‘दन्किँदो भुटान’:भुटानी नेपालीहरूको पहिलो स्वतन्त्रताको दस्ताबेज
गण्डकीपुत्र
अमेरिका आएको तीन वर्षपछि म ह्यारिसबर्ग आएँ । यहाँ आउनु भन्दा पहिला हामी भर्मन भन्ने पर्यटकीय सानो अमेरिकी राज्यमा थियौ । ह्यारिसबर्ग पेन्सिल्भेनियाको व्यस्त शहर मानिन्छ । यहाँ आएपछि यताको नेपाली साहित्यिक र सांस्कृतिक गतिविधिका बारेमा केही अध्ययन गर्ने अवसर मिल्यो । सुरुका दिनमा केशव वैरागी माइलो , नारद सुदामा आचार्य जस्ता मित्रहरूको साथ मिल्यो । बिस्तारै सम्बन्ध फराकिलो हुँदै गयो । भुटानबाट पुनर्वासको क्रममा यहाँ थुप्रै नेपाली जाति भुटानीहरू आएर बसेका रहेछन् । उनीहरूले गर्ने साहित्यिक र अन्य कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गयो । यही मेसोमा भेटिए साहित्यकार एवम् पत्रकार भक्त घिमिरे । निकै गहिरो अध्ययन र अनुसन्धान गर्न सक्ने भक्तजीलाई भेटेपछि नै मेरो अभिरुचि भुटानी साहित्य प्रति बढेर गयो ।
भुटानबाट निर्वासित हुनुपरे पनि नेपाली जाती भुटानी श्रष्ठाहरुले आफ्नो कलमलाई रोकेनन् । ह्यारिसबर्ग आएपछि अहिले सम्म मैले अध्ययन गरेका भुटानी नेपाली लेखकका पुस्तकहरूको यसरी वर्गीकरण गरेको छु ।
१.आख्यान :- यस भित्र आत्मसंस्मरण, उपन्यास, कथाका पुस्तकहरू छन् । डा. लक्ष्मी नारायण ढकालको वासदेखि पुनर्वाससम्म , गङ्गा लामिटारेको बदलिएको कर्तव्य, डिल्लीराम शर्मा आचार्यको उच्छेदन , बोधराज ढुङ्गेलको डिल्लीराम शर्माको जीवनी ,व्यक्तित्व र कृतित्व, तुम्बेहाङ लिम्बुको रजुवा, रमेश दियालीको छाप्रो नं ५५ , गोपाल पौड्यालको कथा भित्रको कथा, जे . एन . दाहालको लेखककी छोरी र प्रहेलिका, सी एम निरौलाको ऐनामा देश , इन्द्रप्रकाश खवासको प्रेम हत्या जस्ता पुस्तक छन् ।
२. कविता :- यस अन्तर्गत मैले अध्ययन गर्न पाएका सङ्ग्रहहरुमा शिवलाल दाहालको जो स्मृतिमा मात्र बाँचिदिएका छन्, रमेश गौतमको चिताको आगो साँच्चै तातो हुँदो रहेछ, तुम्बेहाङ लिम्बुको अक्षरहरूको ध्रुवीकरण,कर्ण गुरुङको बुद्धिको बिर्को, खेम खनालको क्षितिजपारिको आवाज, आभास रिखाम मगरको प्रश्नहरूको पहाड, प्रतिमान सिवाको म जयमायाको सन्तान , तिलारुपा आचार्यको गल्ली गल्लीका गीत , यतिराज अजनबीको केही यक्ष प्रश्नहरू, धर्मेन्द्र तिम्सिना क्षितिजको एक अञ्जुली सपना ,गोपालचन्द्र राउतको वसन्त बिम्ब , नेपाल प्रज्ञा – प्रतिष्ठानले प्रकाशित गरेको पुनर्वासपछिका भुटानी नेपाली कविता , मातृभाषा संरक्षण समूहले प्रकाशन गरेको बृहत् कविता सङ्ग्रहहरू हुन ।
