युएस राष्ट्रिय करातेको नतिजाले डिस्काका पदाधिकारी उत्साहित
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो (डिस्का) का पदाधिकारीले युएस राष्ट्रिय करातेमा प्राप्त पदकले आफूहरू उत्साहित भएको बताएका छन्।
युएस राष्ट्रिय करातेमा डिस्काले चार स्वर्ण सहित १७ पदक जितेको थियो।
डिस्का अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायले स्थापना गरेको कराते खेल सँग सम्वधित संस्था हो।
युएसए राष्ट्रिय कराते महासङ्घद्वारा आयोजित राष्ट्रिय कराते च्याम्पियनसिप जुलाई ११ देखि १४ सम्म लुइसियानाको लाफायतमा भएको थियो।
‘हामीले ऐतिहासिक सफलता हात पार्यौ’ डिस्काका कोषाध्यक्ष टेक नाथ नेपालले समाज टाइम्स सँग भने। ‘१९ खेलाडीले भाग लिएकोमा ११ जनाले १७ वटा पदक जिते त्यसमा चार वटा स्वर्ण रह्यो।’
‘जे भइरहेको छ राम्रो भइरहेको छ। हामी खुसी छौ। लक्ष्य अनुसार नै अगाडि बढेका छौ।’ कोषाध्यक्ष नेपालले समाज टाइम्स सँग भने ‘एक सय ४४ क्लबले भाग लिएको ठाउँमा हामी २२ औ स्थानमा छौ।’
कोषाध्यक्ष नेपालका अनुसार डिस्का अन्तर्गत कार्लिस डोजोका खेलाडीले सबै भन्दा बढी पदक जितेका छन्। ‘कार्लिसबाट १३ जना मध्ये सात जनाले ११ पदक जिते त्यसमा तीन स्वर्ण छ।’
कार्लिसका सुलोप घले,अस्बिन सुब्बा र केल्सी गुरुङले स्वर्ण सहित दुई दुई पदक जितेका छन्। घलेले कातामा स्वर्ण र कुमितेमा रजत पदक जितेका हुन्। यस्तै सुब्बा काटाले कुमितेमा स्वर्ण र कातामा रजत जितेका हुन्।
केल्सी गुरुङले कातामा स्वर्ण र कुमितेमा रजत जिते।
यस्तै रायन मोहराले पनि दुई पदक जिते। उनले कातामा रजत र कुमितेमा कांस्य जिते। केजाङ गुरुङले कातामा रजत,करिश्मा लुइँटेलले कातामा कांस्य र इमानुएल राई कातामा कांस्य जिते।
राष्ट्रिय च्याम्पियनसिपमा डोजो होम्बुका दुई खेलाडीले पदक जितेका छन्। रोजा तामाङले कातामा कांस्य र अञ्जलिका बजगाईँले कुमितेमा कांस्य पदक जिते।
डोजो पिट्सबर्गका रिया विष्ट कातामा स्वर्ण जितिन्। उनले कुमिते कांस्यमा जितिन्। यस्तै डोजो भर्मन्टका एन्जल गुरुङ कातामा रजत पाए।
कोषाध्यक्ष नेपालले खेलाडीको प्रदर्शनबाट आफूहरू खुसी रहेको र लक्ष्य अनुसार नै सबै कुरा अगाडि बढेको बताए।
‘हामीले क्याम्पमा रहँदा सन् १९९२ मा डिस्का स्थापना गरेका हौ, तेस्रो मुलुक पुनर्वास पछि, २०१६ मा अमेरिकामा डिस्कालाई पूनर्जिवित गरायौ हाम्रो उद्देश्य हाम्रो समुदायका खेलाडीलाई अन्तर्राष्ट्रिय एरिनामा उतार्नु हो।’ उनले भने।
‘२०१७ देखि अमेरिकामा राष्ट्रिय प्रतियोगिता खेल्न थालेका हौ, त्यसको दुई वर्ष देखि पदक जित्न थालियो।’ कोषाध्यक्ष नेपालले भने,’
हाम्रो लक्ष्य तत्कालका लागि पान अमेरिका हो, दीर्घकालीनका लागि विश्व च्याम्पियनसिप नै हो, अब एलियटमा पनि जितेर अन्तर्राष्ट्रिय प्रतियोगयतामा जाने हो।’