अमेरिकाको न्यासभाइलमा उमेश दाहालको हत्या, विशाल राई पक्राउ
पेन्सिल्भेनिया । नेपाली भाषी उमेश दाहालको अमेरिकाको एक कन्सर्टमा हत्या भएको छ ।
अमेरिकी राज्य टेनेसीको राजधानी न्यासभाइलमा ४१ वर्षिय उमेशको शनिबार राति नेपाली भाषी विशाल राईसँग झगडा परेको थियो । कन्सर्ट चलिरहेका बेला दुईबीच झगडा हुँदा राईले दाहाललाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए ।
त्यसपछि अस्पतालमा उपचारका क्रममा दाहालको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको अभियोगमा राई अमेरिकन प्रहरी हिरासतमा रहेका छन् ।
डेली मेलका अनुसार झगडामा जोडिएकाहरुलाई मिलाउन खोज्दा दाहाललाई कुटपिट गरेर कंक्रिटको भुईंमा पछारेर टाउकोमा लात्ताले हानेका थिए । मृतक दाहालका दुई छोरी र श्रीमती छन् ।
दाहाल टेनेसीको न्यासभिलमा नेपाली समुदायका अन्य सदस्यहरूसँग कन्सर्ट हेर्न पुगेका थिए । पार्किङ नजिकै विवाद हुँदा सो घटना भएको हो ।
घटना हुँदा दर्जनौं मानिसहरू पार्किङस्थल बाहिर आएका थिए । उनीहरूका बीचको विवादलाई छुट्टाउने प्रयास पनि भएको थियो ।
दाहालको टाउकोमा लात हानेर हत्या गर्ने राईलाई सोमबार राति न्यासभिलको एन्टिओकस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको छ ।