३. गीत गजल :- केशव वैरागी माइलोको कुलागाङ्रीको फेदीबाट, पातलो अन्तरेको अक्षर , शेखर कोइराला चन्द्रको प्रेमाश्रु , रिमेन आलोकको देश हराएको रात , डिल्लु चम्लागाईंको पर्खालभित्र , सबिन शर्माको ऐनाअघि उभिएर , दुःखी अतुलको सौरभ र मन्द मुस्कान , रिमेन आलोक/धना ज्योतिको रदिफ काफिया , नेत्र प्रसाद आचार्यको मिश्रित सफर , बाल कृष्ण न्यौपानेको प्रशंसा गीत सङ्ग्रह , खेम रिजालको ऊर्जा गीत सङ्ग्रह , ईश्वर ढकालको अक्षरहरूको जुलुस मुक्तक सङ्ग्रह , खेम रिजालको बिचारहरूको बिस्कुन मुक्तक सङ्ग्रह , डिल्लीराम शर्मा आचार्यको वसन्त महाकाव्य , केशव वैरागी माइला , नारद सुदामा आचार्यका बाछिटा सङ्ग्रहजस्ता कृति प्राप्त भएका छन् भने अन्य लेखकका कृतिको खोजी गरिरहेको छु।
यसरी भुटानी नेपाली जातिको साहित्य अध्ययनको सिलसिलामा कसैले मलाई दन्किँदो भुटान हेर्न र अध्ययन गर्न सल्लाह दियो । म दन्किँदो भुटान कोसङ्ग होला भनेर धेरै भुटानबाट पुनर्वासको क्रममा अमेरिका आएर बस्नु भएका लेखक साहित्यकारहरू सङ्ग फोन मार्फत जोडिन पुगेँ । हुटहुटी मनमा चलिरहेको थियो । तर पुस्तक भेटिएको थिएन । संयोगको कुरा हो । साहित्य परिषद् भुटानले आयोजना गरेको विण्डसोर साहित्य सम्मेलनको तर्फबाट क्यानडा जानुपर्ने निम्तो आयो । अग्रज साहित्यकार गङ्गा लामिटारेले फोन गरेरै जसरी पनि आउनु पर्छ भन्नू भयो । भाइ एवम् मेरा नेपाल हुँदा देखिकै मित्र खेम रिजालले धम्कीपूर्ण भाषामा भने,आइनस् भने ठिक हुन्न दाइ । अब जानु नै थियो । अगस्त १६ तारिख केही साहित्यिक साथीहरूको पछि लागेर पुगेँ म क्यानडाको विण्डसोर । कार्यक्रम स्थल झकिझकाउ थियो । कार्यक्रम स्थलको एउटा भागमा टेबलमा केही पुस्तक बिक्रीका लागि राखिएका थिए । त्यहीँ भेटेँ मैले चासो दिएर खोजेको पुस्तक दन्किँदो भुटान , लेखक देवीभक्त लामिटारे ।
देवीभक्त लामिटारेको यो पुस्तक हिन्दी भाषाबाट नेपाली भाषामा अनुवाद गरिएको कृति रहेछ । मैले पाएको पुस्तक चौथो संस्करण रहेछ । उन्नाइस विभिन्न शीर्षक दिइएर लेखिएको यो कृतिले भुटानको राजशाही शासनकालको सटिक चित्रण गरेको छ । नागरिकका हक अधिकार निरङ्कुश राजतन्त्रले कसरी बुट मुनि कुल्चिएर राखेको छ । नागरिक कसरी नारकीय जीवन जिउन विवश छन् । राजतन्त्रका मतियारहरू राज्य कोषमा ब्रम्हलुट मच्चाएर भोग विलासमा कसरी रमाई रहेका छन् पुस्तकले प्रकाश पारेको छ । देवीभक्त लामिटारे आफ्नो जन्मभूमिलाई असाध्य प्रेम गर्छन् । देशलाई उनले पटक पटक तपोभुमी र धार्मिक ऋषिहरूले तपस्या गर्ने तीर्थ भनेका छन् ।
