टेक्सासको पसलमा लुटपाट एक जनाको मृत्यु
पेन्सिल्भेनिया । अमेरिकाको टेक्सासको एक पसलमा लुटपाटका क्रममा एक जनाको मृत्यु भएको छ । घटना जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवसको दिन ड्यालासको प्लेजन्ट ग्रोभमा रहेको एउटा ग्यास स्टेशन कन्भिनियन्स स्टोरमा भएको हो ।
लुटपाटका क्रममा गोली लागेर ३२ वर्षिय एक जना भारतीयको मृत्यु भएको जनाइएको छ । मृतकको भारत आन्ध्र प्रदेशबाट ८ महिना अगाडि मात्रै अमेरिका पुगेका थिए । उनको नाम दसरी गोपीकृष्ण रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लुटपाटका क्रममा गोपीकृष्ण गम्भीर घाइते भएका थिए । उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । गोपीकृष्ण आफ्नी श्रीमती र छोरासँग बस्थे ।
वाणिज्य दूतावासले भारतीय संघसंस्थासँगको सहकार्यमा पोस्टमार्टम र मृत्यु प्रमाणपत्रलगायत स्थानीय औपचारिकतापछि शवलाई भारत फर्काउन सम्भव भएसम्म सहयोग गरिरहेको जनाइएको छ । टेक्सासको यो घटनाले डलासमा बसोबास गर्ने नागरिकहरु त्रसित भएका छन् ।