ओली आइतबार प्रधानमन्त्री बन्ने सोमबार सपथ लिने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतवार प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् भने उनकाे सपथ ग्रहण सोमबार मात्रै हुने भएको छ ।
नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आइतबार साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण सोमबारलाई तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ओलीको नियुक्ति आइतबार साँझ हुने र शपथ ग्रहण सोमबार बिहान ११ बजे हुनेछ ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरूको हस्ताक्षरसहित शुक्रबार राति अबेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर दाबी पेश गरेका थिए ।
ओलीले प्रधानमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथग्रहण गर्नेगरीको तयारी छ । केही साना दलका लागि समेत मन्त्रालय बाँकी राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति बनेको छ ।