हिमालय खण्ड नेपाल , सिक्किम र भुटानका राजपरिवारको एकतन्त्रीय शासनकालमा भएका हुकुमी न्याय प्रणालीले निर्दोष जनता मारिएको कुराले लामिटारे दुखित छन् । उनले देशलाई यो निरङ्कुशता बाट मुक्त नगरे देशनै नरहने कुराको सङ्केत गरेका छन् । अहिले सिक्किम भारतमा विलय हुनुको कारण दन्किँदो भुटानमा देवीभक्त लामिटारेले सिक्किमे राजाको अकर्मण्यता त्यति बेला नै उद्घोष गरेका थिए । लामिटारे लेखक मात्र थिएनन् । दूरदर्शिता र ज्ञानले निखारिएका एक राजनीतिक सन्त थिए ।
विश्वेश्वर प्रसाद कोइरालाले नेपालमा २०३२ सालमा भारतको निर्वासन त्यागेर नेपाल पस्ने निर्णय गरे । उनी राजा र काङ्ग्रेसको घाँटी जोडिनु पर्छ भन्थे । प्रजातन्त्र बादी र राजतन्त्र मिलेर मात्र समुन्नत नेपाल निर्माण गर्न सकिन्छ भन्थे । त्यसरी नै देवीभक्त लामिटारेले बाहिर रहेका विद्धानहरू देश पस्नु पर्छ । राजा सङ्ग वार्ता गर्नु पर्छ र प्रजाराज बहाली गरेर राजा सबैको प्यारो भएर बस्नु पर्छ भनेर उल्लेख गरेका छन् । कतै धर्म संस्कृतिको राज्यले हुर्मत लिएको छ भनेर लेख्ने लामिटारे कतै भने धर्मको विरोधमा उभिएको हो कि झैँ प्रतीत हुन्छन् ।
दन्किँदो भुटान भुटानको समस्यासँग मात्र केन्द्रित छैन । यसले हिमाली राज्य नेपाल , सिक्किम र भुटानको इतिहास कतै न कतै छोएको छ । महिला माथि उच्चपदस्थ भाइ भारदार, राजदरबारका निकतस्टहरुले गर्ने अत्याचार नेपाल , सिक्किम र भुटानमा उस्तै थियो । लामिटारेले महिलामाथि भएको शोषणको खुलेर विरोध गरेका छन् । बाल विवाह , बहु पत्नी प्रथा र विधवा महिलाका प्रति हुने विभेदका बारेमा दन्किँदो भुटानमा दुइटा लेख छापिएका छन् । ती लेखहरूमा महिलाहरूको पक्षमा आवाज उठाइएको छ ।
उनी लेख्छन् , गाउँघरमा राम्री महिला देखिनु हुन्न थियो । तिनीहरू माथि शासकका मतियारको कुदृष्टि परिहाल्थ्यो । विधवा र नावालिकहरु बलात्कार र अमानवीय व्यवहारको सिकार हुन्थे । सम्पूर्ण न्याय अन्याय भाइ भारदारका तजबिजमा चल्थ्यो । को दोषी को निर्दोष हेरिन्न थ्यो । तिनले जे बोल्यो त्यही कानुन हुन्थ्यो । अड्डा अदालतले दिने फैसला तिनकै निर्देशनमा हुन्थे । राज्य नामको मात्र थियो । नागरिक रैती या दास थिए । जनताको जीवन कसरी चल्दै छ हेरिन्नथ्यो । कर अनिवार्य थियो । स्वास्थ्योपचार र शिक्षाको पहुँच आम नागरिकमा थिएन । बाटो घाटो , पुल पुलेसा , सिचाई केही थिएन । राजधानी र राज्यसम्म जनताको पहुँच थिएन । गाउँमा बत्ती पानीको व्यवस्था थिएन । समग्रमा भन्दा यी हिमाली राज्यको जीवन नरकको जस्तो थियो । दन्किँदो भुटानले यसको सबै विवरण प्रस्तुत गरेको छ ।
