हरितालिका तीज पर्वको महत्त्व र विशेषता
राजेन्द्र खनाल
हरितालिका तीज पर्व सनातनी हिन्दु तथा नेपाली महिलाहरूले प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने विशेष सांस्कृतिक पर्व हो । पहिले सीमित समुदाय वा जातजातिले मात्र मनाउने यो चाड अहिले अन्य विभिन्न समुदायले पनि मनाउन थालेका छन् । पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीका रूपमा पाएपछि यो चाडको सुरुआत भएको मान्यता छ ।
तीजमा विवाहिता महिलाहरूले आफ्ना श्रीमान् तथा परिवारको सुख–समृद्धि र दीर्घायुको कामना गर्दै तथा अविवाहिताले योग्य श्रीमान् पाऊँ भनी व्रत बस्ने परम्परा छ । समग्रमा तीज नेपाली महिलाहरूको एउटा उल्लासमय सांस्कृतिक पर्व हो, जसलाई चार दिनसम्म विभिन्न धार्मिक-सांस्कृतिक क्रियाकलापका साथ मनाइन्छ । आधुनिक समाजमा तीज फेसन पर्वका रूपमा विकास हुँदै गएको छ ।
भाद्र शुक्ल द्वितीयाका दिन विशेष गरी घरका छोरी चेलीहरूका साथ सबै सदस्यहरू भेला भई मीठा मीठा परिकारहरू बनाएर खाने प्रचलन रहेको छ ।
तृतीयाका दिन बिहान स्नान गरी मठ मन्दिरमा गएर महादेवको पूजा आराधना गर्ने र दिनभर व्रत बस्ने, दिदीबहिनी, साथी सँगी भेटघाट गरी नाचगान गर्ने परम्परा रहेको छ ।
भोलिपल्ट चौथीका दिन स्नान गरी भगवान् गणेशलाई दूबो चढाई पूजा आराधना गरी व्रत पारायण गरेपछि खाना खाने गरिन्छ ।
चौथो दिन ऋषि पञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ, धारा वा कुवामा गई विधि विधान पूर्वक स्नान गर्नाले पाप मोचन हुने धार्मिक विश्वास छ । त्यसै दिन अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाने चलन छ । पञ्चमीको पूजाको छुट्टै परम्परागत महिमा रहेको छ ।
यो पूजा गर्नाले विशेष गरी महिलाहरूले रजस्वला भएका बेला छुवाछुत भएको दोष मेटिने र पापबाट मुक्त भइने पौराणिक विश्वास रहिआएको छ ।
हरितालिका तीजको धार्मिक महत्त्व
हरित्+ आलिका शब्दको संयोजनबाट हरितालिका बनेको छ । पार्वतीलाई आफ्ना साथीहरूले हरण गरी जङ्गलमा लिएर गएको भन्ने अर्थमा यस पर्वको नाम हरितालिका रहन गएको हो । सोही दिन सोमवार र हस्ता नक्षत्रले युक्त तृतीया तिथि थियो । पार्वतीले
“ॐ भाद्रेमासि सितेपक्षे, तृतीया हस्तसोमयुक् ।
तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते ।।”
अर्थात् भाद्र शुक्लपक्ष हस्त नक्षत्रले युक्त तृतीया (हरितालिका तीज) त्यसमा पनि सोमवार पर्यो भने सबै पापहरूबाट मुक्त हुन सकिने शास्त्रीय वचन रहेको छ ।
तृतीयाका दिन बिहान स्नान गरी मठ मन्दिरमा गएर महादेवको पूजा आराधना गर्ने र दिनभर महादेवको व्रत बस्ने, दिदीबहिनी, साथी सँगी भेटघाट गरी नाचगान गर्ने मनोरञ्जन गरी आनन्द प्राप्त गर्न सकिन्छ । अर्को तर्फ यो पर्व विवाहसँग गएर जोडिन्छ- नारीले आफै वर रोज्न पाउनु पर्छ भन्ने विद्रोहको सुरुआतको दिन पनि हो जुन कुरा पार्वतीले पहिलो पटक सिद्ध गरेकी छन् । फलस्वरुप यसको धार्मिक महत्त्व बढ्नुका साथै महिलाहरूका लागि सनातनीय विशेष चाड बन्न पुग्यो ।
तीजको पूजा विधि – तीजको पूजा गर्नको लागि मन्दिर नै जानु पर्छ वा गुरु नै उपस्थित हुनु पर्छ भन्ने छैन । घरमै सकेसम्म बिहान वा दोप्परमा वा बेलुका साँझ को समयमा सामान्य रूपमा पूजा सामग्री ( चन्दन अक्षता फूल फल धूप दीप पञ्चामृत नैवेद्य शृङ्गार आदि ) का साथमा पहिले गणेशको पूजा गरी धूप दीप गरी भगवान् शङ्करको पूजा गर्न सक्नु हुनेछ । थप जानकारीका लागि गुरुहरूलाई सोध्न पनि सक्नु हुनेछ । पूजा गरिसकेपछि दान प्रदानको सामग्री गुरुलाई घरमै बोलाएर वा गुरुको घरमा लगेर वा मन्दिरमा लगेर गुरुलाई दिन पनि सकिन्छ ।
तीजको सामाजिक महत्त्व
पहिला पहिला तीजमा विवाह गरी टाढा–टाढा गएका दिदी–बहिनीहरूलाई दाजुभाइ वा माइती तर्फका परिवारका सदस्यहरू गएर सम्मानपूर्वक ल्याउने प्रचलन थियो । अहिले भने यातायात र सञ्चारको सुविधाले यस कार्यलाई सहज तुल्याइ दिएको छ । चेलीबेटीहरू माइत आउने, आमाबाबा दिदीबहिनी, दाजुभाइहरूसँग बसी दर खाने तथा साथीसंगीहरू एकै ठाउँमा भेला भएर आफ्ना मनका भावना एवं सुख–दुःख गीत–संगीतका माध्यमबाट साटासाट गर्ने प्रचलन रही आएको छ । अर्थात् यो एउटा चाड मात्र नभएर परिवारका सबै सदस्यहरू तथा साथी सँगीहरूसँग भेटघाट हुने, चेलीबेटीहरूले माइत आउन पाउने र सुख दुखका कुराहरू साटासाट गर्ने सुखद अवसरका रूपमा समेत रहेको छ ।
