न्यु योर्कमा सात वटा नेपाली संस्थाको संयुक्त रक्तदान
लङ लाइल्याण्ड, न्यु योर्क/ विभिन्न सात वटा नेपाली संस्था र न्यु योर्क ब्लड सेन्टरले संयुक्त रूपमा अमेरिकाको न्यु योर्कमा रक्तदान कार्यक्रम गरेका छन्।
न्यु योर्कको लङ आइल्याण्ड स्थित हिक्सभिलमा गत आइतबार रक्तदान गरिएको हो। २५८ ब्रोडवे, हिक्सभिलमा रहेको द ब्रोडवे मलमा बिहान ११ देखि ५ बजे सम्म रक्तदान गरिएको थियो।
रक्त अभियान, नासाउ सेन्ट्रल नेपाली लायन्स क्लब एनवाई, टिका भक्त फाउन्डेसन यूएसए आईएनसी, आरके फाउन्डेसन यूएसए, पीएआर फाउन्डेसन यूएसए, बीटी फाउन्डेसनको हेम्जा वेलफेयर सोसाइटी यूएसए, र एमबी फाउन्डेसन युएसए, संयुक्त प्रयासमा आयोजना भएको हो।
न्यु योर्क ब्लड सेन्टरका लेखा प्रबन्धक शेरोन कार्प स्लिभाले कार्यक्रमको प्रशंसा गरिन। ‘यी संस्थाहरूले हरेक वर्ष रक्त दान अभियानको आयोजना गर्दछन्, र मलाई यी सस्थाहरु सग काम गर्न रमाइलो लाग्छ किनभने तिनीहरू समर्पित र मेहनती छन्, कार्यक्रमको सफलता सुनिश्चित गर्छन।’ उनले भनिन्।
कार्यक्रममा लङ आइल्याण्डका नेपाली अमेरिकन समुदायका सामाजिक अभियन्ता बाबुराम शर्मा, विश्व बास्तोला, शंकर भण्डारी, महेश खड्कालगायतले रक्तदाताहरूप्रति कृतज्ञता व्यक्त गरे । उनीहरुले रक्तसञ्चारलाई सुचारु रूपमा सञ्चालन गर्न स्वयम्सेवा गर्ने रुपा भण्डारी र विकास खरेलको प्रयासको पनि प्रशंसा गरे ।
एक सय भन्दा बढी व्यक्ति रक्तदान गर्न इच्छुक भएको तर ५३ जनाले सफलतापूर्वक रक्तदान गरेको आयोजकको भनाइ छ।