देवीभक्त लामिटारे निर्वासित थिए । राज्यले सर्वाधिक खोजीको सुचीमा राखेको थियो । उनी भारतका विभिन्न स्थानमा र कहिलेकाहीँ नेपाल तिर घुम्न आएको कुराको छनक पुस्तकमा पाइन्छ । तर उनलाई यही मान्छे देवीभक्त लामिटारे भनेर कमै मान्छेले चिन्थे । लामिटारेले गरेको भविष्यवाणी सिक्किमको हकमा पूरा भएरै छोड्यो । त्यहाँको राजाको अतिचारको कारण सिक्किम भारतमा विलय भयो । त्यसरी राष्ट्रियता समाप्त हुँदा जनतामा छाएको निराशाले गर्दा पनि राष्ट्रिय भावना उठ्न सकेन । कुनै ठाउँमा पनि जनताको तर्फबाट यो घटनाको विरोधमा जुलुस या नारा लागेन ।यसरी सन् १९७५मे १६ मा सिक्किम भारतको अधीनस्थ गयो । लामिटारे लेख्छन् , यदि भुटान राज्य रहेन भने राजाकै कारण नरहन सक्छ । जनताको यसमा कुनै दोष हुने छैन ।
लामिटारेले गरेको अर्को भविष्यवाणी थियो नेपालका सन्दर्भमा । यो भविष्यवाणी दैवी शक्तिको आधारमा नभै विश्वमा आइरहेको जन चेतना र त्यसले पार्ने प्रभावलाई हेरेर उनले गरेका थिए । बि.सं.२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण राजकीय सत्ता आफ्नो हातमा लिएर जन निर्वाचित संसद् विघटन गरे । त्यसको चार वर्ष पछि बि. सं.२०६२ मा चलेको १९ दिने जन आन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्रले विघटन गरेको नेपालको संसद् ब्युँतियो । र यसले अन्तरिम संसद् निर्माण गर्यो ।
र बि. सं.२०५४ मा संविधानसभाको निर्वाचन गर्यो । यही संविधानसभाको बि. सं.२०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजतन्त्र अन्त्य भएको घोषणा गर्यो । राजा ज्ञानेन्द्रले राजकीय सत्ता आफ्नो हातमा लिएर निरङ्कुश हुन खोज्दैन थिए भने नेपालको राजतन्त्र त्यति चाडै नजान सक्थ्यो । लामिटारेले भनेझैँ अनेक देशका राजतन्त्रको पतन उनीहरूको दम्भले भएको हो ।
लामिटारेले दन्किँदो भुटान मा सामाजिक , आर्थिक , राजनैतिक र धार्मिक सुधारको विषयलाई छोटो लेख मार्फत प्रस्ट उठाएका छन् । बुद्ध धर्मले कहिल्यै पर हिंसा र पीडा स्विकार्दैन तर भुटानमा भने बुद्ध धर्मको नाममा अत्याचार बढिरहेको छ । अरू धर्म सम्प्रदायका नागरिकलाई बुद्ध धर्मप्रति निष्ठावान् हुन दबाब दिइएको कुरा पुस्तकमा उल्लेख छ । मदिरा सेवन गर्न , जुवा खेल्न , वेश्या वृत्ति गर्न राज्यले
छुट दिए जस्तै थियो । हिन्दु सनातनी धर्म मान्नेहरूलाई जबरजस्त उनीहरूले पूजा गर्ने गाईको मासु खान कर गरिन्थ्यो । कसैले नागरिकको हक अधिकारको कुरा गरे चरम यातना दिएर हत्या गरिन्थ्यो ।
