अमेरिकी भिसा प्रकरणले विवादमा उपसभामुख राना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट समानुपातिक सांसद निर्वाचित भएपछि २०७९ पुस १० गतेको तत्कालिन सत्ता गठवन्धन हुँदा उपसभामुख भएकी इन्दिरा राना फेरि एक पटक अर्को विवादमा तानिएकी छिन् । बालगृहबाट बालबालिका धर्मपुत्र बनाउन बेचेको आरोप लाग्दा गुपचुप बनाएकी रानाको अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी हुन् । यसअघि पनि उनी विवादास्पद अभिव्यक्ति दिएर विवादमा पर्दै आएकी थिइन् ।
उनले काठमाडौंस्थित अमेरिकी राजदूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उनीमाथि चर्को दबाब परेको छ ।
उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।
रानाले दूताबासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन् ।
उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकोले प्रश्न उठेको हो । उपसभामुख समेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भए पनि उनले सिफारिस गरेका व्यक्तिहरु संसद र संसद सचिवालयसँग सम्बन्धित नै छैनन् ।
यो विषय त्यति बेला नै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि उठेको बताइएको छ । सिफारिस गरिएका व्यक्तिले उजुरी गरेको आधारमा पार्टीको उच्च तहमै छलफल भएको र यो विषयलाई आन्तरिक रुपमा नै सामसुम पारिएको थियो ।
सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिदै यो गम्भीर विषय भएको बताएका छन् ।