सशस्त्र प्रहरीसम्बन्धी विधेयक सय दिनमा संसदमा पुग्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपालसम्बन्धी विधेयकलाई सय दिनभित्र संसदमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित छलफलमा गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए।
लेखकले विधेयकमा सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, विपद् उद्धार, दंगा नियन्त्रण, र आतंकवादविरुद्धको काममा विशिष्टिकृत गरिएको उल्लेख गरे।
विधेयकलाई भदौ २१ गते गृहमन्त्रालयबाट निर्णय गरेर अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सम्बन्धि ऐन, कानुन, नियमहरुमा अस्पष्टताले सरकार र संगठन दुबैलाई फाइदा नहुने गृहमन्त्री लेखकले बताए ।
‘विधेयकमा सशस्त्र प्रहरी बल नेपालले गर्ने काम सीमा सुरक्षा नै हो भनेर विशिष्टिकृत गरिएको छ । सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपद्मा उद्दार, दंगा नियन्त्रण, सशस्त्र विद्रोह र आतंकवादी गतिविधिविरुद्ध काम गर्ने कुराको विशिष्टिकृत भएको छ,’ उनले भने, ‘प्रचलित नेपाल कानुनले अवराधजन्य काम भनेर घोषणा गरेको कुरा सशस्त्र प्रहरीले देख्यो भने तत्काल नियन्त्रण गरेर नेपाल प्रहरीलाई बुझाउ छ । यसले हाम्रोबिचमा भएका अस्पष्टतालाई यो कानुनले स्पष्ट गरेको छ ।’