यस चाडले टोल छिमेकका नारीहरूमा समेत एकता, सद्भाव र आपसी सौहाद्र्रताको विकास गराएको पाइन्छ । यसर्थ यस चाडलाई नारी एकताको उत्सवका रूपमा समेत लिन सकिन्छ ।
तीजको पहिरन र शृङ्गार
तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना आदि लगाएर सजिने प्रचलन रहिआएको छ । यस बेला महिलाले लगाउने पहिरन र शृङ्गारको छुट्टै सांस्कृतिक महत्त्व रहेको छ । तीजको आगमनसँगै बजारमा नयाँ नयाँ पहिरन तथा सौभाग्यका सामग्री किन्नेहरूको घुइँचो लाग्ने गरेको छ । सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ ।
सिन्दूर
सिन्दूर विवाहित महिलाको प्रमुख शृङ्गार प्रसाधन हो । प्राचीन कालदेखि नै विवाहित महिलाहरूले आफ्नो सिउँदो सिन्दूरले सजाउने र अविवाहित महिलाहरूले पनि शुभ प्रतीकका रूपमा सिन्दूरको टीका लगाउने चलन रहिआएको छ । हाम्रो संस्कृतिमा रातो रङलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमान्प्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ ।
सिउँदोमा सिन्दूर भरेका महिला देख्दा उनीहरू विवाहित हुन् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । यसले विवाहित महिलाको परिचय दिन्छ । श्रीमान्को दीर्घायुका साथै सौन्दर्य प्रवर्द्धनका लागि लगाइने सिन्दूरले भाग्य रक्षा गर्ने आम धारणा छ । सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने धारणा नेपाली समाजमा छ ।
टीका
सौभाग्यको प्रतीक टीकाले नारी सौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौँका बिचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने सङ्केत दिन्छ । प्राचीन समयमा यसलाई सिन्दूर भनिन्थ्यो । यसलाई शक्तिको प्रतीक पनि मानिन्छ । सिन्दूरलाई मायाको प्रतीकका रूपमा पनि लिइन्छ । यसले श्रीमान्लाई आफूतिर आकर्षित गर्ने विश्वास गरिन्छ । यसलाई बिन्दी पनि भनिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रङ्गमा प्रयोग गरिन्थ्यो । यो रङलाई विवाहित महिलाको प्रतीकका रूपमा लिइन्छ ।
टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीले पनि प्रयोग गर्ने गरेका छन् । उनीहरूले प्रयोग गर्ने टीकाको रङ्ग कालो हुन्छ । कालोले नराम्रो दृष्टिबाट बचाउनुका साथै प्रगति पथमा डोर्याउने विश्वास गरिन्छ । अहिले टीका लगाउनु आधुनिक समाजको फेसनका रूपमा विकास हुँदै गएको छ । आफ्नो अनुहार सुहाउँदो टीका लगाउन विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरू पनि पछि पर्दैनन् । यसले अहिलेको आधुनिक समाजमा पनि टीकाको महत्त्व दर्शाउँछ । टीकाले महिलाको सौन्दर्यमा निखार ल्याउँछ ।
पोते
पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभ मङ्गल, सौभाग्य र दीर्घायुको बोध गराउने सांस्कृतिक विश्वास रहेको छ । अझ रातो मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रङलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । यसले व्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।
रातो, पहेँलो, हरियो तथा गुलाबी रङ्गमा उपलब्ध पोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अङ्गुर आकार, चक्र माला, माछी काँडा एवं क्रिस्टलका पोते भित्रिएका छन् । अहिले आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ ।
यी सबै शृङ्गारका बस्तुहरूको उत्पादन र बिक्री वितरण गर्न इन्डिया अगाडि छ भने चाइनाले पनि यसको सुरुआत गरिसकेको छ तर नेपाल भने धेरै पछाडि छ । नेपालले पनि यस्ता शृङ्गारिक सामानहरूको उत्पादन तथा विक्री वितरण गर्न सके आफैमा स्वतन्त्र र समृद्ध राष्ट्र बन्न सक्छ ।
नोट:
अमेरिकामा आज बिहीबार, हस्ता र तृतीया तिथिको संयोजन । सबैलाई हरितालिका तीज व्रतको शुभकामना Happy Teej 2024.
हिजो सेप्टेम्बर ४ तारिख बुधवार
सेप्टेम्बर ५ तारिख हरितालिका तीज व्रत
सेप्टेम्बर ६ तारिख गणेश चतुर्थी व्रत
सेप्टेम्बर ७ तारिख ऋषिपन्चमी व्रत