इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपति बाइडेन रुस्ट
पेन्सिल्भेनिया । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजामा चलिरहेको युद्ध रोक्न र बन्धक मामिलामा प्रयाप्त कदम नचालेको आरोप लगाउँदै ‘अन्तिम’ प्रस्ताव पठाउने तयारी गरेका छन्। बाइडेनले उपराष्ट्रपति कमला ह्यारिससँग मिलेर प्रस्ताव तयार गरेका हुन् भने सोमबार इजरायलमा ६ बन्धकको मृत्युको विरोधमा व्यापक प्रदर्शन भएको छ।
राष्ट्रपति बाइडेनलाई नेतन्याहूले प्रयाप्त प्रयास गरेका छन् कि भनेर सोध्दा उनले ‘छैन’ भन्ने जवाफ दिएका छन्। उनले अमेरिकाले हार नमान्ने र सम्झौताका लागि कडा दबाब दिने बताएका छन्।
यस प्रस्तावलाई अमेरिकी अधिकारीहरूले ‘टेक इट ओर लिभ इट डिल’ अर्थात् ‘लिनुस् वा छोड्नुस्’ को रूपमा वर्गीकृत गरेका छन्। इजरायली सेनाको सदस्य एडन अलेक्ज्याण्डरका परिवारले इजरायललाई यो प्रस्ताव स्वीकार गर्न आग्रह गरेका छन्।
यसअघि शनिबार गाजामा ६ बन्धकको शव फेला परेपछि नेतन्याहूको युद्ध र बन्धक व्यवस्थापनको आलोचना गर्दै इजरायलमा व्यापक प्रदर्शन भएको थियो। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले अमेरिकी बन्धकका परिवारसँग भेट गरेका थिए र बाइडेनले ‘अन्तिम’ प्रस्ताव चाँडै ल्याउने जानकारी दिएका थिए।
यो युद्ध हामासले गाजा सीमाना पार गर्दै १२०० इजरायलीको हत्या र २५१ जनालाई अपहरण गरेपछि सुरु भएको हो। यसपछि इजरायलले प्रतिशोधमा गरेको आक्रमणमा ४०,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ।
अमेरिकामा यो युद्धको प्रतिक्रियाले बाइडेन प्रशासन र उपराष्ट्रपति कमला ह्यारिसको लागि चुनौतिपूर्ण बनेको छ, विशेष गरी आगामी राष्ट्रपतिको चुनावमा ह्यारिसका विपक्षी, रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले बन्धकको मृत्युका लागि बाइडेन र ह्यारिसको असफलतालाई दोष दिएका छन्।