उनले बख्खु लगाउन अनिवार्य गरिएको कुराको विरोध गरे त्यो सही थियो तर दौरा सुरुवालको किन विरोध गरे । अनि किन युरोपियन सुट र टाई लगाउनु पर्छ भने ? के सुट टाई लगाएपछि भोका ,नाङ्गा , अशिक्षित , स्वास्थ्योपचार नपाएका , हेपिएका , दबिएका नेपाली जाती भुटानीको जीवन फेरिने थियो त ? उनले भारतीय प्रजाराजको वकालत गर्दै भुटानमा चाडै प्रजातन्त्र बहाली नभए कम्युनिष्टहरुले सत्ता कब्जा गर्ने छन् पनि भनेका छन्। उनी बी पी कोइरालाझैँ कम्युनिस्टहरू लाई रुचाउँदैन थिए भन्ने प्रतीत हुन्छ । नेपालमा २०३६ बि सं मा भएको धाँधलीपूर्ण जनमत सङ्ग्रहलाई बी पी ले निष्पक्ष भनेर स्विकार्नुको पछाडि कम्युनिष्टहरुले आफ्नो प्रभाव बिस्तार गरी सत्ता कब्जा गर्ने सम्भावना हुन्छ भनेर नै हो भनिन्छ । लामिटारेले धर्म राजा र ठुला मान्छेलाई चाहिन्छ । गरिब र निमुखालाई पूर्व जन्मको त्रास र भय देखाएर धर्मको नाममा लुटपाटमा जनता परेका छन् भने पनि आफू भने गेरु वस्त्र धारण गरी साधु भएर हिँडेका छन् ।
१९९० देखि भुटानबाट त्यहाँका नेपाली जाती भुटानीलाई शरणार्थी बनाउन थालेपछि पनि उनी नेपालका कुनै पनि शिविरमा आएर आफ्ना बन्धु बान्धवसँग भेटघाट गरेको भेटिँदैन। दन्किँदो भुटान अलि अगाडि नै लेखिएको पुस्तक हो । पुस्तकमा त्यो कुरा आउने कुरा त भएन तर अरूले उनका बारेमा लेखेको लेखमा पनि शिविरमा आएको कुरा कतै भेटिँदैन । किन उनी शिविरमा आएर प्रजातन्त्रका पक्षमा जनमत निर्माण गर्न लागेनन् ? के कारण उनी भारतमै बस्न बाध्य भए ? जब कि उनी आफै निर्वासनमा थिए ।
नेपालका शिविरमा आएर उनले राष्टियताको बारेमा युवाहरूलाई सचेत गर्न सक्थे । यति भएर पनि समग्रमा अहिंसावादी, संवैधानिक राजतन्त्रको पक्षधर देवीभक्त लामिटारेले भुटानमा प्रजातन्त्र बहाली हुनुपर्छ भन्ने आवाज सहितका कडा लेख लेखेर भुटानी नेपाली जातिको पक्षमा गतिलो सन्देश प्रवाह गरे । भारतमा जस्तो भुटानमा पनि संघीयता हुनुपर्छ र नेपाली जातिको छुट्टै प्रान्त बनाइनु पर्छ भन्ने कुरामा उनी अडिग रहे । यसरी नागरिकको पक्षमा यो पुस्तक दन्किँदो भुटान , लेखेर लामिटारेले तत्कालीन भुटानको तस्बिर जन समक्ष देखाई दिए । भुटानमा अहिलेपनी प्रजातन्त्र बहाली भएको छैन । निर्वासित भएका नागरिक स्वतन्त्ररुपमा आफ्नो देश जाने र आउने परिस्थिति निर्माण भएको छैन । जनताका मौलिक हक खोसिएकै छ । जब सम्मा भुटानमा सर्व स्वीकार्य लोकतन्त्र बहाल हुँदैन । तबसम्म दन्किँदो भुटान भुटानी जनताका लागि मुक्तिको अस्त्र भै रहने छ । वास्तवमा दन्किँदो भुटान निरङ्कुश शासन व्यवस्थाको विरुद्धमा एउटा मसाल हो । यो मसाल निभ्न दिनु हुँदैन । यो मसाल भुटानको निरङ्कुशताको लागि मात्र नभएर संसार भरिका प्रजातन्त्रका हिमायतीहरूका लागि पनि कतिपय सन्दर्भमा उपयोगी छ ।
गण्डकीपुत्र
झोराहट -२ मोरङ
हाल :- अमेरिका
र यो पनि…