओ भुटानी डायस्पोराको गैर-लाभकारी संस्था हो। जीबीओ अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेपाल, नेदरल्याण्ड, न्यूजिल्याण्ड,नर्वे, युके, र अमेरिकामा दर्ता रहेको जनाइएको छ।
ग्लोबल भुटानीज अर्गनाइजेसनले काठमाडौँ नेपालमा कार्यालय सचिव नियुक्त गरेको छ। दमक–०३, बेलडाँगी झापामा १७ र पथरी शनिश्चरे १०, मोरङमा ९ जना कर्मचारी छन् ।
तथ्याङ्क अनुसार बेलडाँगीमा दुई सय नौ र पथरी शनिश्चरे शिविरमा ९६ जना बालबालिका छन् । त्यहाँ १० शिक्षक छन् , एक इन्चार्ज, तीन जना केयरटेकर गार्ड, एक जना किचन असिस्टेन्ट, एक जना प्रोजेक्ट फिल्ड म्यानेजर रहेको जनाइएको छ।
यस्तै बेलडाँगी विद्यालयमा एक जना स्वास्थ्य संयोजक र पथरी शनिश्चरे विद्यालयमा पाँच जना अध्यापन गराउँदै आएका छन्। यस्तै कर्मचारी तर्फ एक जना प्रशासनिक सहयोग, एक जना केयरटेकर, एक जना किचन सहायक र एक जना परियोजना क्षेत्र संयोजक कार्यरत छन्।
आगामी चार वर्षका लागि अनुमानित बजेट करिब एक लाख ६४ हजार दुई सय चालिस अमेरिकी डलर रहेको छ।
त्यसका लागि हाल सम्म कुल दुई करोड १३ लाख ५१ हजार दुई सय ७९ नेपाली रुपैयाँ सङ्कलन भइसकेको महाधिवेशन पछि जारी घोषणा पत्रमा उल्लेख छ।
अमेरिकाबाट भुटानी शरणार्थीहरूलाई शिक्षा प्रदान गर्न प्रत्येक त्रैमासिकमा १६ हजार ६ सय २६ रुपैयाँ उठाइएको छ।
यस्तै क्यानडा दश लाख पाँच हजार दुई सय ७१ रुपैयाँ, अष्ट्रेलियाबाट १३ लाख २५ हजार सात सय ७९ रुपैयाँ, न्यूजिल्याण्डबाट दुई लाख ६९ हजार सात सय ९३ रुपैयाँ, नेदरल्याण्डबाट एक लाख ३२ हजार एक सय ११ डलर, डेनमार्कबाट १६ लाख ५५ हजार ६ सय ५१ रुपैयाँ र बेलायतबाट चार लाख ३३ हजार सात रुपैयाँ परियोजनाका लागि उठाइएको छ।
जीबीओले बेलडाँगी शिविरमा ५८ सदस्य र १७ परिवारसहित २० परिवारलाई सहयोग गरिरहेको जनाइएको छ। पथरी शनिश्चरे शिविरमा ५५ सदस्यसहितको स्वास्थ्य बीमा कार्यक्रम मार्फत संस्थाले यस कार्यक्रमलाई थप ५० परिवारलाई समेट्ने योजना बनाएको छ।
संस्थाले प्राकृतिक प्रकोपका पीडितहरूलाई मानवीय सहायता प्रदान गर्ने लक्ष्य राखेको छ। करिब दुई सय भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको महाधिवेशनमा सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए।
भ्वाइस अफ नेपाल सिजन ३ किरण गजमेर, भ्वाइस अफ नेपाल किड्स सिजन ३ अनुह्या तामाङ र अन्य स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए।