अमेरिकी राष्ट्रपति निर्वाचन: के अमेरिका महिला राष्ट्रपतिका लागि तयार छ?
तारा भट्टराई, न्यु योर्क/
आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले आफ्नो बुढेउलीका कारण घट्दो लोकप्रियता र खराब स्वास्थ्यका कारण आफू चुनावी मैदान परित्याग गरी उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारमा ईन्डोर्स गरे सँगसँगै अमेरिकी राजनीतिले नयाँ मोड लिएको छ। वर्तमान उप राष्ट्रपति कमला ह्यारिसले राष्ट्रपतीय चुनावी मैदानमा भाग लिने घोषणा गरिसकेपछि चुनावी रौनक रोचक ढंगले तातेको अवस्था छ।
यसरी राष्ट्रपति पदका लागि दावेदारी प्रस्तुत गर्ने उनी दोस्रो महिला हुन् र अमेरिकी इतिहासकै प्रथम पहिलो अश्वेत र ‘एसियन-अमेरिकन’ मूलकी उपराष्ट्रपति हुन्। यो भन्दा अगाडी सन् २०१६ मा हिलरी क्लिन्टन ४५ औँ राष्ट्रपतिका लागि उम्मेदवार भए पनि डोनाल्ड ट्रम्पसँग पराजित भइन्। विदेश मन्त्री समेत भइसकेकी प्रथम महिला क्लिन्टन अमेरिकी राजनीतिमा एक शक्तिशाली महिला पनि हुन्। अमेरिकाका विभिन्न स्वतन्त्र अनुसन्धानले पनि उनी महिला भएकै कारण पराजित हुनुपरेको र मतदाताले नचाहँदा नचाहँदै पनि पुरुष प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई जिताएको रिपोर्टहरू सार्वजनिक भएका थिए।
के अब यस पटकको निर्वाचनमा अमेरिकी जनताहरूले महिला राष्ट्रपति चुन्छन् होला त? के राष्ट्रपति जस्तो उच्च स्थानमा महिला आसीन भएको अमेरिकीहरूले हेर्न रुचाउलान् त?
अमेरिका महिला राष्ट्रपतिका लागि तयार छ कि छैन भन्ने प्रश्न अझै जटिल नै छ । तर पनि महिलाका लागी एउटा नयाँ सम्भावनाको ढोका खुले सँगसँगै मानिसहरूले विभिन्न कोणहरूबाट विश्लेषण पनि गरिरहेका छन्। अमेरिकामा बहुसङ्ख्यक महिलाहरू उच्च राजनीतिक र प्रशासनिक पदहरूमा सफलतापूर्वक काम गरिसकेका छन्, जस्तै सरकारी कार्यालयहरू, कांग्रेस, सिनेट, र राज्यपालको रूपमा। तथापि, अमेरिकी समाजमा अझै पनि लैङ्गिक असमानता र महिलालाई पूर्वाग्रही ढंगले नै हेर्ने गरिन्छ। जसले ह्यारिसलाई चुनावमा कठिन बनाउन सक्छ।
तर राम्रो पक्ष के छ भने, यस पटकको चुनावी प्रक्रिया, माहौल र मिडिया कभरेज अनि मतदाताहरूको मानसिकतामा निक्कै सुधार हुँदै गएको अवस्था छ। चुनावमा विजयी नै नभए पनि हिलारी क्लिन्टनको २०१६ को मत परिणामले पनि के देखायो भने , अमेरिकामा अब महिला उम्मेदवारलाई पनि ठुलो जनसमर्थन छ। कमला ह्यारिसलाई उपराष्ट्रपति जस्तो गरिमामय पदमा जिताउनु पनि एउटा लैङ्गिक समानता र महिला नेतृत्वको स्वीकार्यताको बलियो उदाहरण हो।
त्यसैले अब अमेरिका महिला राष्ट्रपतिका लागि सम्भवतः अब तयार हुँदै छ भन्ने आँकलन पनि गर्न थालिएको छ।
हुन त घरजग्गा व्यापारको पृष्ठभूमिका डोनाल्ड ट्रम्प दर्जन भन्दा बढी महिलाहरूलाई उत्पीडन गरेको लगायतका गम्भीर अपराधको मुद्दामा अदालतद्वारा दोषी ठहरिएका र थुप्रै खाले मुद्दाहरू खेपिरहेका व्यक्ति हुन्।
कमला क्यालिफोर्निया राज्यकी पूर्वन्यायाधिवक्ता र सान् फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नीको जिम्मेवारीसमेत सम्हालिसकेकी हुन्। सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व पनि गर्दै आएकी हुन्।
हँसिलो रसिलो र सरल स्वभावकी उनी मुद्दाहरूमा बहस गर्न त धेरै नै सक्षम छिन् नै भाषण गर्ने र अरूलाई मन्त्रमुग्ध गर्ने कलामा पनि निपुण छिन। उनले आफ्नो चुनावी अभियानको केही दिन मै ट्रम्प अदालतले दोषी ठहराएका अपराधी भएको अनि दर्जनौँ मुद्दा खेपेको कुरा जोडतोडले उठाएर राम्रो प्रभाव छोड्न सफल पनि भैसकेको विभिन्न मत सर्वेक्षणहरूले देखाई रहेका छन् । पहिलो हप्तामा नै उनी सशक्त उम्मेदवार रहेको राजनैतिक विश्लेषकहरूले बताइरहेका छन्। उता ट्रम्पले भने एउटा भाषणमा नै ४५ पटक ह्यारिसको नाम लिएर गाली गरेका छन्।
