हेम्जा वेलफेयर सोसाइटीको तेश्रो अधिवेशन अमेरिकामा, ध्रुवराज पौडेल अध्यक्षमा सर्वसम्मत
न्यु योर्क/ अमेरिकाको न्यु योर्कमा सम्पन्न हेम्जा वेलफेयर सोसाइटीको तेश्रो अधिवेशनले ध्रुवराज पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।
पौडेल यस अगाडि संस्थाको महासचिव थिए। लगभग एक दशक अगाडि अमेरिका आएका पौडेल हेम्जाको बास्कोट चोकका स्थायी बासिन्दा हुन्। उनी नेपालमा हुँदा सामाजिक संघ संस्था र राजनीतिक गतिविधिमा सक्रिय थिए।
अधिवेशनले उपाध्यक्षमा पदम दाहाल, महिला उपाध्यक्षमा लक्ष्मी थापा, महासचिवमा विश्व तिमिल्सिना, सचिवमा वीर बहादुर कुँवर, कोषाध्यक्षमा लाल बहादुर जिसी, र सदस्यहरूमा गमबहादुर नेपाली, विदुर सापकोटा, पदम कुँवर, सुमन बास्तोला, र सिता तिमिल्सिनालाई निर्विरोध चयन गरेको छ।
अधिवेशनमा संस्थाका संरक्षक विश्व बास्तोलाले हेम्जालीहरु र हेम्जाबासीहरुको सुख-दुःखमा साथ दिने उद्देश्यले स्थापना गरिएको संस्था भएको र यसले विभिन्न सामाजिक कार्य गर्दै आएको चर्चा गरे।
नव-निर्वाचित अध्यक्ष ध्रुवराज पौडेलले आफ्नो कार्यकालमा संस्थालाई अमेरिकामा सक्रिय सामाजिक संस्था बनाउने, हेम्जालीहरुको तथ्याङ्क सङ्कलन गर्ने, र संसारभर रहेका हेम्जालीहरुको विश्व सम्मेलन न्यु योर्कमा गर्ने योजना रहेको बताए।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नीरज सापकोटा, कार्यक्रम संयोजक नवीन अधिकारी, समाजसेवी मोहन क्षेत्री, एनआरएनका क्षेत्रीय संयोजक आंगछिरिंग शेर्पा, स्याङ्जा समाजका अध्यक्ष दिनेश भण्डारी, बाग्लुङ्ग समाजका अध्यक्ष सकष जिसी, पोखरा समाजका अध्यक्ष किशोर रेग्मी, रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, र बलेवा समाजका अध्यक्ष कुमार क्षेत्री लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले शुभकामना दिएका थिए।
हेम्जालीहरुको एकता, भ्रातृत्व, र आफ्नो गृह क्षेत्रमा विभिन्न सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको सोसाइटीमा अमेरिकाको विभिन्न राज्य बसोबास गर्ने हेम्जालीहरु आबद्ध छन्। अमेरिकाका विभिन्न राज्यमा ६ सय भन्दा बढी हेम्जालीहरु बसोबास गर्ने अनुमान गरिएको छ।
हेम्जा वेलफेयर सोसाइटीले अमेरिकामा र नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ, जसमा हेम्जाका असहाय र विपन्न व्यक्तिहरूलाई सहयोग पुर्याउने साथै हेम्जाको विकास, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा योगदान दिने कार्यहरू समावेश छन्।
संस्थाले अमेरिकामा ज्यान गुमाएका दुई व्यक्तिहरूको शव नेपाल पठाउन महत्त्वपूर्ण सहयोग गरेको छ।