अमेरिकामा ‘मा’ को मातृ भाषामा परिचय दिने अभियान शुरु
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ मधेसी एसोसिएसन इन अमेरिका (मा) ले आफ्नो भाषामा आफ्नो परिचय दिने अभियानको शुरु गरेको छ।
अमेरिकामा रहेका बालकालिकाहरुलाई ‘आफ्नो परिचय आफै आफ्नै मातृ भाषामा’ भन्ने अभियान शुरु गरिएको हो।
अभियानको पहिलो दिन आइतबार भर्चुअल मार्फत कार्यक्रम गरिएको थियो।
माका केन्द्रीय अध्यक्ष डा. सङ्गीत रौनियारका अनुसार पहिलो दिनको कार्यक्रममा बिस जना बालबालिकाले भाग लिएका थिए।
नयाँ पुस्तामा मातृ भाषा जीवित नै राख्न यो अभियान शुरु गरिएको डा. रौनियारले बताए। ‘बालबालिका आफ्नो भाषा नै बोल्दैनन्, नयाँ पुस्तामा मातृ भाषाको विकास गर्न हामीले यो कार्यक्रम गरेका हौ।’ रौनियारले भने।
डा. रौनियारले पहिलो पटक भएकाले सहभागी कम देखिए पनि अगामी दिनमा यो सङ्ख्या बढ्दै जाने बनाए। कार्यक्रममा सहभागीलाई आफ्नो मातृ भाषामा बोल्न लगाइएको थियो। सहभागीले मैथिली, भोजपुरीमा आफ्नो परिचय दिएका थिए।
कार्यक्रममा मा की केन्द्रीय महासचिव शशि साह, केन्द्रीय समिति सदस्य पूर्णिमा जैसवाल र ज्योति साहको पनि उपस्थिति रहेको थियो। केन्द्रीय उपाध्यक्ष नवीन साहले प्रविधिमा सहयोग गरेका थिए।
अध्यक्ष डा. रौनियारले कार्यक्रमको राम्रो प्रतिक्रिया आएको भन्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने बताए।
‘प्रतिक्रिया राम्रो आएको छ फेरि पनि यस्तो कार्यक्रम हुन्छ, अमेरिका रहेर पनि आफ्नो मातृ भाषामा बोल्न सक्न बनाउने हो।’ रौनियारले भने।
डा. रौनियारले पहिलो पुस्ता र तेस्रो पुस्तामा भाषाको खाडल बढ्दै गएकाले त्यो केही हद सम्म कम गर्न आफूहरूको प्रयास रहने बताए।
‘नयाँ पुस्ता र पुरानो पुस्ता बिचमा खाडल बढ्दै गयो, हजुर आमा बा र नाति नातिनी बिचमा संवाद नै हुन छोड्यो त्यस कारण हामीले यो अभियानको रूपमा शुरु गरेका हौ।’