तर पनि अमेरिकामा महिलाका लागी राष्ट्रपतीय स्तरको लडाइँ भने सहज पटक्कै छैन।
अमेरिकामा महिलाले मतदान गरेको एक सय चार वर्ष पुग्यो। यद्यपि, मतदान अधिकार प्राप्तिका लागि पनि अमेरिकी महिलाको लडाइँ सहज र छोटो थिएन। यो अधिकार पाउन समेत अमेरिकी महिलालाई एक सय ४४ वर्ष लागेको थियो।
अगस्ट १८, १९२० मा अमेरिकी संविधानमा भएको १९औँ संशोधनपछि महिलाको मताधिकार सुनिश्चित भएको थियो। तर, मतदान अधिकार पाएको एक सय चार वर्षसम्म पनि कुनै अमेरिकी महिलाले राष्ट्रपति बन्ने मौका भने पाएका छैनन्। यहाँका मतदाताहरू एउटी महिला, अश्वेत, एसियन आप्रवासीको सन्तानलाई भोट हाल्न तैयार छन् कि छैनन् त? त्यो हेर्न बाँकी नै छ।
सायद पुराना डेमोक्र्याटिक नेतालाई समेत निक्कै अप्ठ्यारो विषय पनि हुन सक्ला। तर प्रगतिशील भनेर चिनिने डेमोक्र्याटिक पार्टी महिला, अल्पसंख्यक, उत्पीडितको अधिकार र उत्थानकालागी लड्ने बताउँदै आएकाले गर्दा ह्यारिसका विरुद्ध केही बोल्न वा वक्तव्य जारी गर्न भने सकिरहेका छैनन्। उनी हालसम्म क्लीन व्यक्तिका रूपमा नै चिनिएकी छिन।
उता डोनाल्ड ट्रम्पले उपराष्ट्रपति पदका लागी रिपब्लिकन पार्टीबाट छनौट गरेका उम्मेदवार जेडी भान्सले ह्यारिसका केही कमी कमजोरी नभेटेपछि बच्चा वा सन्तान नभएकी कमला ह्यारिस राष्ट्रपति हुन सक्दिनन् भन्ने आरोप समेत लगाएका थिए। बच्चा पाउने वा नपाउने स्वतन्त्रता महिलाको निजी हो। ट्रम्प र जेडीले अमेरिकामा महिलाको गर्भपतन अधिकारमा प्रतिबन्ध लगाउने, स्वास्थ्य बिमा लगायत पचास हजार सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षामा समेत ठुलो कटौती गर्ने र प्रजातन्त्रलाई कमजोर पार्ने खतरनाक एजेन्डाहरू तयार पारेको विज्ञहरूले बताउँदै पनि आएका छन्।
हुन पनि महिलाको आफ्नो प्रजनन अधिकारको स्वतन्त्रता माथि समेत प्रहार गर्ने रिपब्लिकन पार्टीले महिला अधिकारका बहस गर्नु वा महिलाहरूले पनि केही पाइएला भनेर अपेक्षा गरेर भोट हाल्नु पनि बेकारको कुरा हो।
उता ह्यारिसको डेमोक्रयाटिक पार्टीका नेता कार्यकर्ता, समर्थक र मतदाता उत्साही रूपमा चुनाव प्रचारप्रसार अभियानमा खट्न थालेका छन् भने दाताहरूले पनि मनग्यै आर्थिक सहयोग गरेको घोषणा समेत गरिसकेका पनि छन्। उनले राष्ट्रपतिको चुनावी मैदानमा भाग लिने घोषणा सँगसँगै चौबिस घण्टामा ८१ मिलियन डलर चन्दा सङ्कलन भएको थियो। अर्को कुरा ह्यारिस प्रजनन अधिकार, महिला अधिकार लगायतका सामाजिक मुद्दाहरूको क्षेत्रमा लामो समयदेखि लागि परिरहेकी नेतृ पनि हुन्।
अमेरिकीहरू बुढो , अशक्त वा अदालतले दोषी प्रमाणित गरेकै भए पनि उच्च पदमा पुरुष र श्वेत नै आसीन भएको हेर्न चाहन्छन्। यति हुँदाहुँदै पनि पनि यो हप्ताका विभिन्न तथ्याङ्कले धेरै मानिसहरूले ट्रम्प र ह्यारिसलाई समान रूपले राष्ट्रपतिका लागी योग्य ठान्छन्। अहिले ५४ प्रतिशत जनसङ्ख्या महिला राष्ट्रपतिका लागि तयार रहेको बताए पनि ३० प्रतिशतले आफूहरू मान्न तयार नरहेको बताएका छन्।
समग्रमा, अमेरिका महिला राष्ट्रपतिका लागि तयार हुँदै छ, कमला ह्यारिसले अझै पनि केही चुनौतीहरू र पूर्वाग्रहहरूलाई सम्बोधन गर्न सकिन भने अबको राष्ट्रपति पद उनैलाई पक्का हुने छ।
आप्रवासीहरूको देश भनेर चिनिने अमेरिकामा म जस्ता आप्रवासीका लागि ह्यारिस नै राष्ट्रपतिका लागी आइडियल पात्र पनि हुन् ।